पास्कोले सेनालाई सोधेः कति लडाकु समायोजन गर्न सकिन्छ ?

(0 Votes)
राष्ट्र संघका उप-महासचिव वी। लिन पास्को र प्रधानसेनापति छत्रमान सिंह गुरुङ शुक्रबार जंगी अड्डामा कुराकानी गर्दै । तस्विरः नेपाली सेना ।

काठमाडौ, फाल्गुन २८ - संयुक्त राष्ट्र संघका उप-महासचिब वी. लिन पास्कोले प्रधानसेनापति छत्रमानसिंह गुरुङसंग माओवादी सेनाका कति लडाकुलाई सेनामा समायोजन गर्न सकिन्छ भनी प्रश्न गरेका छन् ।

शुक्रबार अपरान्ह जंगीअड्डा पुगेका पास्कोले भेटवार्ताका क्रममा सेनापति गुरुङसंग नेपाली सेनामा के कति संख्यामा माओवादी लडाकुलाई समायोजन गर्न सकिन्छ भनी प्रश्न राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा सेनापति गुरुङले बृहत राजनीतिक सहमति पश्चात व्यक्तिगत हैसियतमा स्थापित मापदण्ड पुरा गरेकालाई समायोजन गर्न सकिने बताएको उल्लेख छ ।

यसरी सेनाको धारणा सार्वजनिक रुपमा आएको यो पहिलो पटक हो । सैनिक अधिकारीहरुले बिभिन्न तहका यस सम्बन्धमा आफ्नो धारणा राख्ने गरेपनि गोप्य राख्ने गरिएको थियो ।

तर, उनले समुहगत रुपमा भने समायोजन गराउन नहुने बताएको पनि निर्देशनालयले जनाएको छ । 'व्यक्तिगत रुपमा समायोजन गरिएका लडाकुहरुले आफुलाई पूर्णतया राजनीतिक क्रियाकलापबाट भने अलग राख्नुपर्ने हुन्छ' सेनापतिको भनाइलाई उदृत गरिएको छ ।

उनले यसमा थप स्पष्ट पार्दै कतिपय माओवादी लडाकु राजनीतिक रुपमा अत्यधिक मात्रामा अभिपे्ररित भएको महशुस गरिएको उल्लेख गरेका थिए । उनले सेना भने एक अत्यन्त अनुशासित, व्यवसायिक, प्रतिस्पर्धी र गैरराजनीतिक चरित्रको भएकाको उल्लेख गर्दै राजनीतिक राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा राष्ट्र नै विखण्डन हुन सक्ने सम्भावना औल्याएका थिए ।

उनले हालै माओवादी अध्यक्ष पुष्पकमल दाहालले लडाकुको अस्थायी शिविरमा भएको राजनीतिक प्रशिक्षणले लडाकुहरुको समायोजन प्रक्रियाप्रति ईमान्दारीता तथा प्रतिवद्धतामा प्रश्नचिन्ह खडा गरेकोसमेत सम्झाएको बिज्ञप्तिमा उल्लेख छ ।

उनले गतबर्षको शक्तिखोर भिडियोबाट नै माओवादी नेतृत्वले छ/सात हजार लडाकु मात्र रहेकोे खुलासा गरेपनि प्रमाणिकरणको दौरान १९ हजार छ सय दुई पुर्‍याइएको पनि बताएका थिए । उनले पास्कोसंग लडाकुहरुलाई डर, त्रास, धम्की र दबाबरहित वातावरण श्रृजना गरी व्यक्तिगत इच्छा सोध्नुपर्ने र उक्त अवसरमा उपलव्ध सम्पूर्ण अवसरहरुको बारेमा पनि जानकारी गराउनु पर्नेमा बताएका थिए ।

आर्थिक प्याकेजसहितको समाजमा पुनस्र्थापना, व्यवसायिक तालिमहरु प्रदान गरी स्वरोजगार हुने अवसर, वैदेशिक रोजगार, शिक्षा आर्जन गर्ने अवसर, फरेस्ट गार्ड, नयाँ अबधारणा अनुरुप सीमा सुरक्षा गार्ड, भन्सार सुरक्षा, औद्योगिक सुरक्षा आदिमा जाने अवसरहरुसमेत उपलब्ध गराउनु उपयुक्त हुने उल्लेख गरेको छ । साथै सुरक्षा फौजमा नै समायोजन हुन चाहनेहरुलाई जनपद प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, शसस्त्र प्रहरी बल आदिमा पनि अबसर दिन सकिने बताए ।

भेटको क्रममा पास्कोलेे लामो समयदेखि नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

 

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०८:५३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।