राजीनामा दिए गृहराज्यमन्त्रीले
सहयोगी लिङ्कहरू
काठमाडौं, फाल्गुन २६ - गृहराज्यमन्त्री मो. रिजवान अन्सारीले बुधबार दिउँसो आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल उदयपुरमा रहेकाले प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौड्यालसमक्ष अन्सारीको राजीनामा बुझाइएको हो । गृहराज्यमन्त्री अन्सारीको राजीनामा उनका स्वकीय सचिव किरण कार्कीले बुझाएका हुन् ।
अन्सारीलाई मंगलबार साँझ बालुवाटारस्थित सरकारी निवासमा बोलाएर राजीनामा दिइ सहयोग गर्न प्रधानमन्त्री नेपालले आग्रह गरेका थिए । गृहमन्त्री भीम रावलले शान्ति सुरक्षा कायम गर्न नसकेको र आफूलाई काम गर्नसमेत नदिएको अभिव्यक्ति अन्सारीले दिएपछि रिसाएका प्रधानमन्त्रीले गृहराज्यमन्त्रीलाई राजीनामा मागेको बुधबारको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।
विधिको शासन व्यवस्था र जनताले अपेक्षा गरेअनुसार शान्ति सुरक्षा कायम गर्ने वातावरण नपाएकोले राजीनामा दिएको अन्सारीले ईकान्तिपुरलाई बताए । उनले गत शनिबार विभागीय मन्त्रीप्रति असन्तुष्टि जनाउँदै मन्त्रीको रवैयमा परिवर्तन नआए १५ दिन भित्र राजीनामा गर्ने घोषणा गरेका थिए ।
'मन्त्रीको रवैयामा परिवर्तनको कुनै संकेत देखिएन, पदमा रहेरपनि काम गर्ने वातावरण भएन, उनले भने, 'लिखित रुपमा मलाई अधिकार दिएपनि व्यवहारिक रुपमा केही गर्ने स्थिति भएन ।' गृहमन्त्रीको गैर जिम्मेवार र गलत कार्य शैलीका कारण मुलुकको शान्ति सुरक्षाको स्थित बिग्रेको भन्दै उनले यस्तो अवस्थामा आफू पदमा बसिरहन नसक्ने बताए । गृहमन्त्रीको प्रत्यक्ष हस्तक्षेपमा केही महिना अगाडि गरिएको प्रहरी अधिकारीहरुको सरुवाले प्रहरीको इमान्दार तप्का निराश बनेको उनले आरोप लगाए ।
उनी वर्तमान सरकारमा एमालेबाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् । उनी संविधानसभा निर्वाचनमा सर्लाही २ बाट विजयी भएका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०६:५९
















तपाईंको प्रतिकृया