कोरिया फेरि कोसिस गर्ने कि !
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २९ - कोरिया जाने तपाईको यसअघि सपना पूरा भएको थिएन भने हरेस नखानुस् । फेरि एकपटक कोसिस गर्नुहोस् । यसपटक पक्कै जान सक्नुहुनेछ ।
रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाले आगामी वर्ष सबैभन्दा बढी कामदार नेपालबाट लैजाने भएकाले अवसर पाउने सम्भावना बढेको हो । उसले कुल कामदारमध्ये २० प्रतिशत कोटा नेपाली कामदारका लागि छुट्याएको छ ।
सन् २००८ देखि नेपालले कोरियामा कामदार पठाउन सुरु गरेको हो । यहाँका कामदारबाट सन्तुष्ट कोरियाले यस वर्ष सबैभन्दा बढी कोटा नेपाललाई छुट्याएको हो । कोरियाले यसअघि कामदार पठाइरहेको मुलुकका लागि कोटा घटाएर नेपालका लागि थप गरिदिएको हो ।
यस्तै उसले हाल इपिएसको रोस्टरमा रहेकाभन्दा बढी कामदार लैजाने उद्देश्यका साथ आउने असारमा भाषा परीक्षा लिने भएको छ । तर अहिले जान बाँकी रहेका कामदार गएपछि मात्र नयाँ कामदार कोरिया लैजाने पनि उसले स्पष्ट पारेको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम आचार्यका अनुसार असारको पहिलो साता कोरिया जान चाहनेबाट कोरियन भाषाको परीक्षा लिनेछ । परीक्षाको परिणाम असारको अन्तिम साता निकाल्ने योजना कोरियाको छ । 'परीक्षा पास भएपछि स्वास्थ्य परीक्षण लगायत विभिन्न प्रक्रिया पूरा गरी सूची तयार पारेर रोस्टरमा निकाल्ने काम हुन्छ,' उनले भने, 'रोस्टरमा नाम आएका नेपाली कामदार कोरिया जानका लागि योग्य हुनेछन् ।'
कोरियाले हाल रोस्टरमा भएर पनि जान नपाएका कामदार सबै गएपछि मात्र नयाँ लैजाने भएको छ । भाषा परीक्षा लिएर नयाँ रोस्टर प्रकाशित हुँदा अहिलेका कामदार प्रायः गइसक्ने सम्भावना रहेको मन्त्रालयका अधिकारीले बताए ।
मन्त्रालयका एक अधिकारीका अनुसार आगामी वर्ष सबैभन्दा बढी नेपाली कामदार कोरिया जानेछन् । आगामी वर्षका लागि कोरियाले २० हजार विदेशी कामदार लैजाने योजना बनाएको छ । 'त्यसमा ४ हजारभन्दा बढी नेपाली कामदार कोरिया जान पाउनेछन्,' ती अधिकारीले थपे ।
सुरुमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा कामदार पठाउन ६ हजार ५ सय ८६ जना नेपाली सूचीकृत भएका थिए । जसमा ३ हजार ७ सयभन्दा बढी कामदार कोरिया गइसकेका छन् । दुई वर्षअघि कामदार कोरिया पठाउन सुरु गरिएपछि व्यवसायी पनि नेपाली कामदारबाट सन्तृष्ट भएका छन् । अहिले कोरियाले इपिएस प्रणालीअन्तर्गत विभिन्न १५ मुलुकबाट कामदार लगिरहेको छ ।
परीक्षा कहाँ कहाँ सञ्चालन हुने भन्ने विषयको निर्णय भने हालसम्म भएको छैन । यसअघि पहिलोपटक राजधानीको १८ स्थानमा भाषा परीक्षा लिएपछि यस वर्ष राजधानी बाहिरका मुख्य सहरमा समेत परीक्षा लिनु आवश्यक भएको सरोकारवाला बताउँछन् । यसले परीक्षाका लागि काठमाडौं धाउनुपर्ने झन्जट नहुने उनीहरूको भनाइ छ ।
दुई महिनाअघि कोरिया र नेपालबीच थप दुई वर्षका लागि रोजगार अनुमति प्रणालीबाट नेपालीका कामदारलाई कोरिया पठाउने सम्झौताको नवीकरण भएको थियो । कोरियाले भाषा परीक्षा पास गरी रोस्टरमा रहेका व्यक्तिले भाषा उत्तीर्ण गरेको मान्यता थप एक वर्षका लागि दिने सम्झौता पनि भएको थियो ।
हाल कोरिया नेपाली कामदारका लागि आर्कषक गन्तव्य हो । १ लाख रुपैयाँभन्दा कम खर्चमा सरकारले पठाउने यस मुलुकमा मासिक औसत ७० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०९:३०
















तपाईंको प्रतिकृया