दूरसञ्चारको सेयरले घटायो परिसूचक
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २७ - दूरसञ्चार कम्पनीको सेयर मूल्य ३६ रुपैयाँले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । ११ दशमलव १ अंकको गिरावटपछि परिसूचक ४ सय ८९ दशमलव ६१ विन्दुमा झरेको छ ।
साताको पहिलो दिन आइतबार पनि दूरसञ्चार कम्पनीको सेयर मूल्य ३० रुपैयाँले घटेपछि बजार नकारात्मक भएको थियो । लगानीकर्ताको आन्दोलनपछि अघिल्लो साता सेयर बजार खुल्दा दूरसञ्चार कम्पनीको सेयर मूल्य एक्कासि वृद्धि हुन सुरु गरेको थियो । फागुन १७ गते कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले बढेको थियो । त्यसपछिका कारोबार दिनमा क्रमशः १०, १५ र १८ रुपैयाँले सेयर मूल्य बढेको थियो ।
बुधबारको गिरावटपछि नेप्से परिसूचक ५ दिनपछि पुनः ५ सय अंकभन्दा तल झरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त समूहमा पनि गिरावट आएको छ । वाणिज्य बैंक ६ दशमलव ४९, विकास बैंक समूह ५ दशमलव २९ र वित्त समूह १ दशमलव ११ अंकले घटेका छन् । जलविद्युत् समूहमा भने वृद्धि देखिएको छ । यो २ दशमलव ६९ अंकले बढेको छ ।
दुई कम्पनीका सेयरधनीले मात्र बुधबार कमाएका छन् । चिलिमे हाइड्रोपावर र सनराइज बैंकका सेयरधनी नाफामा गएका हुन् । दूरसञ्चार कम्पनी, रिलायबल फाइनान्स, भिबोर विकास बैंक, एभरेस्ट बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंकका सेयरधनीले धेरै गुमाएका छन् । कारोबार रकममा पनि गिरावट आएको छ । दिनभर २ करोड ६२ लाख रुपैयाँका सेयर खरिदबिक्री भएका थिए । धेरै रकमको कारोबार गर्ने कम्पनीमा बैंक अफ काठमान्डु परेको छ । यसले ३६ लाख ९८ हजार रुपैयाँको कारोबार गरेको थियो । यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड बैंक, चिलिमे हाइड्रोपावर, सनराइज बैंक र भिबोर विकास बैंकले पनि धेरै रकमको कारोबार गरेका छन् ।
प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:२१
















तपाईंको प्रतिकृया