निकुञ्जभित्र 'बलात्कार पछि हत्या' भएको दावी/सेनाद्वारा अस्वीकार

मोती पौडेल/कमल पन्थी

कप्सेरा (सुर्खेत), फाल्गुन २८ - हरिहरपुरका स्थानीय र मृतकका परिवारले बालिकासहित तीन महिलालाई गस्तीका सैनिकले बलत्कार पछि हत्या गरेको दावी गरेका छन् ।

उनीहरुले बाँसपानी जंगलमा बास बसेका बेला पुरुष जतिलाई लखेटेर महिलालाई भने बलत्कार पछि हत्या गरेको दावी गरेका हुन् । घट्नामा बचेकाहरुले सेनाले नियन्त्रणमा लिएको करिव दुई घण्टा पछिमात्र हत्या गरेको दावी गरेको छ ।

बुधबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी जंगलमा गस्तीको सैनिकले चलाएको गोलीबाट बालिकासहित तीन महिलाको मृत्यु भएको थियो । सेनाले भने कारवाहीमा तीन चोरी शिकारी मारिएको दावी गरेको छ । मारिनेमा १२ बषिर्या चन्द्रकला बिक, उनकी आमा देवीसरा र कान्छी आमा अमृता रहेका छन् ।

गस्तीको सैनिकले पक्राउ गरेका कृष्ण विकसँगै वाँसपानीमा रहेका ८ जना मध्येका कृष्णका भाई दुर्गाबहादुर विकले महिलाहरुलाई वलात्कार गरेर पक्राउ भएको दुई घण्टा पछि मात्र गोली हानी हत्या गरिएको दावी गरे ।

'वुधबार रातीको ९ वजेको थियो, हामी सुत्न लागेका थियौं, त्यसैवेला पहिला सेनाले मुढा फाले अनि नजिकैबाट गोली चलाउन थाले, हामी भाग्यौं' घटना विवरण सुनाउँदै उनले भने, 'दुई घण्टापछिसम्म यैया भन्ने आवाज आएको थियो, म त्यहाँ जान सकिन र दाजु पनि छोरी रोएको सुनेर गएका थिए, उनलाई पक्राउ गरियो, सेनाले पाँच राउण्ड गोली चलाउँदासमेत कोही मरेको थिएन ।'

घटनास्थलमा लुकेर हेरेका अर्का प्रत्यक्षदर्शी वलदेव गिरीले पनि  पुरुषलाई भगाएर महिलालाई वलात्कार गरेको दावी गरे । अपाङ्ग हात देखाउँदै उनले भने, 'म जस्तो अपाङ बचेर आउने, महिलाहरु मारिने यस्तो पनि भिडन्त हुन्छ ।'

आफुहरुबाट बन्दुक बरामद भएको भन्ने कुरा गल्ती लुकाउने प्रचार मात्रै भएको पनि उनले बताए । 'म जस्तो अपाङ्गले बन्दुक चलाउने कुरै भएन, हामी तीन दिन देखि काउलो काट्न गएका थियौं, कुनै चोरी सिकार गर्न होइन्' उनले भने ।

आफुहरु निकुञ्ज भित्र जानु गल्ती भएपनि खानेपानी नजिक पाउने भएको हुनले वाँसपानीमा बास बस्ने गरेको उनले बताए । 'काउलोको बोक्रा काटेर पेट पाल्नु नै हाम्रो गल्ती भयो' उनले भने ।

अहिलेेसम्म महिलालाई निकुञ्जको गस्तीमा आएको सेनाले गोली हानी हत्या गरेको पहिलो घटना भएको स्थानीय वासिन्दा जयराज गिरी बताउँछन् । सेनाले भने जस्तो प्रतिकारमा नभई वलात्कारपछि हत्या गरेको उनको पनि आरोप रहेको छ ।

कक्षा-३ मा पढ्ने चन्द्रकलासँगै काउलो लिन गएकी भूमिसार गिरी र काउलो काट्न गएका भक्त गिरी, वलदेव गिरी र दुर्गबहादुर सेनाको गस्तीले गोली चलाउन थालेपछि भागेर थिए ।

