उद्यमी र पत्रकारलाई विशेष सुरक्षा
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - व्यवासायी तथा सञ्चारकर्मी/सञ्चार उद्यमीको सुरक्षार्थ प्रहरीले विशेष कार्ययोजना सार्वजनिक गरेको छ । राजधानीमा व्यवसायीका साथै सञ्चारकर्मी र उद्यमी आपराधिक समूहको निसानामा पर्न थालेपछि प्रहरीले कार्ययोजना बनाएको हो ।
योजनामा उद्यमी व्यवसायीका घर, कार्यालय र उनीहरू हिँड्ने बाटोलाई निगरानीमा राख्ने उल्लेख छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बिहीबार व्यवसायीहरूबीच भएको छलफलमा काठमाडौं परिसर प्रमुख गणेश केसीले यसबारे तयारी भएको बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले व्यवसायीहरूलाई आएका धम्कीबारे प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गरे । उनले एक प्रहरीले १३ सय जनतालाई सुरक्षा दिँदै आएको बताउँदै विभिन्न पक्षबाट दैनिक बन्द हडताल हुने गरेकाले प्रहरी बढी खट्नुपरेको बताए । 'प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म काम गरेको छ,' उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष प्रदीपजंग पाण्डेले सामान्य पेसा गर्नेलाई पनि चुनौती रहेको बताउँदै त्यसप्रति गम्भीर हुन प्रहरीलाई आग्रह गरे । 'उच्च घरानियाँका व्यापारी व्यवसायीलाई मागेको बखतमा सुरक्षा उपलब्ध गराइदिनुपर्छ,' उनले भने ।
मोबाइलबाट धम्की आउने गरेका कारण मोबाइल सेवा प्रदायक कम्पनीले बढि जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । '१५ दिनभित्रमा मोबाइल फोन प्रयोगकर्ताको परिचय नवीकरण गर्नुपर्छ,' उनले भने, 'टेलिकमले एउटै व्यक्तिलाई धेरै फोन वितरण गर्दा पनि समस्या आएकाले उसले यसबारे विचार पुर्याउनुपर्छ ।'
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले प्रहरीभित्र पुरस्कार र दण्डको व्यवस्था नभएसम्म अपराध कम नहुने बताए । 'सुरक्षा संयन्त्रभित्र पनि कमजोरी भएका कारण यस्तो स्थिति उत्पन्न भएको हो,' उनले भने, 'प्रहरीभित्रको खराब तत्त्वलाई हटाएर राम्रालाई पुरस्कृत गर्नुपर्छ ।'
व्यवसायीहरूका घर वरपरको क्षेत्रका नौला व्यक्तिको चहलपहल बढे त्यस्ता बारेमा थप सूचना संकलन गर्ने काम गर्नेछ । 'निवास वरपरका साँघुरा गल्लीहरूमा सादा पोसाकमा, युनिर्फममा, हतियारसहित सुरक्षाकर्मी परिचालन गरिनेछ,' कार्ययोजनामा उल्लेख छ । यस्तै उद्यमीहरूको कार्यालयमा रहेका नजिकका कर्मचारीहरूको अभिलेख राख्ने, कर्मचारीको बानी व्यवहार र जीवनशैलीबारे उद्यमीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जानकारीमा राख्न आग्रह गरेको छ । व्यवसायीहरूले बढी प्रयोग गर्ने बाटोमा आपराधिक तत्त्वलाई समेत लक्ष्य पहिचान र मूल्यांकन गर्न सजिलो हुने भएकाले त्यसमा बढी ध्यान पुर्याउन आग्रह गरेको छ । नजिकका प्रहरी एकाइ कार्यालय प्रमुखहरूले सम्बन्धित व्यवसायी, उद्यमी, सञ्चारकर्मीहरूसँग नियमित भेटघाट र सम्पर्क कायम गरी सम्बन्ध विस्तार गरेर आइपरेका समस्याप्रति रणनीति तय गर्ने योजना छ । माथिल्लो आयुक्तको कार्यालयले यसको निगरानी गर्नेछ । व्यवसायीहरूलाई विभिन्न माध्यमबाट आएको धाकधम्कीप्रति प्रहरी संवेदनशील रहेको बताउँदै आयुक्तको कार्यालयका एआइजी मदनबहादुर खड्काले आएका धम्कीबारेमा छिट्टै प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:५२
















तपाईंको प्रतिकृया