मकैमा घोगा मात्र
दुई अर्ब नोक्सानी
निजगढ, फाल्गुन २९ - यतिबेला मकै बालीको स्याहारसुसार गर्नमा जुटनुपर्ने बाराका किसानलाई अहिले सडकमा आन्दोलन गर्दैमा फुर्सद छैन ।
एक सातादेखि आन्दोलनमा सहभागिता जुटाउन उनीहरू गाउँगाउँका किसान संगठित पार्दै घरआँगन चहार्न व्यस्त छन् । उनीहरू कहिले प्रशासन र कृषि कार्यालयमा धाइरहेका छन् । कहिले सडकमा मकैको बोटसहित प्रदर्शन गर्दै आएका छन् । उनीहरूले आफूले लगाएको मकैमा दाना नलागेकाले क्षतिपूर्ति पाउनुजर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएका हुन् । मकै बिग्रेपछि खेतीप्रति आकषिर्त भएका दर्जनौ गाउँका सयौं किसानको मनोबल उच्च हुनुको सट्टा घटेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष १ हजार ५ सय किसानले १४ हजार हेक्टर जमिनमा लगाएको मकैमा गेडा लागेको छैन ।
कृषिका प्राविधिक सहायक सुरेन्द्रप्रसाद कुर्मीका अनुसार मकै सप्रेको भए डेढ लाख टन मकै उत्पादन हुने थियो । प्रतिकठ्ठा साढे ३ देखि ४ क्विन्टलसम्म मकै उत्पादन हुने गर्छ ।
मकैको बजार भाउ प्रतिक्विन्टल १२ देखि १५ सय रुपैयाँ छ । दाना नलागेकाले पौने २ अर्बको हाराहारीमा नोक्सानी बेहोनर्ुपर्ने भएको उनले बताए । उनका अनुसार खेती गर्न किसानले मल, बीउ, ज्यालासमेत गरेर ६३ करोड खर्चेका थिए ।
भारत आन्ध्र प्रदेशमा अमेरिकी लगानीमा सञ्चालित बहुराष्ट्रिय हाइबि्रड 'पायोनियर' कम्पनीद्वारा उत्पादित मकैको बीउ रोपेका थिए । तर मकैमा खोया मात्र लागेकाले किसानको घरघरमा भावी गुजाराको चिन्ताले सताएको छ । यहाँ पाँच कठ्ठादेखि १० बिघासम्म पनि खेती गर्ने किसान छन् ।
'सबैको मुख्य स्रोत मकै सखाप भएपछि क्षतिपूर्तिको आशामा बसेका छन्,' प्रस्टोकाका किसान असर्फी साहले भने, 'बजार भाउ राम्रो भएकाले मकै खेती गर्यौं ।' ऋण काढेर खेती त गर्यौं तर खेती डुबेपछि खान लाउन, बाल बच्चा पढाउन त के औषधि उपचार गर्न पनि अब धौधौ पर्ने उनले सुनाए । जिल्लाको डुमरवाना, निजगढ, प्रस्टोका बन्जरियामा अधिक खेती गरिएको छ ।
बाली निरीक्षण गर्न कृषि विज्ञको टोलीले बिहीबारदेखि मकैमा दाना नलाग्नुको कारण पत्ता लगाउन जाँचबुझ सुरु गरेको छ । टोलीमा मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवन, माटो परीक्षण प्रयोगशाला हेटौंडा, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौं, बाली विकास निर्देशनालय हरिहर भवनका सम्बन्धित कृषिविज्ञहरू सहभागी छन् । 'जाँचबुझ गर्ने प्रक्रिया सुरु भएको छ,' बाली विकास अधिकृत चन्द्रदेव मण्डलले भने, 'मकैमा दाना नलाग्नुको कारण चाँडै खुल्नेछ ।'
यता भारतीय पायोनियर कम्पनीका वीरगन्ज स्थित 'कृषक बीज भण्डार डिलर' का मकैको बीउ बिक्रेता बंकाप्रसाद कल्वारले मौसम अनुकूल नभएपछि दाना नलागेको बताउँदै किसानको मर्का बुझेर क्षतिपूर्तिका लागि कम्पनीसँग पहल गरिरहेको बताए ।
यस वर्ष आफूले ती कम्पनीका विभिन्न जातका एक सय टन मकैको बीउ आयात गरेर नेपालमा बिक्री गरेको बताए ।
यसअघि किसानले समस्याबारे कार्यालयमा पटकपटक अवगत गराउँदा खासै ध्यान नदिएकाले आन्दोलन अगाडि बढाइएको अगुवा किसानले बताएका छन् । मुलुकमा हाइबि्रड बीउ अभाव भएकाले पायोनियरका ३० भी ९२ र ३० बी ०७ जातको भारतीय बीउ केजीको २ सय देखि ४ सयसम्म खरिद गरी किसानहरूले रोपेका छन् । आन्दोलनको नेतृत्व गर्न गठित संघर्ष समितिको संयोजक रसुल अन्सारीले यो समस्या चानचुने नभएकाले यसको सरकारले गम्भीर भएर सम्बोधन नगरे आन्दोलन अझ सशक्त बनाउने बताए ।
यसबाहेक मकैको बीउको गुणस्तर जाँच गर्दै खेतीको लागि असल बीउको ग्यारेन्टी, कृषक कार्डको व्यवस्था, सिँचाइसहित त्यसका लागि इन्धन, ऋण सुविधा, मकैको दर वृद्धि गनुपर्ने लगायत हाम्रा माग रहेको अन्सारीले बताए ।
'किसानको भविष्य चौपट हुने भएपछि आन्दोलन गर्नु स्वाभाविक हो,' प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले भने, 'किसानहरूले सरकारबाट तत्कालै क्षतिपूर्ति पाउनुपर्छ,' यसका लागि म आफैंले पनि पहल गरिहेको छु ।'
प्रकाशित मिति: २०६६ फाल्गुन २९ १०:०६

















तपाईंको प्रतिकृया