लडाकु संख्याबारे राष्ट्रसंघको चासो

(1 Vote)

काठमाडौं, फाल्गुन २६ - संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उप-महासचिव बी लिन पास्कोले शिविरमा रहेका लडाकुको संख्याबारे चासो लिएका छन् । तीन दिने भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आएका पास्कोले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर लडाकुको संख्याबारे चासो लिएका हुन् ।

भेटमा पास्कोले दाहाललाई सरकारले भनेझैँ शिविरमा लडाकु छन्/छैनन्, माओवादी शान्ति प्रक्रियाप्रति प्रतिवद्ध छ/छैन भनी जिज्ञासा राखेका थिए । जवाफमा दाहालले माओवादी शान्ति प्रक्रियाप्रति पूर्ण प्रतिवद्ध रहेको दोहोर्‍याँदै यसमा शंका नगर्न आग्रह गरे । दाहालले प्रधानमन्त्रीदेखि सरकार बरिष्ठ मन्त्रीहरुले नै सम्झौताविपरित अभिव्यक्ति दिएर शान्ति प्रक्रिया भाँड्न षड्यन्त्र सुरु गरेको जानकारी दिएका थिए । पास्कोसँग दाहालले आफ्नै निवासमा झण्डै एक घण्टा कुरा गरेका थिए । 

कोइराला 'किङ अफ दी पीस प्रोसेस्'

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई 'किङ अफ दी पीस प्रोसेस्' (शान्ति प्रक्रियाका नेता) भनेका छन् । तीन दिने भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आएका उनले कोइरालालाई भेटिसकेपछि यस्तो बताएका हुन् ।

पास्को कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न सीधै महाराजगन्ज पुगेका थिए । ओछ्यानमै रहेका कोइराला र पास्कोबीच झण्डै ७ मिनेट कुराकानी भएको थियो । 'नेपालमा सुरु भएको शान्ति प्रक्रियाको नतिजा छिट्टै निस्कने विश्वास लिएको छु,' भेटपछि पास्कोले भने । भेटमा कोइरालाका साथ कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामशरण महत, कृष्णप्रसाद सिटौला र शेखर कोइराला पनि साथै थिए ।

भेटमा कोइरालाले आफूले शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । 'माओवादीले शान्ति सम्झौतालाई पालना गरेको छैन,' भेटपछि सिटौलाले पत्रकारहरुसित भने, 'शान्ति प्रक्रिया सफल पार्न माओवादीको इमान्दारिता जरुरी छ ।' माओवादी अध्यक्ष पुष्पकमल दाहालको शक्तिखोर भिडियो प्रकरणपछि शंका उब्जिएको उनले बताए ।

नेपालको शान्ति प्रक्रिया संवेदनशील

तीन दिने भ्रमणका लागि बुधबार दिउँसो पौने तीन बजे काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उप-महासचिव बी लिन पास्कोले नेपालको शान्ति प्रक्रिया संवेदनशील अवस्थमा पुगेको बताएका छन् ।

'नेपालको शान्तिप्रक्रिया संवेदनशील अवस्थामा पुगेको मैले पाएको छु,' त्रिभूवन विमानस्थलमा पत्रकारहरुसित पास्कोले भने, 'यसै बिषयमा म यहाँका राजनीतिक दल तथा सेनाका अधिकारीहरुसँग छलफल गर्छु ।' उनले नेपालको शान्तिप्रक्रियामा राष्ट्रसंघीय शान्ति मिसन अनमिनले सहयोग गरिरहेको बताए । अनमिन र सरकारसँगको सम्बन्ध चिसिएको बेला पास्कोको सुरु भएको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उप-महासचिव पास्कोले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने दायित्व राष्ट्रसंघको पनि रहेकाले आफ्नो भ्रमण त्यसैका लागि केन्द्रित हुने बताए । 'म सवैलाई भेटिसकेपछि आफ्नो धारणा सार्वजनिक गर्छु,' उनले भने ।

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०५:३२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।