योगेशको पहिलो ह्याटि्रक

(0 Votes)

काठमाडौ, फाल्गुन २६ - योगेश श्रेष्ठले सहिद स्मारक 'ए' डिभिजन लिगमा पहिलो ह्याटि्रक गरेपछि जावलाखेलले एपीएफलाई मंगलबार ३-० ले हराएको छ । पहिलो जितसँगै जावलाखेल चार अंकसहित तीन स्थान फडको मार्दै रेलिगेसन क्षेत्र छाडेर नवौं स्थानमा उक्लियो ।

यसअघि पहिलो खेलमा मच्छिन्द्रले बलियो आरसीटीमाथि २-१ को जित रच्यो । दुई-दुई जित र बराबर तथा एक हारको नतिजापछि आठ अंक जोडेर मच्छिन्द्र दुई स्थान माथि पाँचौंमा उक्लियो ।

'स्वाभाविक खेल खेल्न सकेनौं,' मच्छिन्द्रका प्रशिक्षक ध्रुव केसीले भने, 'खेल जित्न गोल गर्नुपर्छ । गोल गर्‍यौं । भाग्यमानी रह्यौं र महत्त्वपूर्ण तीन अंक हात लाग्यो ।' दोस्रो हाफमा आरसीटीले एक गोल गरेपछि आफ्नो टिम दबाबमा परेको उनले स्वीकारे ।

चार मिनेटभित्र दुई गोल गरेको मच्छिन्द्रले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । रूपेश केसीले पास दिएको बललाई कर्ण लिम्बूले २३ औं मिनेटमा जाली चुमाएर गोलको खाता खोलेका थिए । त्यसको चार मिनेट बित्न नपाई नरेश केसीले गोल गरेर मच्छिन्द्रको अग्रता दोब्बर पारे । तीस यार्ड दूरीबाट उनले प्रहार गरेको बल गोलकिपर दिलीप क्षेत्रीले सही अनुमान गर्न नसकेपछि सीधै जाली चुम्न पुगेको थियो ।

आरसीटीका लागि सान्त्वना गोल ६९ औं मिनेटमा सब्स्िटच्युट सोरेश श्रेष्ठले गरे । २५ यार्ड दूरीबाट उनले प्रहार गरेको बल गोलपोस्टको खम्बामा लागेर गोलमा परिणत भएको थियो । बढी आत्मविश्वासी भएकाले हार खेप्नुपरेको आरसीटी व्यवस्थापक मधु कार्कीले बताए । 'सजिलै जित्ने सोचेका थियौं,' उनले थपे, 'पहिलो गोल आफ्नै गल्तीले भयो । अनपेक्षित रूपमा दोस्रो गोल खाएपछि दबाबमा पर्‍यौं । हामीले राम्रो खेल्न सकेनौं ।'

जावलाखेलको जितमा चोटका बाबजुद पनि ७३ मिनेट मैदानमा रहेका योगेश नायक रहे । उनले यो लिगको पहिलो ह्याटि्रक पूरा गर्ने क्रममा ३१, ५५ र ७२ औं मिनेटमा गोल गरेका थिए । सर्वाधिक गोलकर्ताको सूचीमा ४ गोलसहित उनी शीर्षस्थानमा उक्लेका छन् । एपीएफलाई दबाबमा राखेको जावलाखेलले गोलका थप चार अवसर चुकायो ।

'हाम्रो टिम नराम्रो होइन,' जावलाखेलका सहायक प्रशिक्षक राजाराम कार्कीले भने, 'यो हाम्रो उत्कृष्ट पुनरागमन हो ।' एक बराबरी र तीन हारपछि प्राप्त जितले रेलिगेसनको खतरासमेत टरेको उनले दाबी गरे ।

'अहिलेसम्मको सबैभन्दा बिर्सनलायक खेल्यौं,' एपीएफका प्रशिक्षक महेश्वर मुल्मीले भने, 'रेफ्रीले देखाएका कार्डले पनि खेल प्रभावित पार्‍यो ।' प्रकाश कार्कीलाई दोस्रो हाफमा ४ मिनेटको अन्तरमा दुई पहेंलो कार्ड देखाई रेफ्री सुदीश पाण्डेले मैदानबाहिर पठाएपछि एपीएफ चार मिनेटको इन्ज्युरी टाइमसहित पछिल्ला १६ मिनेट दस खेलाडीमा सीमित रह्यो । कुमार थापाले लगातार दुई खेलमा पहेंलो कार्ड बेहोरे । उनी बिना एपीएफले अर्को खेल खेल्नेछ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:२०

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।