ओछ्यानमै भेटघाट
काठमाडौ, फाल्गुन २६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यलाई लिएर बुधबार दिनभर अनेकखाले हल्ला चले । कांग्रेस केन्द्रीय समितिको बिहान नौ बजे सुरु हुने भनिएको बैठक अचानक स्थगन भएपछि त्यसलाई जोडेर सञ्चारमाध्यमबाट समेत कोइरालाको अवस्था गम्भीर भएको समाचार सम्प्रेषण भयो । कतिपय कांग्रेस नेताहरू फोनबाट पाएको जानकारीलाई विश्वास नमानी निवासमै पुगेर फर्किएका थिए । कोइरालाको अवस्थाबारे जानकारी लिन सञ्चारकर्मीहरूको भीड दिउँसैदेखि लागेको थियो । टेलिफोनबाट कोइरालाको अवस्था जानकारी गराउँदा सहयोगीहरूसमेत हैरान भएका थिए ।
अपराह्न ३ बजे सहयोगी शेखर थापाले 'अनेक हल्ला फिँजिएको' भन्दै निवासमा भेला भएका सञ्चारकर्मीमध्येबाट एकजना टेलिभिजन क्यामरा म्यान र एकजना फोटो पत्रकारलाई कोइरालाको कक्षमा प्रवेश दिने बताए । राष्ट्रसंघका उपमहासचिव वी लिन पास्को त्यति नै बेला कोइरालालाई भेट्न त्यहाँ आइपुगेका थिए । त्यही मेसोमा दुई पत्रकार कोइराला कक्षमा पुगेपछि उनको पछिल्लो अवस्थाबारे आम सर्वसाधारणलाई जानकारी मिलेको थियो ।
कालो जुवारीकोट र सेतो लबेदा सुरुवाल लगाएका कोइराला ओछ्यानबाट उठेर बोलेका थिए । उनको मुखमा अक्सिजन पाइप थियो । केही दिनयता फोक्सोमा समस्या बढेपछि उनलाई चौबीसै घन्टा अक्सिजन दिइँदै आएको छ । कोइरालाले करिब ७ मिनेट राष्ट्रसंघका उपमहासचिव वी लिन पास्कोसँग कुराकानी गरे । कुराकानीमा उनी पहिलाजस्तै हातको हाउभाउमा देखिएका थिए । उनले आफ्नो स्वास्थ्य कमजोर हँुदै गएको बताएका थिए ।
पास्कोसँगको भेटमा पनि कोइरालाले सहमति, सहकार्य र एकतामै जोड दिएका थिए । सुरुमा पास्कोले स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि कोइरालाले करिब सात मिनेट कुराकानी गर्न सके । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार कोइरालाले पास्कोको टोलीसँग दिगो शान्ति र स्थायित्वका लागि समयमै संविधान बन्नुपर्नेमा जोड दिएका थिए ।
'मेरो जीवनको अन्तिम अवस्थाको चाहना पनि यही हो, संयन्त्र गठन गरेर सबै दललाई सहमतिमा ल्याउने प्रयास गरिराखेको छु । बिरामी भए पनि सहमति जुटाउने प्रयासबाट म थाकेको छैन,' कोइरालालाई उद्धृत गर्दै सिटौलाले भने, 'मैले नसके पनि मेरो प्रतिनिधित्व साथीहरूले गरिराख्नुभएको छ ।' कोइरालाले आफ्नै पार्टीका नेता, अन्य दल, सरकारसँग पनि भेटेर सहयोग गर्न सुझाव दिएका थिए ।
त्यसपछि पास्को टोलीले कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला र सिटौलासँग कुराकानी गरेका थिए ।
कोइरालाले पास्को टोलीसँग बाहेक बुधबार अन्यसँग कुराकानी गरेनन् । कांग्रेस नेताहरू कोइरालालाई भेट्न बिहानैदेखि निवास पुगेका थिए । तर चिकित्सकको परामर्शअनुसार उनले कसैसित बोलेनन् ।
कांग्रेस केन्द्रीय समिति बैठकसमेत कोइरालाको स्वास्थ्य बिगि्रएको र भारत लैजाने तयारी भइरहेको भन्दै स्थगन गरिएको थियो । भारत लैजान बिहान ११ बजे एयरएम्बुलेन्स बोलाउने तयारीसमेत भएको थियो । तर कोइरालाले दुई/चार दिन पर्खन भनेपछि भारत जाने कार्यक्रम स्थगन भएको हो । उपचारका लागि भारत लैजाने तयारी भए पनि 'गिरिजाबाबुले नै दुई/चार दिन पर्खन' भनेकाले नलगेको सिटौलाले बताए ।
यसैबीच कोइरालाकी छोरी एवं परराष्ट्रमन्त्री सुजाता एक दिन भ्रमण छोट्टयाएर बिहीबार विदेशबाट र्फकंदै छिन् । उनी फर्किएपछि भारत लैजानेबारे कुराकानी भइरहेको छ ।
कोइरालाको स्वास्थ्यस्थितिलाई लिएर देश विदेशबाट समेत चिन्ता व्यक्त गरिएको थियो । इ कान्तिपुरलाई प्राप्त झन्डै सय इमेलमा कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्यलाभको कामना गरिएको थियो । 'कोइरालाको नेतृत्व मुलुकका लागि अझै आवश्यक छ,' अधिवक्ताहरू रवीन केसी, लक्ष्मण बस्याल र निर्भराज पौडेलले संयुक्त रूपमा आफ्नो प्रतिक्रिया दिएका छन्, 'कोइरालाको स्वास्थ्यस्थितिबाट हामी सबैलाई चिन्तित बनाएको छ ।'
प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:३९

















तपाईंको प्रतिकृया