रिचार्जकार्डमा ठगी/बढी मूल्य लिनेलाई कारबाही
काठमाडौ, फाल्गुन २६ - टेलिकमले उपभोक्ता ठगिएपछि तोकिएको मूल्यमै कमिसन समायोजन गरेर ल्याएको १ सय र २ सय रुपैयाँका नयाँ रिचार्जकार्डमा समेत खुद्रा बिक्रेताले थप रकम असुल्न छाडेका छैनन् । यसै सातादेखि बजारमा आएको रिचार्ज कार्डको बिक्री कमिसनसहित १ सय र २ सय रुपैयाँमै बेच्नुपर्नेमा व्यापारीले त्योभन्दा बढीमा बेच्ने गरेको पाइएको छ । कोटेश्वरका रमन शिवाकोटीले पनि बढी मूल्य तिरेर शनिबार रिचार्जकार्ड किने । २ सय रुपैयाँको कार्डलाई थप ५ रुपैयाँ तिर्न उनी बाध्य भए । 'हामीलाई नाफै हुँदैन भन्दै थप ५ रुपैयाँ लियो,' उनले भने, 'बाध्य भएर थप मूल्य तिरें ।'
पत्रपत्रिकामार्फत टेलिकमले १ सय र २ सय रुपैयाँमा पाइने रिचार्जकार्ड बजारमा ल्याएको जानकारी पाएका उनले ठगी अझै नरोकिएको बताए । उनले भने, 'पहिले २ सय ५ रुपैयाँ तिर्दा दुई सयको ब्यालेन्स हुन्थ्यो । अहिले त्यत्तिकै तिर्दा त्यति पनि हुँदैन, उल्टो ठगी बढ्यो ।'
बजारमा व्यापारीले एक सयको कार्डलाई १ सय ३ लिने गरेका छन् । धेरै लगानी भएकाले तोकिएको मूल्यमा कार्ड बेच्न नसक्ने उनीहरूको भनाइ छ । यसको जानकारी नेपाल टेलिकमले पनि पाइसकेको छ । यसअघि पसलेले ठगेपछि दिक्क भएर नयाँ रिचार्जकार्ड ल्याउँदा झन् ठगिएपछि कम्पनीले थोक तथा खुद्रा बिक्रेतालाई कारबाही गर्ने तयारी गरेको छ ।
'यसअघि १ सय २ रुपैयाँको कार्ड खुद्रा नभएको भन्दै १ सय ५ र २ सय ४ रुपैयाँको कार्ड २ सय ५ मा बिक्री गरेपछि ठगिएको गुनासो आएकाले यस्तो गरेका हौं,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, 'अहिले बजारमा आएको नयाँ कार्ड खुद्रा पैसा तिर्नुपर्ने नबनाएकाले अझै बढी लिइयो भने हामी कारबाही गर्छौं ।'
उनका अनुसार कम्पनी तोकिएको मूल्यमा मात्र किन्नका लागि ग्राहकलाई सकेसम्म धेरै सूचना दिने तयारीमा छ । अर्कोतर्फ व्यापारीले बढी मूल्य लिएको पाइए कानुनी कारबाही गर्ने तयारी पनि उसको छ । 'हाम्रो अनुगमन टोली छ,' उनले भने, 'त्यसले छिट्टै बजारमा अनुगमन सुरु गर्छ ।
यदि बढी लिएको पाइए कारबाही हुन्छ ।' टेलिकमले पहिलो चरणमा थोक बिकेतालाई तोकिएको मूल्यभन्दा बढी शुल्कमा कार्ड नबेच्न आग्रह गर्नेछ । 'उनीहरूले तोकिएको मूल्यमा बेच्दा पनि खुद्रा बिक्रेताले बढी लिएको पाइए कानुनी कारबाही हुन्छ,' उनले भने ।
कम ब्यालेन्स भएको कार्ड पहिलेकै मूल्यमा किन्नुपर्दा ग्राहक अझ घाटामा जाने भन्दै उनले थपे, 'टेलिकम अब चुप लागेर बस्ने छैन ।' यसअघि १ सयको कार्डलाई सरकारी स्वामित्व कर समावेश नगरेकाले २ प्रतिशत कर लाग्ने भन्दै १ सय २ रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै २ सयकोमा करसहित २ सय ४ निर्धारण गरिएको थियो । ५ सयको कार्डका ५ सय १० र १ हजारकोमा १ हजार २० रुपैयाँ निर्धारण गरिएको थियो । ५ सय र हजार रुपैयाँको कार्ड भने तोकिएकै मूल्यमा बजारमा उपलब्ध थियो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:०९

















तपाईंको प्रतिकृया