होचिँदै छ धरहरा

(4 Votes)
शिला पाण्डे

११

काठमाडौ, फाल्गुन २७ - अरू मुलुकमा ३०/४० तला अग्ला गगनचुम्बी टावरबाट पर्यटकले दृश्यावोलकन गर्न पाए पनि नेपालीले भने सुन्धरास्थित सात तले धरहरामै चित्त बुझाउनुपरेको छ । तर निकट भविष्यमै उपत्यकावासीले त्योभन्दा अग्लो टावरबाट राजधानी नियाल्ने पाउने भएका छन् । आधुनिक प्रविधिमा रत्नपार्कमा बन्न लागेको गणतन्त्र स्तम्भ राजधानीलाई आकाशबाट वरिपरि नियाल्न चाहने र पर्यटकका लागि मुख्य गन्तव्य हुनेछ ।

चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको यो स्तम्भ ६२ देखि ७५ मिटरसम्मको उचाइको हुने सहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता पराग कायस्थले बताए । धरहराको उचाइ ६१ दशमलव ८७ मिटर (२ सय ३ फिट) छ ।

माथि चढ्न चाहनेका लागि विद्युतीय भर्‍याङ (लिफ्ट) र साधारण भर्‍याङ दुवैको व्यवस्था हुनेछ । स्तम्भको डिजाइनबारे मागिएको खुला प्रस्तावको मूल्यांकन भइरहेको विभागका प्रवक्ता कायस्थले जानकारी दिए । 'इन्जिनियर, आर्किटेक्ट कलाकारले प्रस्ताव गरेका ७ वटा डिजाइन प्राप्त भएका छन्,' उनले भने । स्तम्भ शिलान्यास गर्दा गत जेठ १५ गते प्रधानमन्त्री माधवकुमार नेपालले धरहराभन्दा अग्लो बनाउन सुझाव दिएपछि यो प्रक्रिया अघि बढेको हो ।

विभागका पूर्वमहानिर्देशक पदमबहादुर छेत्रीको अध्यक्षतामा गठित मूल्यांकन समितिले तीमध्ये एक उत्कृष्ट स्तम्भ डिजाइन छनोट भएपछि बाँकी प्रक्रिया थालिनेछ । छनोटपछि स्तम्भ निर्माणस्थलको माटो परीक्षण गरेर उचाइ तय गरिनेछ । ७५ फिटसम्म अग्लो बनाउन सकिने अनुमान उनीहरूको छ । 'छानिएको डिजाइनलाई भौतिक योजना तथा निर्माण मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट पनि स्वीकृत गर्छौं,' विभागअन्तर्गत यो योजना हेरिरहेका भवन निर्माण शाखा प्रमुख विनयचरण श्रेष्ठले भने, 'त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि उचाइका लागि लिखित अनुमति लिन बाँकी छ ।' जहाज आवतजावत गर्ने आकासे मार्गमा तोकिएभन्दा बढी उचाइका भवन बनाउन पाइँदैन ।

प्राधिकरणको मापदण्डअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि ४ किलोमिटरको दूरीसम्म ४५ मिटर अग्ला घर वा स्तम्भ बनाउन सकिन्छ । तर रत्नपार्कस्थित निर्माणस्थल विमानस्थलको धावन मार्गको सतहभन्दा ३० मिटर तल भएकाले ७५ मिटरसम्म अग्लो स्तम्भ बनाउन सकिने सम्भावना देखिएको श्रेष्ठले बताए । विभागका अनुसार प्राप्त भएका ढाँचा १ सय १० मिटरसम्मका छन् ।

डिजाइन छनोटपछि दुई महिनाभित्र स्तम्भको बोलपत्र आह्वान गरिने श्रेष्ठले बताए । रत्नपार्कमा भूमिगत पार्किङ सुविधा सहितको स्तम्भ पूरा हुन ४ वर्ष लाग्नेछ । स्तम्भको उचाइ ६२ मिटर राखी पार्किङ व्यवस्था समावेश गर्दाको कुल लागत ५० करोड रुपैयाँ अनुमान गरिएको छ । अर्को आर्थिक वर्षको बजेटमा यसलाई बहुवर्षीय योजनामा राख्ने तयारीसमेत भइरहेको छ ।  बजेटमा ४ करोड छुट्याइएको छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:३५

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।