पुरुषलाई पक्राउ गर्ने महिलालाई मार्ने घटनाले नै वालात्कारपछि हत्या गरेको भन्ने पुष्टि भएको मृतकका छिमेकी चन्द्रबहादुर विक बताउँछन् । मृतक देवीसराको घर देखाउँदै उनी भन्छन्, 'घरमा एक छाक खाने अन्न छैन्, रुखको बोक्रा काटेर पेट पाल्न गएका थिए, के यो घर हतियार राख्ने जस्तो देखिन्छ ।'

यसअघिका दिनमा सेनाले निकुञ्ज भित्र चोरी शिकार गर्न जानेलाई समेत पक्राउ गरी मुद्धा चलाउने गरेको थियो भने यो पटक तीन जना महिलालाई पक्राउ गर्न सक्ने अवस्थामा पनि हत्या गरेको स्थानीय वासिन्दाले बताए ।

एक वर्ष अघि मात्रै एक जना महिला र पुरुषलाई निकुञ्जको सेनाले पक्राउ गरी मुद्धा चलाएका घटना सम्झंदै स्थानीय वासिन्दा तुला भारती भन्छन्- 'पहिला त आरक्षमा जानेलाई समातिन्थ्यो, तर अहिले हत्या गरियो ।'

मृतक दलित परिवारको घरमा अहिले ४ वर्षे छोरा धन, १० वर्षे हर्क, ६ वर्षिया छोरी डिलसरा र छोरा बुहारी देवीसरा रुंदै बसेका छन्भने घरमा साँझ खाने अन्न समेत छैन । दुई दिनदेखि वाँधिएका गाई बाख्राको स्याहार सुसार गर्ने त झन कोही छैन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भ्यालीमा गोलीको आवाज सुनेपछि गस्तीमा खटिएका निकुञ्ज, प्राईभेट सेक्टरबाट खटिएका युवा र सैनिकको टोली बाँसपानी पुग्दा एक्कासी फायर भएपछि गोली चालाएको  बताए ।

उनले ४/५ जना चोरी सिकारी भाग्न सफल भएको दावी गरे  । कति राउण्ड चल्यो भन्ने सम्बन्धमा विकट भएकोले गस्ति टोलीसंग सम्पर्क हुन नसकेको हुंदा यकिन नभएको बताएको छ ।

घटनास्थलमा अस्थायी टहरा, बन्दोबस्तीका सामान, तीन थान भरुवा बन्दुक, गोली ४ थान र बारुद फेला परेको दावी निकुञ्जले गरेको छ । पक्राउ परेका सर्खेत हरहिरपुर-२ का कृष्ण विकका श्रीमती ,  बुहारी र छोरीको मत्यु भएको निकुञ्जले पुष्टि गरेको  छ । सहायक संरक्षण अधिकृत भण्डरीले उनीहरु दोहोरो फायरिङमा  मारिएको हुन सक्ने बताए ।

तीनै जनाको शव परीक्षण बर्दिया जिल्ला अस्पतालमा राखिएको छ । अस्पतालका चिकित्सक सुर्य बहादुर हमालले सन्चारकर्मीलाई लासको अबस्था हेर्न समेत दिएका छैनन् । चिकित्सक हमालले गोली कति लाग्यो ? कसरी लाग्यो ? यस्ता प्रतिक्रिया पत्रकारले सोधेर नपाउने बताए ।

ज्वालादल गणका गणपति प्रकास देउजाले बलात्कारको अरोप  आधारहीन भएको बताए । 'यो सरासर गलत आरोप हो' गणपति देउजाले भने, 'सेनाको टोली, निकुञ्जका कर्मचारी र प्राईभेट सेक्टरबाट खटिएका युवासमेतको टोली माझ यस्ता अपराधिक क्रियाकलाप कसरी हुन सक्छ  ?'

निकुञ्जको मुख्यालयको हिरासतमा रहेका विक माथि चोरी सिकारको मुद्दा दायर गरिएको छ । यस घटना पछि  नेपालगंजबाट थप प्रहरी बल गुलरिया ल्याईएको छ । शव आफन्तलाई बुझाउने भन्दै अस्पतालको शव गृहमा राखिएको छ । शव बुझ्न कोही आएका छैनन् ।

 

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]