'ए’ डिभिजन लिग/पुलिसद्वारा तीव्र प्रतिस्पर्धाको सन्देश
काठमाडौ, फाल्गुन २५ - चोटग्रस्त खेलाडीको समस्याबाट गुजि्ररहेको पुलिसमाथि आइतबार कार्डको मार पनि आइपुगेको छ । सहिद स्मारक लिगमा पुलिसले खाएको पहेंलो कार्ड संख्या दस पुगेको छ र अब उसले नियमित अन्तरले प्रमुख खेलाडी प्रतिबन्धको आधारमा गुमाउनु पर्ने छ । तर पुलिसले एनआरटीलाई हराएर लिगमा तीव्र प्रतिस्पर्धा हुने सन्देश दिन भने सफल रह्यो । पुलिस आफै पनि उपाधिको होडमा सामेल रह्यो ।
उसको ११ अंक भएको छ र दोस्रोमा पुगेको छ । एनआरटी १० अंकमा सीमित रहँदै तेस्रोमा झर्यो । यसअघि दुई हारयता जितको ह्याटि्रकका लागि फ्रेन्ड्सले संकटालाई हरायो । यो जितले फ्रेन्ड्सलाई चौथो स्थानमा पुर्याएको छ । उसको नौ अंक छ । संकटा तीन अंकमा रेलिगेसन क्षेत्रको ठीक माथि रह्यो । विनोद लामाले अजर प्रधानको कर्नरमा शक्तिशाली हेड गर्दै पहिलो गोल गरे । खेलले ७१ मिनेट छुँदा रामकृष्ण जीसीले संकटाका लागि बराबरी गोल गरे ।
खेल सकिन दुई मिनेट अगाडि निरामन खड्काले विजयी गोल गरे । अब फ्रेन्ड्सको भेट पुलिससँग हुने छ । प्रशिक्षक मिश्रले अब आफ्नो लक्ष्य पुलिसलाई हराउनु रहेको बताए । पुलिसको चिन्ता फ्रेन्ड्सविरुद्धको दोहोरो पहेंलो कार्डका गोलरक्षक रितेश थापा र अलराउन्ड भूमिकामा खेलिरहेका रोविन श्रेष्ठको अनुपस्थिति हुने छ । पुलिसका तर्फबाट निर्णायक गोल भोला सिलवालले २७ औं मिनेटमा गरे ।
जुमनु राईको क्रस एनआरटी गोलरक्षक सुरेन्द्र श्रेष्ठको हातमा लागेर रिबाउन्ड भएको बलमा भोलाले गोल गरेका हुन् । जुमनुले क्रस अगाडि प्रतिद्वन्द्वी डिफेन्डर सागर थापालाई सजिलै बिट गरेको थियो र यसले गोलको स्थिति तयार भएको थियो । दुवै टिमले समान रूपमा आक्रमण रच्यो र खेल रोमाञ्चक रह्यो ।
फ्रेन्ड्स २-१ संकटा
पुलिस १-० एनआरटी
प्रकाशित मिति: २०६६ फाल्गुन २५ ०९:३३

















तपाईंको प्रतिकृया