हराएकी बहिनी प्रहरीले खोजतलास नगर्दा आत्माहत्या
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २६ - हराएकी बहिनी खोजी गर्न प्रहरीले चासो नदिएपछि बिरक्तिएका एक युवकले बुधवार आत्महत्या गरेका छन । ती बहिनी बुधवार साँझसम्म भेटिएकी छैनन । आत्महत्या गर्ने युवक त्रिभुवन विश्व विद्यालयमा अग्रेजी विषयमा एमए दोस्रो वर्षमा अध्ययन गरिरहेका २४ वषिर्य महेन्द्र राई हुन् । उनी किर्तिपुर बाघभैरवमा बहिनीसहित डेरा गरी बस्थे ।
बहिनी खोजी गर्ने कार्यमा हनुमानढोकास्थित महानगरिय अपराध महाशाखाले वास्ता नगरेपछि उनले मंगलबार राती किर्तिपुरस्थित विश्व विद्यालयको बिज्ञान भवन नजिकै गलबन्दीले पासो लगाई आत्माहत्या गरेका थिए । चौध वषिर्य बहिनी किर्तिपुर बाघ भैरवस्थित सरकारी स्कूल विश्व राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा आठमा पढि्थन् ।
२२ गते शनिवार दिउसो साढे एघार बजे स्कूल जान्छु भनेर डेराबाट हिडेकी मृतककी बहिनी हालसम्म फेला परेकी छैनन् । मृतक राईले आत्माहत्या गर्नुअघि किर्तिपुर प्रहरीलाई २३ गते बहिनी हराएको विवरण, हुलिया र तस्वीर सहितको जाहेरी दिएका थिए । 'राईको उजुरीकै आधारमा हामीले माथिल्लो निकायलाई घटनाको लिखित र मौखिक जानकारी गराएका थियौ' किर्तिपुर प्रहरी चौकीका प्रहरी निरिक्षक बिनोद खरेलले भने, 'हाम्रो प्रक्रिया ढिलाई हुने भएकाले प्रारम्भिक खोजतलासपछि टेलिफोनका विवरणका आधारमा खोजी गर्न पिडीतलाई पत्र दिएर हामीले अपराध महाशाखा पठाएका थियौ ।'
मृतक राईले बहिनीको खोजी कार्यमा किर्तिपुर प्रहरी र अपराध महाशाखा दुवै स्थानबाट आफूले चित्तबुझो सहयोग नपाएको गुनासो मृतक राईले उनका आफन्त एक डिएसपी रामचन्द्र राईलाई समेत गरेको थाहा भएको छ । राई हाल राजधानीकै अन्तराष्ट्रिय बिमानस्थलमा कार्यरत् छन् ।
घटनाको मुख्य अनुसन्धान गर्ने अपराध महाशाखाले खोजीका लागि कुनै वास्ता नगरेको राईको सबैभन्दा ठूलो गुनासो थियो । राई बिहान १० बजे किर्तिपुर प्रहरीको पत्र लिएर अपराध महाशाखा पुगेका थिए । पत्र बुझाएर दिनभरी नै कोठाहरु बीचमा रहेका लवीको कुर्सीमा बसेका राईलाई कसैले वास्ता नगरेपछि उनी निराश भएर फर्केका थिए ।
उनले हनुमानढोकाबाट र्फकने क्रमममा प्रहरीले बहिनीको खोजीका लागि कुनै वास्ता नगरेको भन्दै शान्तिनगरस्थित कान्तिपुर कार्यालयका पत्रकार र उनका आफन्तलाई गुनासो गरेका थिए ।
अपराध महाशाखाले भने अपहरणको गुनासो लिएर त्यस्तो व्यक्ति आफनो कार्यालयमा नआएको दावी गरेको छ ।
'मैले सबैलाई बुझें, ती व्याक्ति कार्यालमा आएर पत्र बुझाएर खोजीका लागि आग्रह गरेको देखिएन' अपराध महाशाखाका प्रमख रणबहादुर चन्दले भने ।
जानकारहरुका अनुसार कसैले माथिल्लो निकायबाट आदेश दिएमा वा प्रभावशाली व्यक्ति भएमा मात्रै प्रहरीले अपहरण फिरौती जस्ता घटनाको तत्काल अनुसन्धान गर्ने गर्छन । अन्यथा सामान्य उजुरीकर्ताहरु हनुमानढोकामा पत्रलिएर कयौ घन्टा हिडेपनि कसैले वास्ता गर्ने प्रचलन छैन ।
मृतक राई भोजपुर क्याम्पसबाट प्रथम श्रेणीमा स्नातक पास गरी 'स्ट्याफेन' प्राप्त गरेका विद्यार्थी थिए । उनी अति कमजोर आर्थिक स्थितिका बाबजूद बहिनीलाई सरकारी स्कूलमा पढाउदै आफूपनि त्रिविविमा पढदै थिए । राई भोजपुरको तिम्मा गाबिस-६ थँूगे स्थायी निवासी हुन । उनको पिता गाउँमै छन । पिताले सौतेनी आमा ल्याएपछि आमासंगै छुट्टै बस्दै आएका थिए । आमाको पनि बुबासंगको बिछोडपछि असमायिक निधन भएपछि भाइ, बहिनीको पठनपाठनदेखि घरव्यवहार राईले धान्दै आएका थिए ।
शिक्षण अस्पतालमा राखिएको राईको शवको बुधवारै पोष्टमार्टम गरिएको छ । मृतक राई निकटका अनुसार भोजपुरस्थित गाउँबाट ठूली बहिनी आएपछि शुक्रवार दाहसंस्कार गरिने भएको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०९:५७
















तपाईंको प्रतिकृया