मेरो मोबाइल अब एनसेल
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २९ - मुलुककै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी मेरो मोबाइलले नाम परिवर्तन गरेको छ । कम्पनीले सेवालाई थप परिष्कृत गर्न शुक्रबारदेखि मेरो मोबाइलको नाम परिवर्तन गरेर एनसेल बनाएको हो ।
युरोपेली मुलुकका साथै अन्य विकासोन्मुख मुलुकमा दूरसञ्चार सेवा सञ्चालनमा लगानी गरेको टेलिया सोनेराले डेढ वर्षअघि स्पाइस नेपालको स्वामित्व लिएपछि आक्रमक बजार विस्तारका क्रममा नाम पनि परिवर्तन गरेको हो ।
शुक्रबारदेखि मेरो मोबाइल र त्यसको पहेंलो र रातो रङको साटो नाम एनसेल र गाढा प्याजी रङमा हाई टेक पत्थर अंकित नयाँ प्रतीक चिह्न प्रयोग गरिएको छ ।
'हामी नेपालमा पहिलो बन्न चाहन्छौं,' टेलिया सोनेर युरेसियाका अध्यक्ष टेरो किभिसारीले शुक्रबार आयोजित कार्यक्रममा भने, 'त्यसका लागि ग्रामीण क्षेत्रमा सेवा पुर्याउन सेवा क्षेत्रको विस्तारमा लगानी बढाउँछौ । सस्तो मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिन प्रतिबद्ध छौं ।' उनले पहिलो हुन सहज नभए पनि त्यसको थालनीका रूपमा नाम परिवर्तन गरिएको बताए । नाम परिवर्तनसँगै अब स्पाइस नेपाल/एनसेलले अब पूर्वाधार विकासमा आवश्यक लगानी उच्चदरमा बढाउने उनको भनाइ छ । टेलिया सोनेराले विभिन्न २० मुलुकमा दूरसञ्चार सेवामा लगानी गरेको छ । कार्यक्रमममा एनसेलका साझेदार डा. उपेन्द्र महतोले विश्वव्यापीकरणको दौडानका क्रममा मेरो मोबाइलको नाम एनसेल बनाइएको बताए । 'अब एनसेल अन्तर्राष्ट्रिय स्तरको सेवा र गुणस्तरमा सञ्चालन हुनेछ,' उनले भने, 'यसले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न पनि सहयोग पुग्छ ।'
'मोबाइल सञ्जालको विस्तारमा हामी गत वर्षको भन्दा धेरै लगानी गर्छौं,' स्पाइस नेपाल/एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तिनेनले भने । उनले थि्रजीजस्ता पछिल्ला र आधारभूत सेवा भित्र्याउने योजना कम्पनीको रहेको समेत जानकारी दिए ।
कम्पनीका अनुसार २००९ सम्ममा एनसेलका ग्राहको संख्या २२ लाख पुगेको छ । यो नेपालको दोस्रो ठूलो करदाता कम्पनी हो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०९:२९
















तपाईंको प्रतिकृया