माओवादीको भारतीय माओवादीप्रतिको दृष्टिकोण/'सशस्त्र युद्धलाई सैद्धान्तिक समर्थन’

(0 Votes)
गंगा बीसी

काठमाडौ, फाल्गुन २८ - भारतीय माओवादीको जारी सशस्त्र युद्धलाई नेपाली माओवादीले 'सैद्धान्तिक समर्थन मात्र' भएको बताएको छ । भारतीय माओवादीले नेपाली माओवादीसँग सम्पर्क भइरहेको दाबी गरेकै बेला नेपाली माओवादीको यस्तो भनाइ आएको हो । 'जनयुद्ध' लाई विस्तृत शान्ति सम्झौतामार्फत अन्त्य गरेय तापनि दुई माओवादीबीच गोप्य सम्बन्ध रहँदै आएको छ ।

संविधानसभामा सबभन्दा ठूलो पार्टी भएपछि नेपाली माओवादीलाई सम्बन्ध विस्तार गर्न अप्ठ्यारो परेको छ । 'भारत सरकारसँग हाम्रो कूटनीतिक सम्बन्ध भएको हुनाले दुवै सम्बन्ध कायम गर्न गाह्रो परेको हो,' पोलिटब्युरो एवं विदेश विभाग सदस्य राम कार्कीले कान्तिपुरसँग भने, 'हाम्रो सैद्धान्तिक सम्बन्ध भने कायम छ ।'

दुवैले माओवादलाई पथप्रदर्शक सिद्धान्तको रूपमा लिन्छन् । 'त्यहाँको परिस्थितिमा जारी युद्धलाई हाम्रो सैद्धान्तिक समर्थन मात्र हुन्छ,' उनले भने, 'किनभने त्यो न्यायपूर्ण संघर्ष

हो ।' तर शान्ति प्रक्रियामा आइसकेपछि नेपाली माओवादीले त्यहाँको सशस्त्र युद्धलाई औपचारिक रूपमा समर्थन गरेको छैन ।

भारत सरकारले त्यहाँको माओवादीलाई 'आतंककारी' को रूपमा व्यवहार गरेपछि नेपाली माओवादीलाई खुला सम्बन्ध राख्न गाह्रो परेको हो । 'शान्तिपूर्ण राजनीतिमा सबभन्दा ठूलो पार्टी भएकोले भारत सरकारसँग कूटनीतिक सम्बन्ध हुनु स्वाभाविक हो,' उनले भने, 'विद्रोहीसँग सिद्धान्त र विचार मिले पनि सम्बन्ध सिद्धान्तमै सीमित रहन्छ ।' उनले पार्टीले सही बाटो लिएकोे 'समय आएपछि' बुझ्ने उल्लेख गरे ।

सशस्त्र युद्धका बेला दुवैबीच गहिरो सम्बन्ध थियो । दक्षिण एसियामा माओवादी युद्धलाई चर्काउने उद्देश्यले उनीहरूले २०५८ जेठमा दक्षिण माओवादी पार्टी र संगठन मिलाएर कम्पोसा गठन गरेका थिए । भारतीय माओवादीको नेतृत्वमा रहेको कम्पोसा हाल निष्क्रिय रहेको दाबी नेपाली माओवादीको छ । 'हाल कम्पोसा निष्त्रिmय अवस्थामा छ,' कार्कीको भनाइ छ, 'विघटन भने भएको छैन ।'

नेपाली माओवादी २०६३ मा शान्ति प्रक्रियामा सामेल भएपछि कम्पोसा सक्रिय देखिएको छैन । नेपाली माओवादीले पनि यसलाई सक्रिय बनाउने चासो दिएको छैन । संविधानसभापछि सरकारको नेतृत्व गर्नुपरेको र प्रतिपक्षमा बस्दा समेत उसले खुल्ला रूपमा भारतीय माओवादीसँग सम्बन्ध देखाउन खास महत्त्व दिएको छैन ।

सन् २००९ मे २० मा भारतीय माओवादी पोलिटब्युरोले नेपाली माओवादीलाई खुल्लापत्र लेखी आलोचना गरेको थियो । उसले सशस्त्र युद्धका आधार इलाका भत्काएको, 'जनसेना' लाई शिविरमा राखेको भन्दै संशोधनवादी नीति लिएको आरोप लगाएको थियो । आफूले संशोधनवादी नीति नलिएको नेपाली माओवादीले दाबी गर्दै आएको छ । 'नेपालको विशिष्टतामा क्रान्ति सम्पन्न गर्ने नीति हामीले लिएका छौं,' उनले भने, 'सबै देशमा क्रान्तिको मोडेल एउटै हुनुपर्छ भन्ने छ्रैन ।'

भारतीय सरकारले त्यहाँका माओवादी विरुद्ध सुरु गरेको अप्रेसन भत्र्सनायोग्य भएको उनले जनाए । 'माओवादीलाई दमन गर्ने नाममा त्यहाँ सर्वसाधारणलाई कत्लेआम गर्ने काम सरकारले गरेको छ,' उनले भने, 'हामी त्यसको विरोध गर्छौं ।'

भारत सरकार र त्यहाँका माओवादीबीच वार्ता गर्ने सम्बन्धमा अनौपचारिक रूपमा छलफल चलिरहेको छ । सरकारले वार्ताका लागि हतियार छाड्नुपर्ने सर्त राखेको छ भने माओवादीले आफूविरुद्धको अप्रेसन रोकी जेलमा रहेका वरिष्ठ पोलिटब्युरो सदस्य कोबाब गान्धी र अमिताव बान्चीलगायत बन्दी रिहा भए मात्र वार्ता हुने अडान राखेको छ । कार्कीले भारत सरकारसँग त्यहाँको माओवादीले वार्ता गर्न उचित वातावरण बनाउनुपर्ने बताए ।

भारतीय अखबार फ्रन्टलाइनका अनुसार छ सय २६ जिल्लामध्ये दुई सय ३१ जिल्लामा माओवादी प्रभाव देखिएको छ । त्यसमध्ये ४० जिल्लामा बढी प्रभाव छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:०८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।