बैंकमा निक्षेप बढ्न सकेन
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २७ - तीन महिनायता वाणिज्य बैंकहरूमा पैसा थपिन सकेको छैन । यसले पछिल्लो छ महिनादेखि देखापरेको खर्च गर्न योग्य रकम (तरलता) को अभाव कम नहुनुका साथै उद्योग व्यवसायमा लगानी पनि संकुचित भइरहेको छ ।
पुस महिनामा वाणिज्य बैंकहरूमा करिब ५ खर्ब ८० अर्ब रुपैयाँ जम्मा थियो । फागुन २१ गते पनि यो रकम नबढेको केन्द्रीय बैंकले जनाएको छ । 'माघमा केही घटेको निक्षेप फागुनमा पुसको बराबरीमा पुगेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो । माघमा करिब ४ अर्ब ७७ करोड रुपैयाँले बैंक निक्षेप घटेको थियो ।
बैंकहरूमा जम्मा हुने रकम र तिनले विभिन्न माध्यमबाट प्रवाह गर्ने रकमले अर्थतन्त्र चलायमान हुन्छ । बैंकमा जम्मा हुने रकम नबढेपछि खर्च गर्न योग्य रकम तरलताको अभावका कारण केन्द्रीय बैंकले पछिल्लो समयमा कर्जा प्रवाह पनि करिबकरिब बन्द छ । यसले अर्थतन्त्रलाई ठप्प बनाएको छ । 'राजनीतिक अन्योलका कारण सर्वसाधारण बैंकमा रकम जम्मा गर्न हिच्किचाएको हुनुपर्छ,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने । सेना समायोजनको किचलो र समयमा संविधान जारी हुने नहुने आशंकाले अन्योल बढेका कारण सर्वसाधारणले रकम घरैमा राखेको हुन सक्ने बैंकरहरूको अनुमान छ ।
यसबाहेक अत्यधिक आयात र रेमिट्यान्सको घट्दो वृद्धिदरले पनि बैंकहरूमा रकमको खाँचो भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार देश भित्रिनेभन्दा १९ अर्ब ६० करोड रुपैयाँ बढी बाहिरिएको छ । 'यसले पनि रकम अभाव भएको हो,' स्रोतले भन्यो ।
'माघमा घटेर फेरि बढ्नु केही सुधारको संकेत मान्न सकिन्छ,' स्रोतले भन्यो । अर्थतन्त्र चलायमान रहन करिब निक्षेपमा २० प्रतिशतसम्मको वृद्धि आवश्यक रहन्छ । निक्षेप नबढ्नु तर कर्जा बढ्दै जानु अर्थतन्त्रका लागि थप कठिन अवस्था हो । पुसमा करिब ३ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह भने ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । 'माघ र फागुनमा भने कर्जा प्रवाह बढेको छैन,' स्रोतले भन्यो । केन्द्रीय बैंकले अप्रत्यक्ष रूपमा कर्जा प्रवाहलाई नियमित गर्न निर्देशन दिएपछि बैंकहरूले ब्याजदर बढाउनुका साथै ऋण तिर्न ताकेता गरिरहेका छन् ।
हालै नेपालको वित्तीय अवस्था निरीक्षण गरी फर्केको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले बचतमा ब्याजदर बढाउन सुझाव दिएको थियो । 'कर्जा र निक्षेप दुवैको ब्याजदर बढाएर आर्थिक स्थायित्वको सुझाव मिसनले दिएको हो,' राष्ट्र बैंकका एक अर्का अधिकारीले भने ।
सर्वसाधारण र संस्थाहरूबाट रकम बैंकमा जान कम भएपछि केन्द्रीय बैंक आफैले बजारमा रकम प्रवाह गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रहरू धितो राखी रिपोमार्फत रकम लिएका छन् । झन्डै २४ अर्ब रुपैयाँ रिपोमार्फत बजारमा गएको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:१५
















तपाईंको प्रतिकृया