राजनीतिक दल दर्ता किताब सार्वजनिक

(0 Votes)

काठमाडौ, फाल्गुन २६ - निर्वाचन आयोगले चाहेको समयमा दलको विवरण तुरून्त प्राप्त गर्न, लामो समयसम्म संरक्षित राखिराख्न र राजनीतिक दलहरूको विवरण भर्न सजिलो बनाउने उद्देश्यले राजनीतिक दल दर्ता किताब बुधबार सार्वजनिक गरेको छ ।

बहुदलीय प्रजातान्त्रिक मुलुकको शासन व्यवस्था सञ्चालनमा राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहने भएकाले सो किताब प्रकाशन गरिएको आयोगका प्रवक्ता राजेन्द्र शर्माले बताए ।

उनले विगतमा राजनीतिक दलहरूको दर्ता गर्ने कार्य निर्वाचन आयोगको एक प्रमुख कार्य भएकाले पनि दर्ता प्रणालीलाई व्यवस्थित गरी दलहरूको स्पष्ट अभिलेख राख्ने प्रयास भएकाले निर्वाचन आयोगले दल दर्ता अभिलेखलाई अझ व्यवस्थित गरी चीरकालसम्म सुरक्षित राख्ने उद्देश्यले स्वदेशी कागजको प्रयोग गरी नयाँ दल दर्ता किताबको व्यवस्था गरेको बताए ।

सुशासन, पारदर्शिता र जनअधिकार लोकतान्त्रिक शासनप्रणालीका गहना भएकाले यसलाई मनन् गर्दै निर्वाचन आयोगले सबै राजनीतिक दलहरूको विवरण पारदर्शीरूपले अभिलेखीकरण गर्ने भएको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

सार्वजनिक गरिएको दल दर्ता किताबमा सबै राजनीतिक दलहरूको स्थापना कालदेखि हालसम्मका सबै महत्वपूर्ण विवरणहरू अभिलेखीकरण हुने र दल दर्ताको अभिलेख राख्ने सम्बन्धमा २०६४ सालको संविधानसभा निर्वाचनमा दर्ता भएको दर्ताक्रमलाई आधार मानेर अभिलेखीकरण गरिने व्यवस्था उल्लेख छ ।

किताब आफैमा एउटा सङ्ग्रहालय बन्ने र सम्पूर्ण राजनीतिक दलहरूको विवरणलाई सदा जीवन्त राख्न मद्दत पुर्‍याउने लक्ष्य राखिएको छ । यसका साथै निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयहरूमा समेत दर्ता किताब व्यवस्था गर्दैछ ।

कितावका पानाहरू लोक्ताबाट बनेको नेपाली कागजद्वारा बनाइएको छ । दुई हजार एक सय पृष्ठ सङ्ख्या रहेको किताबको तौल करिव ४२ के.जी. रहेको जनाइएको छ ।

दल दर्ताको अभिलेख राख्ने सम्बन्धमा प्रस्तुत किताब एउटा इतिहास बन्ने र भविष्यमा यसले दलहरूसँग सम्बन्धित सबै विवरणलाई समेटी सुरक्षित राख्नुका साथै यसप्रति चासो राख्ने इतिहासकार, शोधकर्ता, विद्यार्थी एवम् जिज्ञासुलाई पनि सहयोग पुर्‍याउने अपेक्षा आयोगले लिएको छ । रासस

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०६:४५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।