कोइरालाको स्वास्थ्य स्थिर बाहिर लानु नपर्ने चिकित्सकको सल्लाह
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिर रहेको र तत्काल उनलाई उपचारका लागि विदेश लानुपर्ने अवस्था नभएको चिकित्सकहरूले जनाएका छन् ।
'उनको स्वास्थ्य स्थिर छ,' डा. अर्जुन कार्कीले बुधबार साँझ कान्तिपुरसँग भने, 'हाल उनलाई उपचारका लागि बाहिर लिएर जाने कुनै आवश्यकता छैन ।'
कोइरालाको उपचारमा प्रा. डा. जगदीशप्रसाद अग्रवाल, डा. मनबहादुर के.सी. र डा. कार्की संलग्न छन् । उनीहरूले बुधबार पनि कोइरालाको स्वास्थ्य परीक्षण गरी विस्तृत जानकारी लिएका थिए ।
चिकित्सकले बाहिर जानुपर्ने आवश्यकता नभएको बताए पनि कोइराला परिवार भने विदेश लैजान तम्तयार रहेको स्रोतले जनायो । विदेश लैजाने/नलैजाने निर्णय कोइरालाकी छोरी उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला स्वदेश फर्केपछि गरिने स्रोतले जनायो ।
'कोइरालाले आफू उपचारका लागि विदेश जाने पक्षमा नरहेको चिकित्सकहरूलाई बताइसक्नुभएको छ,' स्रोतले भन्यो, 'उहाँ आफ्नै देशमा उपचार गर्ने मनस्थितिमा हुनुहुन्छ ।'
पाको उमेर, फोक्सोको संक्रमणलगायत कारणले स्वास्थ्य नाजुक बने पनि दृढ इच्छा शक्तिका कारण तीन वर्षयता उनले पटकपटक यस्ता जटिल परिस्थितिलाई जित्दै आएको एक चिकित्सकले जनाए ।
कोइराला करिब ४ महिनाअघि मात्र सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टरमा उपचार गराएर फर्केका हुन् ।
८६ वर्षे कोइरालाको फोक्सो धूमपानका कारण नराम्रो अवस्थामा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।
क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज' -सीओपीडी) को जटिलताले गर्दा उनलाई हाल अक्सिजन छाड्नै नमिल्ने भएको छ । यो समस्यामा श्वासप्रश्वास बाधित हुन्छ । सीओपीडीका कारण फोक्सामा परेको असर निको पार्न सकिँदैन ।
चिकित्सकहरूले कोइरालालाई धूमपान नगर्न, बढी तरल पदार्थ सेवन गर्न र तनावमा नरहन सल्लाह दिँदै आएका थिए । चिकित्सकको परामर्शमा कोइरालाले इनहेलर, स्टेराइड, अक्सिजन थेरापी र एन्टिबायोटिक लिँदै आएका छन् । जनआन्दोलनताका दमलगायत समस्याले निकै च्यापेपछि कोइरालाले तीन वर्षयता चुरोट छाडेका छन् । एक वर्षअघि उनले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:३४
















तपाईंको प्रतिकृया