भाग्यमानी मनाङ अगाडि
काठमाडौ, फाल्गुन २९ - खेलकुदमा भाग्यले बहादुरलाई मात्र पछ्याउने गर्छ । यस्तै रह्यो मनाङ-मस्र्याङ्दीले सहिद स्मारक लिग 'ए' डिभिजनमा अहिलेसम्म तय गरेको यात्रा । फेरि एकपल्ट झीनो अन्तरले आरसीटीलाई हराएर शुक्रबार मनाङ शीर्ष स्थानमा उक्लेको छ । उसको १६ अंक भएको छ । पुलिस १४ अंकमा दोस्राे स्थानमा छ ।
प्रभावशाली सुरुआत लिएको आरसीटी भने मनाङको ठीक उल्टो फेरि अभाग्यशाली रह्यो । आरसीटीको पाँच अंकमात्र छ र अविश्वसनीय रूपमा उसमाथि रेलिगेसनको डर देखिन थालेको छ । अर्को खेलमा एपीएफले संकटालाई हरायो । यसले एपीएफलाई राहत भएको छ भने संकटा गहिरो संकटमा देखियो ।
एपीएफको सात अंक भएको छ । संकटा तीन अंकमै सीमित रह्यो । संकटा प्रशिक्षक चेतनारायण श्रेष्ठ रेलिगेसन डर मान्न तयार भएनन् । उनले भने, 'अन्तिम स्थितिसम्म रेलिगेसनको सम्भावनालाई मान्ने छैनौं । धेरै खेल अझै बाँकी छन् र हाम्रो संघर्ष जारी रहनेछ,' चेतनारायणले भने ।
अर्कोतर्फ एपीएफ प्रशिक्षक महेश्वर मुल्मीले दोस्रो जितले ठूलो राहत दिएको बताए । 'बल्ल केही ढुक्क हुने स्थिति आएको छ,' उनको भनाइ थियो । एपीएफलाई जिताउन गणेश लावतीले २८ औं मिनेटमा गोल गरे । लगत्तै दुई मिनेटपछि टंक लामाले दोस्राे गोल थपे । मनाङको जितमा अमर पुनले ८१ औं मिनेटमा गोल गरे ।
'आज टिमको प्रदर्शन स्वाभाविक रह्यो, गोल धेरै नभएको मात्र हो,' मनाङ प्रशिक्षक छिरिङ लोप्साङले भने, 'लगातार जितमा हामी भाग्यमानी पनि रहेका छौं । आरसीटी प्रशिक्षक मधु कार्कीसँग अर्को हारको स्पष्ट ब्याख्या थिएन । उनले स्वीकारे, 'अब गार्हो हुन थालेको छ ।
एपीएफ २-० संकटा
मनाङ-मस्र्याङ्दी १-० आरसीटी
उत्कृष्टलाई एफजेड-एस
काठमाडौं- यसपल्टको लिगमा उत्कृष्ट चुनिने पाँचले आकर्षक एफजेड-एस मोटरसाइकल पाउने भएका छन् । यसअघिका लिग संस्करणमा उत्कृष्टलाई यामाहाको जी-फाइभ दिंदै आएकामा यसपल्ट १ सय ५३ सीसीको मोटरसाइकल दिन लागिएको हो । यसका लागि मोरङ अटो वक्र्स लिगको सहप्रायोजक रहनेछ ।
पाँच विधामध्ये उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले यो पुरस्कार पाउने छन् । शुक्रबार प्रायोजनको अनुबन्धमा मोरङ अटो वक्र्सका चिफ एक्जुकेटिभ विष्णुकुमार अग्रवाल र अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव धीरेन्द्र प्रधानले हस्ताक्षर गरे । पाँच मोटरसाइकलको कुल मूल्य ९ लाख ४९ हजार ५ सय रुपैंयाँ छ । यसमध्ये एन्फाले ३ लाख ७५ हजार रुपैयाँ बेहोर्नेछ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०९:२७

















तपाईंको प्रतिकृया