उपप्रधानमन्त्री गच्छेदार भेटघाटमा व्यस्त
सहयोगी लिङ्कहरू
नयाँ दिल्ली, फाल्गुन २६ - भ्रमणमा रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बुधबार भारतीय सभामुख मीरा कुमार र प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटेका छन् । गच्छदारले कुमारलाई संसदमा र मेननलाई नजिकैको प्रधानमन्त्री कार्यालयमा गएर भेटेका थिए ।
दुबै भेटमा उनले 'दुई देशबीचको सम्बन्ध', 'नेपालको शान्ति प्रकृया, संविधान लेखन' जस्ता विषयमा कुरा भएको बताए । 'दुई देशलाई चासो हुने सुरक्षाका विषयमा पनि कुरा भयो,' मेननसँगको भेटबारे गच्छदारले बताए । पाँच दिने भ्रमणमा मंगलवार दिल्ली आएका गच्छदारले भारत बसाईमा यहाँका केही मन्त्री र राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने बताए ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारको उपप्रधानमन्त्री पद सम्हालेपछिको पहिलो भारत भ्रमण हो । उनले आफ्नो लागि 'निजी, राजनीतिक र सदभावनापूर्ण' भ्रमण भएको बताए । भारतीय राजनीतिक पार्टीहरुसँग आफ्नो पार्टीको सम्बन्ध स्थापना गराउनु पनि भ्रमणको उद्देश्य भएको उनले प्रष्ट्याए ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणमा आएका गच्छदारले सरकारले अनमिनको विरोध गर्नु पछाडि भारतीय स्वार्थ लुकेको भन्ने माओवादी अध्यक्षको आरोपको खन्डन गरे । 'त्यसमा भारतीय चासो हुनुपर्ने आवश्यकता छैन,' उनले भने, 'त्यो नेपाल सरकारको चासोको कुरा हो । क्यान्टोनमेन्टमा को को छन्, त्यसको विवरण सरकारले मागेको हो । आफूले कसलाई तलव दिदैछु भन्ने सरकारले थाहा पाउन नहुने ? अनमिनले नेपाल सरकार समक्षा विवरण लुकाउन खोजेर के गरेको ?'
यसैबीच, युरोप भ्रमणमा रहेकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला विहीवार विहान दुईघन्टा दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घन्टा ट्रान्जिट हुदै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०८:४५
















तपाईंको प्रतिकृया