मृतक राई प्रहरीकहाँ पुगेको पुष्टि

(0 Votes)
केदार ओझा

२४

काठमाडौ, फाल्गुन २८ - प्रहरीले बहिनीको खोजी गर्न असहयोग गरेपछि बिरक्तिएर आत्महत्या गर्ने मनोज राई सयहयोगको आग्रहका लागि महानगरीय अपराध महाशाखा गएको पुष्टि भएको छ । उनले आत्महत्या गर्नुअघि लेखेको चिठी र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यस्तो पुष्टि भएको हो ।

राईले बहिनीको खोजीका लागि  हनुमानढोकास्थित अपराध महाशाखामा गएर सहयोग मागेको चिठीमा लेखेका छन् । 'तिम्रो खोजीका विरुद्ध एउटी डीएसपी उभिइन् र निवेदन अस्वीकार गरिन्,' उनको चिठीमा छ । अपराध महाशाखामा महिलासम्बन्धी घटनाको अनुसन्धान गर्न डीएसपी गीता उप्रेती कार्यरत छिन् ।

'म दिनभरि जस्तै एक जटिल मुद्दामा व्यस्त थिएँ, धेरै मान्छे बाहिर पर्खेका थिए, त्यसमध्ये उनी पनि हुन सक्छन्,' डीएसपी उप्रेतीले भनिन्, 'मैले मनोज राई नामको कसैलाई भेटेको छैन, भेट्दै नभेटेको मान्छेबाट कसरी निवेदन लिने ?'

आत्महत्या गर्ने २४ वषर्ीय राई त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा एमए दोस्रो वर्षमा अध्ययनरत थिए । उनी कीर्तिपुर बाघभैरवमा बहिनीलाई साथमा राखेर डेरा गरी बस्थे । अपराध महाशाखाले वास्ता नगरेको आवेशमा राईले गत मंगलबार राति कीर्तिपुरस्थित विश्वविद्यालयको विज्ञान भवन नजिकै गलबन्दीले पासो लागाई आत्महत्या गरेका थिए ।

मृतक राईले बहिनीको खोजी कार्यमा कीर्तिपुर प्रहरी र अपराध महाशाखाबाट  चित्तबुझ्दो सहयोग नपाएको गुनासो उनका मामा पर्ने डीएसपी रामचन्द्र राईलाई समेत गरेका थिए ।  

पीडितको गुनासो नसुनेका कारण युवकले आत्महत्या गरेको समाचार बुधबार अधिकांश राष्ट्रिय दैनिकहरूले प्रकाशित गरेका थिए । आयुक्तको कार्यालयले अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दलाई घटनाबारे स्पष्टीकरण सोधेको छ ।  

त्यसैगरी बिहीबारै आयुक्त मदनबहादुर खड्काले अपराध महाशाखाका सबै कर्मचारीलाई रानीपोखरीस्थित आयुक्तको कार्यालयमै बोलाएर व्यावसायिक रूपमा काम गर्न कडा चेतावनी दिएको प्रहरी स्रोतले बतायो ।  

महाशाखाले बिहीबारदेखि नै गुनासो लिएर आउने सेवाग्राहीको नामावली र कामबारे मूलढोकामै लेख्ने डेस्क स्थापना गरेको छ ।

सुरक्षाकर्मीलाई नै चुनौती बढेपछि झन्डै तीन वर्षअघि प्रहरी कार्यालयमा आउनेजानेको नामावली लेख्ने गरिन्थ्यो तर केही समयपछि नै त्यस्तो कार्य हुनेगरेको थिएन । मृतक राई नेपाल आदिवासी जनजाति पत्रकार संघको भोजपुर शाखामा आबद्ध थिए ।

छानबिन बोर्ड गठन

काठमाडांै- प्रहरीकहाँ सहयोगका लागि जाँदा वास्ता नगरेको कारण एक युवकले आत्महत्या गरेको घटनाबारे छानबिन गर्न महानगरीय आयुक्तको कार्यालयले तीन सदस्यीय बोर्ड गठन गरेको छ । बोर्डमा आयुक्तको कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक माधव नेपाल, डीएसपी शरदकुमार तामाङ र प्रहरी निरीक्षक गजुसिद्धि बज्राचार्य छन् । उनीहरूलाई घटनाको सत्यतथ्य बुझी अविलम्ब प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:११

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।