गोर्खाली ठगिँदा बेलायती रक्षामन्त्री आक्रोशित

(2 Votes)
नवीन पोखरेल

१३

फाइल तस्वीर ।

लन्डन, फाल्गुन २९ - आवासीय अधिकार पाएपछि यूके बसाइँ सर्ने तयारी गरिरहेका भूपू गोर्खाहरूसँग नेपालमा केही संस्थाले मनोमानी रकम असुलेको मुद्दा अहिले बेलायतमा खुब चर्केको छ । मुद्दा छानबिन गर्न बेलायत सरकारले न्यायमन्त्री लर्ड बाचको अध्यक्षतामा एउटा आयोग नै गठन गरेको छ ।

यहाँको प्रतिष्ठित अखबार डेली मेलले आफ्नो अनुसन्धानपछि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र बेलायतको नामी सोलिसिटर र्फम ह्वो एन्ड को.ले नेपालमा भेट्रानहरूबाट जनही ५०० पाउन्डका दरले रकम उठाइरहेको तथ्य पहिलोपटक छापेको थियो । त्यसपछि टाइम्स्, टेलिग्राफ लगायतले यो मुद्दा चर्काएपछि सरकार आयोग गठनको निष्कर्षमा पुगेको हो ।

रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालमा गोर्खा भेट्रानहरूलाई निःशुल्क परामर्श व्यवस्था हुँदाहुँदै पनि मनोमानी ढंगले रकम उठाइएकामा बेलायती रक्षामन्त्री आक्रोशित छन् । रक्षामन्त्री केभिन जोन्सले छानबिन हुने बताइरहँदा सांसदहरूमाझ वरिष्ठ अभिनेत्री जोआना लुम्लेप्रति कटाक्ष गर्दै यस मुद्दामा उनलाई मुख खोल्न भनेका छन् । 'गोर्खाहरू अनाहकमा ठगिइरहेका बेला पनि लुम्ले चुप लागेको देख्दा मलाई रिस उठेको छ,' रक्षामन्त्री जोन्सले भने, 'वास्तवमा यूके आउन उनीहरूले त्यो रकम तिर्नुपर्ने ज्यादै विडम्बना हो ।' उनले भूपू गोर्खाहरूलाई यूके आएपछि विभिन्न कल्याणकारी सुविधासहित घर पाइने जस्ता आश्वासन र अन्य गलत सल्लाह दिएकोबारे पनि होम अफेयर्स सेलेक्ट कमिटीलाई अवगत गराएका छन् । होम अफेयर्स सेलेक्ट कमिटीका अध्यक्ष एवं लेवोरका तर्फबाट पूर्वमन्त्री किथ भाजले यो मुद्दा सुनेर आफू अचम्मित भएको बताए ।

स्मरण रहोस्, लुम्लेको गत वर्ष 'गोर्खा न्याय अभियान' ले सरकार आफ्नो नीतिमा 'यु टर्न' गर्न बाध्य भएको थियो । त्यसपछि लुम्लेले नेपालमा गोर्खाहरूबाट ठूलो सम्मान समेत पाइन् ।

गेसो केन्द्रीय कोषाध्यक्ष जीतबहादुर राईले यूकेमा कान्तिपुरसँग प्रतिक्रिया दिँदै रकम लिइएको स्विकारे । 'हो, हामीले संस्था सञ्चालनका लागि सक्ने हैसियतकासँग मात्र रकम लिएका हौं, तर दुःखीलाई सहयोग पनि दिएका छौं,' राईले भने । उनले हालसम्म उठाइएको रकम कति छ त्यो यकिन गर्न भने नसक्ने बताए । ह्वो एन्ड को. का एकजना पार्टनर किइरन ओरोर्कीले आफ्नो र्फमले पैसा नलिएको बताए । 'हामीले निःशुल्क सल्लाह दिइरहेका छौं । हामीलाई कसैसँग हात फैलाउन जरुरी छैन,' उनको दाबी छ । ह्वो एन्ड को. विगत ९ महिनादेखि कानुनी परामर्शका लागि भन्दै काठमाडौं र पोखरामा गेसो अफिसमै छ ।   

संयुक्त बि्रटिस गोर्खा भूतपूर्व सैनिक संघका प्रवक्ता ज्ञानराज राईले गोर्खाहरू ठगिनु कुनै पनि हालतमा सह्य नहुने बताए । 'भ्रष्टाचारमात्र होइन, यूकेले अब हामीमाथि भइरहेको भेदभाव पनि छानबिन गर्नुपर्छ,' उनको माग छ । अर्को गोर्खा संस्था बि्रटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) अध्यक्ष टिकेन्द्रदल देवानले यो अवस्था आउन सक्नेतर्फ गत वर्ष नै अभिनेत्री जोआना र होम अफेयर्स कमिटीलाई सचेत गराएको बताए । 'आवेदन र्फम भरिदिने बहानामा बिचरा वृद्धवृद्धालाई ठग्नु हुन्थेन,' देवानको भनाइ छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २९ १०:१४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।