फोरमद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २७ - विपक्षी दल मधेसी जनअधिकार फोरमले सरकारसँग भएको ८ र २२ बुँदे सम्झौता लगायतका अन्य सहमति कार्यान्वयन नभएको जनाउँदै दोस्रो चरणको मधेस केन्दि्रत आन्दोलन घोषणा गरेको छ ।
फोरमले बिहीबार पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेको हो । 'उनीहरू संविधान बनाउन चाहँदैनन्,' फोरम अध्यक्ष उपेन्द्र यादवले कान्तिपुरसँग भने, 'अब हामीलाई आन्दोलनमै भरोसा छ, यसैको माध्यमले मधेसको अधिकार सुनिश्चित हुनुबाहेकको विकल्प छैन ।'
यादवले स्वायत्त मधेस प्रदेशको स्थापना समेत आन्दोलनका प्रमुख लक्ष्यमध्ये एक रहेको बताए । चैत ५ देखि सुरु हुने विरोध कार्यक्रम एवं आन्दोलन चैत २७ गतेसम्म जारी रहने छ । पार्टीले चैत २६ र २७ मा आम हडतालसँगै तराई मधेस बन्दको घोषणा गरेको हो ।
फोरमले चैत ५ देखि ९ सम्म जिल्ला सदरमुकामलगायत प्रत्येक निर्वाचन क्षेत्रको मुख्य ठाउँमा विरोधसभा गर्ने जनाएको छ । चैत १२ गते मधेसका जिल्ला सदरमुकामहरूमा मसाल जुलुस र चैत १४ गते जिल्ला सदरमुकाममा लाठी जुलुस निकाल्ने समेत फोरमका महासचिव रामसहाय यादवले बताए ।
चैत १६ गते प्रधानमन्त्रीको राजीनामा माग गर्दै सरकारको विरोधमा कालोझन्डासहित जुलुस प्रदर्शन गरिने समेत फोरमले जनाएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि चैत २४ गते धर्ना र घेराउ कार्यक्रम छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २७ १०:०४
















तपाईंको प्रतिकृया