जनविद्रोहको तयारी भन्दै माओवादी नेताहरु पुनः गाउँमा

(5 Votes)
काशीराम डाँगी

१८

रोल्पा, फाल्गुन २४ - तोकिएको अवधिभित्र नयाँ संविधान नबनेमा विद्रोह गर्ने भन्दै माओवादीले नेताहरुलाई गाउँ पठाएको छ ।

जनआन्दोलनको तयारी गर्न रोल्पाका माओवादी कार्यकर्ताहरु आन्तरिक प्रशिक्षणमा जुटेका छन् । अन्य दलहरुले संविधानलाई 'कागजी खोस्टो' मात्र मानेकाले आन्दोलनबाट चाहेको संविधान बनाउनु परेको माओवादीका स्थानीय नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार कार्यकर्ता प्रशिक्षणका लागि जिल्लास्तरका नेताहरु एक महिना यता गाउँ गाउँमा खटिएका छन् । 'नयाँ संविधान जनताले चाहेको जस्तो बन्ने अनिश्चित भएकाले पुनः जनविद्रोहका लागि तयारी गर्नु परेको हो' एक जिल्लास्तरीय नेताले ईकान्तिपुरसंग भने ।

जिल्लालाई राजनीतिक गतिविधिका हिसाबले वर्गीकरण गरेर मगरात राज्य समितिका पदाधिकारीहरु पनि कार्यकर्ता प्रशिक्षणमा जुटेका छन् । गाउँमा कार्यकर्ताका अतिरिक्त नेताहरुले जनतालाई पनि भेला गरेर वर्तमान राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिने गरेका छन् ।

राजनीतिक प्रशिक्षणका लागि माओवादीले ११ इलाका रहेको जिल्लालाई थप एरियामा विभाजन गरेको छ । युद्धकालमा झै माओवादीले जिल्लालाई करिब दुई दर्जन एरियामा विभाजन गरेर गतिविधि तिब्र पारेका हुन् ।

गाउँमा कार्यकर्तालाई प्रशिक्षण दिन जिल्लाका अगुवा पदाधिकारीहरुले आलोपालो गरेका छन् । गाउँबाट प्रशिक्षण सकेर जिल्ला सह-इन्चार्ज राजकुमार कक्षपति 'खण्डन' फर्किएका छन् भने इन्चार्ज मानबहादुर बुढामगर 'विकल्प' र सचिव चुढामणि वली 'आदर्श'लगायतका पदाधिकारी गाउँ पसेका छन् ।

सहइन्चार्ज कक्षपतिले कांग्रेस र एमालेलगायतका दलहरु जनताको संविधान बनाउन नदिने षडयन्त्रमा लागेको आरोप लगाए ।

'नयाँ संविधान बनाउन नचाहनेहरुलाई आन्दोलनबाट दवाव दिने तयारीमा छौं' उनले भने । कस्तो र कहिलेदेखि आन्दोलन गर्ने भन्ने कुराचाही उनीहरुले सार्वजसनक गरेका छैनन् ।

जिल्ला कमिटीका करिब अढाई सय पदाधिकारीहरु कुनै न कुनै हिसाबले राजनीतिक गतिविधिमा लागेको उनले बताए । रोल्पाबाट सुरु भएको जनयुद्धले अहिले विश्राम लिएको भएपनि आन्दोलनको मर्म पूरा हुन नसकेको यहाँका कार्यकर्ताको भनाई छ ।

पार्टी सरकारमा सहभागी भएपनि वास्तविक जनताको भावना सम्बोधन गर्न नसकिएको अधिकांश कार्यकर्ताले बताएका छन् । 'जनताको भावना हामीले हाम्रो पार्टीको नेतृत्व समक्ष पनि सुनाएका छौं' सहइन्चार्ज कक्षपतिले भर्खरै सकिएको खरिपाटी भेलाको संकेत गर्दै भने 'जनताको पक्षमा पार्टीले पनि काम नगरे सतर्क गराउछौं ।'

संविधानसभा निर्वाचन पछि लामो समय 'राजनीतिक सुनसान' रहेको रोल्पामा माओवादी स्थानीय नेताहरु पुनः गाउ पसेका हुन् । स्रोतका अनुसार युद्ध अवधिमा ठूलै भौतिक एवं मानवीय क्षति व्यहोरेको रोल्पाका कार्यकर्ताको भावना वेगर पार्टी जान थालेमा सच्याउन पनि कार्यकर्ताले दवाव दिने उनीहरुको भनाइ रहेको छ ।

'सत्तामा जाने वा नजाने जे गरेपनि सर्वहारा वर्गको हितका लागि नेताहरुले कार्य गरे वा नगरेको बारेमा स्वतन्त्र छानविन गर्नु पर्छ' अर्का एक जिल्ला सदस्यले भने, 'तल्ला तहका कार्यकर्ता र माथिल्ला कार्यकर्ता बीच विभेद नहोस् भन्ने हाम्रो धारणा छ ।'

माओवादी लडाकुलाई सरकार र अनमिनले 'अयोग्य' घोषणा गरी शिविर बाहिर निकालेकामा कतिपय माओवादी कार्यकर्ताहरु बेखुशी देखिएका छन् । हतियार व्यवस्थापन र सेना समायोजन भई नसकेकाले माओवादीले जनआन्दोलन गरेमा पुनः हतियार उठाउने हुन् कि भन्ने कतिपयले आशंका गरेका छन् । तर माओवादी कार्यकर्ताले अहिले नै हतियार आवश्यक नभएको धारणा राखेका छन् ।

शान्ति प्रक्रियापछि गाउँमा सहकारी, विकास निर्माण, व्यवसाय गरेर बसेका अधिकांश कार्यकर्ताहरुले गाउँघरमा लामो समयपछि पुनः राजनीतिक गतिविधि सुरु भएको बताएका छन् । यसलाई अन्य दलका कार्यकर्ता र नागरिक समाजले विशेष अर्थका साथ हेरेका छन् ।

 

 

प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०६:१५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।