प्रधानमन्त्रीद्वारा अनमिनसम्बन्धमा असन्तुष्टी व्यक्त/म आशावादी छुः पास्को

(0 Votes)
फणिन्द्र दाहाल

काठमाडौ, फाल्गुन २६ - प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रकृयामा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले असहयोग गरेको बताएका छन् । उनले नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोसंगको भेटका क्रममा बुधबार अनमिनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री नेपालले हालै माओवादी लडाकुको विवरण माग गर्दा नदिएको सन्दर्भ उल्लेख गर्दै असहयोग भएको गुनासो गरेका हुन् ।

प्रधानमन्त्रीले माओवादी लडाकुहरुको भरणपोषण र भत्ता सरकारले उपलब्ध गराइरहेको उल्लेख गर्दै उनीहरुको बारेमा विवरण उपलब्ध गराउनु पर्ने बताएका थिए ।  'प्रधानमन्त्रीज्यूले लडाकुहरुको परिचयपत्र पुरानो भएको, बारकोड मेटिएकोलगायतका समस्याका बारेमा उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न पनि विवरण चाहिएको बताउनुभयोे' भट्टराईले भने ।

उप-महासचिव पास्कोले उक्त विवरण उपलब्ध गराउने आशय व्यक्त गरेको उनले दावी गरे । यसअघि अनमिन प्रमुख लेनग्रेनले पनि प्रधानमन्त्रीसंगको भेटमा विवरण उपलब्ध गराउने आशय व्यक्त गरेकी थिइन् । त्यसअघि शान्ति मन्त्री रकम चेम्जोङसंग भने उनले विवरण गोप्य हुने बताएकी थिइन् ।

राष्ट्रसंघको प्रमाणिकरणमा परेका १९ हजार ६ सय २ माओवादी लडाकु मध्ये करिव ४० प्रतिशतले शिविर छाडेको आशंकामा सरकारले विवरण माग गरेको हो । सरकारले शिविरमा नरहेका लडाकुहरुको पनि रकम लिएर माओवादीले दुरुपयोग गरेकेा आशंका गरेको छ ।

साथै प्रधानमन्त्रीले पास्कोसंगको भेटमा तोकिएकै समयभित्र नयाँ संविधान बनाउन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन २५ दल सहमत रहेको उल्लेख गरेका थिए । साथै माओवादी लडाकुको व्यवस्थापनका ६० दिनमा गर्ने कार्ययोजना बनाएको पनि उल्लेख गरेका थिए । भेटवार्ता करिव ४५ मिनेट भएको थियो ।

उपमहासचिव पास्कोले भने काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री नेपालसंगको भेटपछि आफु समयमै संविधान निर्माण हुने र शान्ति प्रकृयाले उचित निकास पाउने कुरामा आशावादी रहेको बताए । भेटमा क्रममा अनमिन प्रमुख लेनग्रेन र स्यामुल टाम्रट थिए ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०८:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।