प्रधानमन्त्रीलाई राजीनामा बुझाए गृह राज्यमन्त्रीले
सहयोगी लिङ्कहरू
काठमाडौं, फाल्गुन २६ - गृह राज्यमन्त्री रिजवान अन्सारीले बुधबार साँझ प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा बुझाएका छन् । यसअघि दिउँसो चार बजेपछि उनले प्रधानमन्त्री कार्यालय राजीनामा पठाएका थिए ।
अन्सारीले सञ्चार उद्यमीहरु जमिम शाह र अरुण सिंघानियको हत्या तथा विग्रिएको शान्ति सुरक्षाको अवस्थाको नैतिक जिम्मेवारी लिंदै राजीनामा दिएको प्रतिक्रिया दिए । 'शान्ति सुरक्षा विग्रिएकोमा नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको हुँ, टुलुटुलु हेरेर बस्न सकिनँ' राजीनामा दिएपछि साँझ पौने सात बजे संवाददाताहरुसंग उनले भने, 'मलाई अहिले आत्मसन्तुष्टि मिलेको छ ।'
राज्यमन्त्री अन्सारीले गृहमन्त्री भीम रावलका कारण शान्ति सुरक्षा विग्रेको दोहोर्याए । 'गृहमन्त्रीको गलत कार्यशैलीका कारण शान्ति सुरक्षाको अवस्था विग्रिएको हो, सुरक्षा सुधार्न म उहाँ (गृहमन्त्री रावल) लाई शुभकामना दिन्छु' उनले भने ।
राजीनामा दिएपछि प्रधानमन्त्री नेपालले छिट्टै स्वीकृति हुनेसमेत उल्लेख गरेको बताए । मंगलबार प्रधानमन्त्री नेपालले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएका थिए । जनकपुरका उद्यमी सिंघानियको हत्यापछि अन्सारीले सार्वजनिक रुपमै गृहमन्त्रीको अलोचना गरेका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०७:४४
















तपाईंको प्रतिकृया