पहिलोपल्ट पुलिस शीर्षस्थानमा
'ए’ डिभिजन लिग
काठमाडौ, फाल्गुन २८ - फ्रेन्ड्समाथि ३-० को जित दर्ता गरेर पुलिस बिहीबार सहिद स्मारक 'ए' डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । डिफेन्डिङ च्याम्पियनले ६ खेलबाट १४ अंक जोडेर पहिलो स्थान हासिल गरेको हो । पाँच खेलबाट १३ अंक जोडेको मनाङ-मस्र्याङदीले शुक्रबार आरसीटीलाई पराजित गर्नसके पुलिसलाई उछिन्नेछ ।
यसअघि बिहीबारको पहिलो खेलमा एनआरटी र मच्छिन्द्रले गोलरहित बराबरी खेलेर अंक बाँडे । तेस्रो स्थानमा यथावत् रहेको एनआरटीको खातामा ११ अंक भएको छ । समान ९-९ अंक भए पनि राम्रो गोल औसतका आधारमा फ्रेन्ड्सलाई पछि पारेर मच्छिन्द्रले चौथो स्थान कब्जा गर्यो ।
पुलिसको जितमा जुमनु राई, चेतन घिमिरे र भोला सिलवालले गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । अधिकांश समय बलमाथि पुलिसको नियन्त्रण रहेको खेलको ६२ औं मिनेटमा जुमनुले गोलको खाता खोलेका थिए । डि-बक्स लाइनबाट उनले बायाँ खुट्टाले हल्का रूपमा प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर रूपक श्रेष्ठले सही अनुमान गर्न नसकेको स्थितिमा गोलमा परिणत भएको थियो ।
अग्रता लिएको ५ मिनेट नबित्दै चेतनले गोल गरेर पुलिसलाई २-० ले अघि बढाए । भोलाले प्रहार गरेको कर्नरकिकमा गोलकिपर अगाडि बढेको स्थितिमा उनले प्रहार गरेको बलले क्रसबार छँुदै जाली चुम्न पुगेको थियो । लिगमा चेतनको यो चौथो गोल हो । सर्वाधिक गोलकर्ताको सूचीमा जावलाखेलका योगेश श्रेष्ठसँगै उनी संयुक्त अग्रस्थानमा उक्लिएका छन् ।
तेस्रो गोलमा भोलाले कडा मिहिनेत गरेका थिए । एक्लो प्रयासमा उनले दायाँ खुट्टाले सशक्त रूपमा प्रहार गरेको बल ८३ औं मिनेटमा उत्कृष्ट गोलमा परिणत भएको थियो । पुलिसका थप तीन आक्रमणले भने पोस्टको दिशा लिन सकेनन् । पूरा खेल अवधि दबाबमा रहेको फ्रेन्ड्सले एकैपल्ट मात्र गोलको अवसर सिर्जना गर्यो । सुशील केसीले उपलब्ध गराएको बललाई गोलमा परिणत गर्न बुद्ध चेम्जोङ अन्तिम समयमा चुके ।
'मिडफिल्डमा जम्न नसकेकाले राम्रो खेल्न सकेनौं,' फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, 'त्यसैले पुलिसलाई हराउने लक्ष्य पूरा भएन ।' दुई पहेंलो कार्डले प्रतिबन्धमा परेका रविन श्रेष्ठ र गोलकिपर रितेश थापाको अनुपस्थितिमा पाएको ३ अंक महत्त्वपूर्ण रहेको पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बताए ।
'फ्रेन्ड्स सन्तुलित र राम्रो टिम हो, युवा खेलाडीले भरिएको उसले तीव्र गतिमा खेल्न सक्छ,' विराटकृष्णले थपे, 'तर उनीहरूमा अनुभवको कमी छ । त्यसैले उनीहरूलाई खुलेर खेल्ने समय र ठाउँ नदिने रणनीतिमा सफल भयौं । उनीहरूलाई बल होल्ड गर्न दिएनौं ।'
दुई पहेंलो कार्ड पाएकाले प्रतिबन्धित रञ्जित श्रेष्ठ र उमेश उप्रेतीको अनुपस्थिति एनआरटीलाई महँगो सावित भयो । 'मिडफिल्ड नचलेकाले पूरै टिमले राम्रो खेल्न सकेन,' एनआरटी प्रशिक्षक डिकेन सुवालले भने ।
एनआरटीको तीन आक्रमण मच्छिन्द्रका गोलकिपर विशाल मगरले उत्कृष्ट रूपमा निस्तेज पारे । सुरुमै मच्छिन्द्रका विष्णु केसीले प्रहार गरेको बल गोल लाइनबाट जितेन कार्कीले फर्काएका थिए । 'इनर्जी लस्ट हुँदै गएकाले अघिल्ला खेलमा जस्तो राम्रो खेल्न सकेनौं,' मच्छिन्द्रका प्रशिक्षक ध्रुव केसीले भने, 'अनुभवको कमी छ । ५०-५० को खेलमा गोल गर्न सकेनौं ।' बलियो टिमसँग एक अंक खोस्न पाएकामा भने उनी प्रसन्न थिए ।
एनआरटी ०-० मच्छिन्द्र
पुलिस ३-० फ्रेन्ड्स
आजका खेल
संकटाविरुद्ध एपीएफ
आरसीटीविरुद्ध मनाङ-मस्र्याङदी
प्रकाशित मिति: २०६६ फाल्गुन २८ १०:०२

















तपाईंको प्रतिकृया