बराबरीमा प्रशिक्षक सन्तुष्ट
काठमाडौ, फाल्गुन २७ - सहिद स्मारक 'ए' डिभिजनमा बुधबारका दुवै खेल बराबरीमा टुङगिएको छ । शीर्षस्थानको मनाङ-मस्र्याङदीलाई गोलरहित बराबरीमा रोकेर ब्वाइज युनियनले अन्तिमबाट दुई स्थान फडको मार्दै रेलिगेसन क्षेत्र छाडेर दसौं स्थानमा उक्लियो । अर्को खेलमा थ्री-स्टारले आर्मीलाई १-१ मा रोक्दै अंक बाँड्यो ।
बराबरमा एक-एक अंक हात पारेका चारै प्रशिक्षकले सन्तुष्टि व्यक्त गरे । बुधबारको खेलसँगै लिगको पाँचौं चरण सम्पन्न भएको छ । त्यसमा उपाधिका दाबेदार मानिएको थ्री-स्टार ५ अंक जोडेर आठौं स्थानमा छ । सात अंकमा आर्मी छैटौंमा छ । दुवै टिमले पछिल्ला दुई-दुई खेल हारेका थिए ।
खराब समयबाट गुजि्रएको थ्री-स्टारलाई सन्तोष साहुखलले ८९ औं मिनेटमा गोल गर्दै अंक दिलाएका थिए । विश्ववैराग समालले क्लियर गर्न नसकेको बललाई सन्तोषले सुन्दर गोलमा परिणत गरेका थिए ।
यसअघि हरि महतोको गोलमा आर्मी ६० औं मिनेटमा १-० ले अघि बढेको थियो । सब्स्िटच्युट हिरण्य मगरले पास दिएको बललाई उनले बायाँ खुट्टाले सशक्त रूपमा प्रहार गरेको बलले उत्कृष्ट रूपमा जाली चुम्न पुगेको थियो ।
प्लेइङ सेटका चोटग्रस्त चार खेलाडीको अनुपस्थितिमा गरेको प्रदर्शनमा थ्री-स्टार प्रशिक्षक बालगोपाल महर्जन प्रसन्न देखिए । 'दुई हारपछि पाएको अंक चित्तबुझ्दो छ', उनले थपे, 'मिडफिल्डले स्ट्राइकरलाई बल उपलब्ध गराउन सकेका छैनन् । स्ट्राइकरले पाएका गोलका मौका सदुपयोग गर्न सकेका छैनन् ।'
अन्तिम समयमा बल होल्ड गर्न नसकेकाले जितबाट वञ्चित रहे पनि खेलाडीको प्रदर्शन र प्राप्त नतिजामा आर्मी प्रशिक्षक राजुकाजी शाक्य खुसी देखिए । 'पछिल्ला दुई खेल हार्दा निक्कै दबाब महसुस गरें,' उनले भने । सुरुमै फ्रि-किकमा अञ्जान केसीले प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरिँदा थ्री-स्टारले अग्रता लिने मौका गुमायो ।थ्री-स्टारले थप दुई गोलका अवसर सदुपयोग गर्न सकेन । आर्मीका गोलकिपर विकास मल्लले दुई उत्कृष्ट बचाव गरे । आर्मी पनि गोलका चार सुन्दर मौकामा चुक्यो ।
पहिलो खेलमा मनाङ-मस्र्याङदीलाई ब्वाइज युनियनले दबाबमा राखेको थियो । पूरा खेलमा गोलका दुई अवसरमात्र उसले सिर्जना गर्यो । तर दुवै अवसरमा मनाङ-मस्र्याङदी चुक्यो । 'उत्कृष्ट ६ खेलाडी घाइते छन्, राम्रा खेलाडी नभएकाले उनीहरूलाई खेलाउनुपर्ने बाध्यता छ', मनाङ-मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङले भने, 'यस्तोमा ब्वाइज युनियनलाई बराबरीमा रोक्नु राम्रो हो ।'
लगभग निश्चित गोलजस्तै रहेको ५ मौकामा ब्वाइज युनियन चुक्यो । 'हाम्रा खेलाडी अत्तालिए, बल होल्ड गर्न सकेनन्', ब्वाइज युनियनका प्रशिक्षक कुमार कटुवालले भने, 'दिमाग लाएर खेलेको भए गोल हुन्थ्यो र खेल जित्थ्यौं ।'
प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:३५

















तपाईंको प्रतिकृया