व्यापार घाटा ६० प्रतिशत बढ्यो

(0 Votes)

काठमाडौ, फाल्गुन २९ - व्यापार घाटामा भएको अत्यधिक वृद्धिले शोधनान्तर स्थितिमा थप चाप परेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार व्यापार घाटा ६० प्रतिशतले फराकिलो भएको छ भने शोधनान्तर घाटा १९ करोड बढेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको आर्थिक विवरणअनुसार व्यापार घाटा १ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । शोधनान्तर घाटा १९ अर्ब ७९ करोड पुगेको छ । यो घाटा कात्तिकमा भन्दा झन्डै ८० करोड कम भए पनि मंसिरभन्दा बढी हो ।

व्यापार घाटाभन्दा रमिट्यान्स आप्रवाह ४८ अर्ब रुपैयाँ कम छ । गत वर्षसम्म बढ्दो व्यापार घाटालाई पूर्ति गर्दै आइरहेको रेमिट्यान्सले यस वर्ष थेग्न नसकेपछि अर्थतन्त्र संकटमा परेको छ । पछिल्लो एक दशकमा रेमिट्यान्स निरन्तर उच्चदरले बढिरहेको थियो । यस वर्षको पुस महिनासम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स देश भित्रिएको छ । यो गत वर्षभन्दा १२ प्रतिशतको वृद्धि हो । गत वर्ष यो वृद्धिदर ६५ प्रतिशत थियो ।

यस अवधिमा १ खर्ब ८८ अर्ब बराबरको आयात भएको छ भने ३० अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । बढ्दो व्यापार र शोधनान्तर घाटाले वैदेशिक मुद्रा सञ्चितिलाई पनि घटाएको छ । समीक्षा अवधिमा सञ्चिति १४ प्रतिशतले घटेर २ खर्ब ४० अर्ब मा सीमित भएको छ । यसले ७ महिनाको वस्तु  र ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

बढ्दो मूल्य वृद्धिले पनि अर्थतन्त्रमा थप चाप पारेको छ । गत वर्ष नै १४ प्रतिशतको उच्च दरले बढेको बजार भाउ यस वर्ष थप १२ प्रतिशतले बढेको छ । थोक वस्तुहरूको बजार भाउ भने १६ प्रतिशतले बढेको छ । यसैगरी तरलताको अभाव पनि यस अवधिमा चुलिएको छ । गत वर्षको यसै अवधिमा २० अर्ब रुपैयाँ बजारबाट तानेको केन्द्रीय बैंकले यस वर्ष ३४ अर्ब रुपैयाँ प्रवाह गनर्ुपरेको छ ।

यता राजस्वको वृद्धिदर भने उच्च नै रहेको छ । पहिलो ६ महिनामा ७९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्षको भन्दा ३४ प्रतिशत बढी हो ।

यता सरकारी खर्च भने ८६ अर्ब रुपैयाँ भएको छ । यो ३१ प्रतिशतको वृद्धि हो । यसैगरी यस अवधिमा १५ अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ ।

प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०९:३४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।