'जेठ १४ भित्र संविधान नबने डरलाग्दो अवस्था'
सरकार सहमतिको बाधक होइन, बाधक त दलहरु हुन् त्यसमा पनि माओवादी प्रमुख हो, उसले सवैकुरामा सरकारलाई अवरोध गरेको छ,' थापाको भनाइ थियो ।
सहयोगी लिङ्कहरू
काठमाडौं, फाल्गुन २९ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जेठ १४ भित्र संविधान नबने डरलाग्दो अवस्था आउने बताएका छन् । उनले संविधान बन्न नसके आउने शुन्यतातर्फ सचेत रहन दलहरुलाई आग्रह गरे ।
'जेठ १४ सम्ममा पनि संविधान बन्न नसके ठूलो राजनीतिक 'भ्याकुम' हुन्छ,' ८३ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार आफैले आयोजना गरेको चियापानमा थापाले भने, 'त्यसबेला चालिने परिस्थितिजन्य कदमले डरलाग्दो अवस्था आउन सक्छ ।'
पूर्व प्रधानमन्त्री थापाले संविधान नबन्दा संकट आउने भएकाले सहमतिमा संविधान निर्माणका लागि सवै दल एकजुट हुनुपर्नेमा जोड दिए । 'संविधान बनाउनका लागि पनि दलहरु सहमतिमा पुग्नुपर्छ भन्छु,' उनले भने, 'तर सहमति नै गर्नुपर्छ चाँहि म भन्दिन ।'
संविधानसभाको सवैभन्दा ठूलो दल माओवादी संविधान बनाउन भन्दा पनि सरकारका लागि लडिरहेकोमा थापाको बिमत्ति थियो । 'अहिलेको प्राथमिकता त संविधान बनाउन हो,' उनले भने, 'तर माओवादी 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेझैं सरकार र सत्तालाई केन्द्रमा राखेर काम गरिरहेको छ, यो लाजमर्दो कुरा हो ।' थापाले सहमतिको बाधक माओवादी नै भएको आरोप लगाए । 'सरकार सहमतिको बाधक होइन, बाधक त दलहरु हुन् त्यसमा पनि माओवादी प्रमुख हो, उसले सवैकुरामा सरकारलाई अवरोध गरेको छ,' उनको भनाइ थियो ।
समयमै पूर्ण संविधान बनाउन नसके संक्षिप्त संविधान जारी गर्न सकिने सम्भावनाप्रति थापाले पनि सहमति जनाए । 'संक्षिप्त संविधान जारी गर्ने सम्भावनालाई पनि 'रुल आउट' गर्न सकिंदैन,' उनले भने, 'जनताका लागि केही न केही विकल्प त दिनै पर्यो नि ।' थापाले संविधान बन्न नसके जनतामा निराशा आउने बताए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०५:५०
















तपाईंको प्रतिकृया