एमालेमा हेरफेर

(0 Votes)
राजेन्द्र फुयाल

काठमाडौ, फाल्गुन २८ -  सत्तारूढ प्रमुख घटक एमालेमा महत्त्वपूर्ण विभागीय जिम्मेवारी हेरफेर भएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले संसदीय व्यवस्था विभागमा विष्णु पौडेल, प्रचारमा प्रदीप ज्ञवाली र पार्टी स्कुलमा वेदुराम भुसाललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो । बैठकले पार्टीका सचिव समेत रहेका पौडेललाई संसदीय दलको उपनेता प्रस्ताव गर्ने निर्णय पनि गरेको छ भने स्कुल विभागको उपप्रमुखको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् ।

तीमध्ये संसदीय विभाग नयाँ गठन गरिएको हो भने बाँकी दुईमा जिम्मेवारी हेरफेर भएको हो । यसअघि स्कुल विभाग अध्यक्ष झलनाथ खनाल र प्रचार विभाग महासचिव ईश्वर पोखरेलले आफैसँग राखेका थिए । केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित ती विभागहरूले पूर्णतासमेत पाएका थिएनन् । महाधिवेशनबाट निर्वाचित नेतृत्वले गरेको जिम्मेवारी बाँडफाँडमा भएको यो पहिलो हेरफेर हो ।

स्रोतअनुसार, पार्टीभित्र जिम्मेवारी बाँडफाँड सन्तुलित नभएको, महाधिवेशनको प्रतिस्पर्धामा को कहाँ थियो भन्ने आधारमा काखापाखा गरिएको आवाज उठेपछि ती विभागको नेतृत्व परिवर्तन गरिएको हो । नयाँ जिम्मेवारी पाउनेमध्ये पौडेल, ज्ञवाली र वेदुराम प्रधानमन्त्री नेपाल र स्थायी कमिटी सदस्य केपी ओली निकट हुन् भने घनश्याम संस्थापन निकट मानिन्छन् ।

महासचिव पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा स्कुल र प्रचार विभागको काम प्रभाकारी हुन नसकेको मूल्यांकन प्रस्तुत गरेका थिए । बैठकमा पोलिटब्युरोबाट गठित जिल्लाका विवाद समाधान कार्यदलले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रस्ताव कार्यान्वयनको जिम्मेवारी भने स्थायी कमिटीलाई दिइएको छ ।

कार्यदलले काठमाडौंमा समानान्तर कमिटी मिलाएर ७३ सदस्यीय नयाँ संगठन कमिटी, धनुषा राम सत्रुघन महतो, महोत्तरीमा योगनारायण यादवको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । त्यसैगरी बारा ४ को क्षेत्रीय कमिटीको पुनः निर्वाचन गराउने सुझाव कार्यदलले दिएको छ । प्रचार विभाग प्रमुख ज्ञवालीले कार्यदलले दिएका सुझाव कार्यान्वयन र समन्वयको जिम्मेवारी स्थायी कमिटीलाई दिएको बताए ।

ती जिल्ला र क्षेत्रमा अध्यक्ष खनाल र नेपाल-ओली समर्थित समानान्तर कमिटी गठन भएपछि पोलिटब्युरोले विवाद समाधानको अन्तिम निर्णय गर्ने गरी उच्चस्तरीय कार्यदल बनाएको थियो । काठमाडौंको कार्यदलले निर्वाचित जिल्ला कमिटी भंग गर्ने उपत्यका समन्वय कमिटीको निर्णयलाई विधान र पार्टीको प्रचलित सिद्धान्त विपरीत भएको निष्कर्ष निकालेको थियो । तर उसले समानान्तर कमिटीको अवस्था अन्त्य गर्न दुवै कमिटी मिलाउने प्रस्ताव बैठकमा पेस गरेको थियो ।

बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष खनालले पार्टीको सिद्धान्त, विधान, निर्वाचित नेतृत्वको आधारमा आन्तरिक एकतालाई सुदृढ गर्नुपर्नेमा जोड दिए । स्थानीय तहको

कार्यकर्ता पंक्ति गलत ढंगले रूपान्तरित हुँदै गरेको भन्दै उनले पार्टीमा भर्ना र प्रशिक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

केन्द्रीय सल्लाहकार परिषद् गठन, विभागीय सदस्यहरूको पूर्ति, युथफोर्सको निर्देशिका लगायतका कामको जिम्मेवारी पनि स्थायी कमिटीलाई दिने निर्णय भएको छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:०५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।