करिमालाई माफ रिजवानलाई लात

यही सरकारको राज्यमन्त्री करिमा बेगमले केहीअघि कार्यालयभित्रै पर्साका सीडीओलाई थप्पड हिर्काइन् । प्रधानमन्त्री नेपालले राजीनामा माग्नु त परै जाओस् सामान्य माफी माग्नसम्म लगाएनन् ।

(3 Votes)
सरोजराज अधिकारी

२०

के ही हरुवाका दबाबमा शासकीय स्वरूप निर्धारणसम्बन्धमा संसदीय व्यवस्थामा कांग्रेससँग सहमति गरिसकेको एमालेले बुधबारको केन्द्रीय कमिटी बैठकबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा अडिने निर्णय गर्‍यो । सोही दिन दुई स्थानबाटै चुनाव हारेर पनि प्रधानमन्त्री बनेका माधवकुमार नेपालले सरकारमा सहभागी एमालेका एकमात्र निर्वाचित प्रतिनिधि गृहराज्यमन्त्री मोहमद रिजवान अन्सारीलाई राजीनामा दिन बाध्य पारे । परिणाम, एमालेको आन्तरिक राजनीतिको इतिहासमा यो दिन 'गाईजात्रा' बन्न पुग्यो ।

शान्ति सुरक्षाको अवस्था धराशायी बन्दै गएकोमा गृहमन्त्री भीम रावलको चौतर्फी आलोचना र राजीनामा माग भइरहेको थियो । त्यही मेसोमा राज्यमन्त्री अन्सारीले आफू गृहमन्त्री भएको भए एक मिनेट पनि पदमा नबस्ने भन्दै सार्वजनिक रूपमै गृहमन्त्रीको आलोचना गरे । अनि के थियो, प्रधानमन्त्री माधवकुमार नेपालले संसदीय अभ्यासमा आइसकेपछि गृहमन्त्रीसँग असहमति जनाएर पदमा बस्न नमिल्ने तर्क गर्दै मंगलबार अन्सारीको राजीनामा माग गरे । सायद प्रधानमन्त्री नेपाललाई अन्सारीले सोध्न बिर्से, विश्वको कुन संसदीय व्यवस्थामा दुई-दुई स्थानबाट चुनाव हारेर पनि प्रधानमन्त्री बन्न पाइन्छ कामरेड ?

लिखित रूपमै अधिकार दिए पनि त्यसको प्रयोगमा गृहमन्त्रीले ठाडो हस्तक्षेप गरेकाले काम गर्न नसकेको गुनासो अन्सारीले पटकपटक पार्टी अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री नेपालसमक्ष राख्दै आएका थिए । गृहमन्त्रीको नाम नलिए पनि प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले समेत प्रहरीभित्र सरुवा, बढुवामा ७५ प्रतिशत राजनीतिक हस्तक्षेप भएको धारणा सार्वजनिक रूपमै राखिसकेका छन् । सामान्य मर्यादा नराखेका भए अन्सारीले सुरुमै सार्वजनिक रूपमा आफ्ना समस्या राख्थे । करिब पाँच महिनाको आन्तरिक संघर्षपछि पनि अन्सारीको समस्यामाथि कतैबाट सुनुवाइ भएन । अर्कोतिर मुलुकको शान्ति सुरक्षा झन् धराशायी बन्दै गयो । गृहमन्त्रीको कार्यशैलीका कारण प्रहरी प्रशासनभित्रै दण्डहीनताले प्रश्रय पाएपछि जनताले चुनेका अन्सारीलाई सह्य भएन र मुख खोले । परिणाम, उनलाई बलिको बोको बनाइयो ।

यही सरकारको राज्यमन्त्री करिमा बेगमले केहीअघि कार्यालयभित्रै पर्साका सीडीओलाई थप्पड हिर्काइन् । प्रधानमन्त्री नेपालले राजीनामा माग्नु त परै जाओस् सामान्य माफी माग्नसम्म लगाएनन् । रक्षामन्त्री तथा उपाध्यक्ष विद्या भण्डारीले कार्यकक्षमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिको निर्णय अमान्य हुने घोषणा गरिन् । रक्षा मन्त्रालय र सेनाको सहमतिबिना समितिले गर्ने निर्णय कुनै हालतमा नमान्ने कुरा बारम्बार दोहोर्‍याइन् । उनलाई पनि प्रधानमन्त्रीले माफ गरिदिए । मुस्लिम समुदाय, निर्वाचित सभासद, असल आचरण, विवादरहित छवि, कामप्रतिको इमानदारीलगायत दर्जनौं विषयमा वर्तमान मन्त्रिपरिषद्का सम्भवत सबैभन्दा असल सदस्य अन्सारीले गृहमन्त्रीको पदमा रहेको एक व्यक्तिका कारण शान्ति सुरक्षा बिगि्रयो, यसलाई सुधार्नुपर्छ भन्दा किन गलहत्याइयो ?

सतही रूपमा हेर्दा, गृहमन्त्रीसँगको टकराव सरकारबाट अन्सारीको बहिर्गमनको प्रमुख कारण देखिएको छ । सायद सार कुरा बिचरा अन्सारीलाई समेत थाहा छैन । कारण हो, उनले जमिम हत्यामा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको हात देख्नु । यतिमात्रै होइन, ती शक्ति केन्द्र र आपराधिक गिरोह कसको इसारामा सञ्चालित थिए छिट्टै खुलासा हुनेछ भन्ने बताउनु । एउटै समुदाय हुनुका नाताले जमिमको शवलाई उनले काँध दिएको दृश्य मुस्लिमविरोधी कतिपयका नजरमा पचेको थिएन । अन्सारी पदमा रहिरहेको भए सत्तामा पुग्न र टिकिरहन माधव नेपालले जसको काँध चढेका थिए (र छन्) तिनको वास्तविक अनुहार पटाक्षेप हुने थियो । त्यो अहिलेको सरकार र त्यसका नेतृत्वकर्ता नेपाललाई सह्य थिएन । त्यसैले अन्सारीलाई हटाउनु नै तात्कालिक समस्याको समाधान भएको निष्कर्ष निकालियो र उनलाई हटाइयो ।

सञ्चारमन्त्री शंकर पोखरेलले आफ्नो अभिव्यक्ति नसच्याएको भए, उनले पनि पदबाट हात धोइसक्थे । प्रधानमन्त्रीकै दबाबमा पोखरेल जमिम हत्या 'भारत-पाकिस्तान तनाव र नेपालका मुस्लिम समुदायमाथि भइरहेको निरन्तरको आक्रमणको अर्को शृंखला हो' भन्ने आफ्नो भनाइ फेर्न बाध्य भएका थिए । अन्सारीले बेलैमा तथ्य नखोलिदिएको भए माधव नेपाल सरकारले आफूलाई 'डन' भन्न रुचाउने कुनै घैंटे, पुन्टे उपनाम गरेको काठमाडौंका गुन्डाले जमिमलाई मारेको कथा जनतालाई सुनाउने तयारी गरिरहेको थियो । तर एकाएक कुनै बाह्य एजेन्सीको समेत संरक्षणप्राप्त छोटा राजनको इसारामा भरत नेपाली नामको दादाको संलग्नताको खुलासा भयो, प्रधानमन्त्री नेपाल झस्किए । उनको झस्काइले प्रधानमन्त्री नेपाल र भरत नेपालीका संरक्षणकर्ता एकै त

होइनन् ? भन्ने प्रश्न जबरजस्त रूपमा उब्जाएको छ ।

sarojraj.adhikari@gmail.com

 

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।