दक्षिणपन्थीलाई नेपाली सेनाले साथ दिने छैनन्: दाहाल
'यो सरकार कुहिएको फर्सी हो, डुङडुङ्ती गन्हाइ रहेको छ । तर, झरि हालेको छैन' उनले भने, 'यो जतिवेला पनि र्झन सक्छ ।'
सहयोगी लिङ्कहरू
काठमाडौं, फाल्गुन २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेका दक्षिणपन्थीहरुलाई नेपाली सेनाले साथ नदिने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सेना रहेको उल्लेख गर्दै उसले परिवर्तनलाई साथ दिने बताए ।
'राजतन्त्रलाई बचाउन नलागेको नेपाली सेनाले आफूहरुलाई बचाउने छ भन्ने दक्षिणपन्थीहरुले सोच्छ भने त्यो भ्रम मात्र हो' अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित सभामा बोल्दै उनले भने, 'सेनाले परिवर्तनलाई आत्मसात गर्ने विश्वास मैले लिएको छु ।'
उनले नेपाली सेनाले परिवर्तित राजनीतिक परिस्थितिलाई स्वीकार गरेको उल्लेख गरे । उनले भने, 'सेनासँग हाम्रो कुनै दुश्मनी छैन । राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको सवालमा सेना गम्भीर हुने छ भन्ने मेरो विश्वास हो ।'
आफ्नो भाषणमा सेनाप्रति आक्रामक रहने माओवादी अध्यक्ष दाहालले पहिलो पटक सेनाले परिवर्तनलाई आत्मसात गरेको अभिव्यक्ति दिएका हुन् । उनले सेनाले 'षड्यन्त्रकारीहरु'लाई साथ नदिनेसमेत विश्वास व्यक्त गरे ।
दाहालले माओवादीले जनविद्रोह गरी सत्ता कब्जा गर्छ भन्ने भ्रम फिँजाएर शान्ति प्रकृया र संविधान निर्माण कार्यलाई भाँड्ने षड्यन्त्र भइरहेको उल्लेख गरे । 'हामी कदापी त्यस्तो हुन दिन्नौं' उनले भने, 'जेठ १४ भित्रै जनमुखी संविधान बन्नुपर्छ भन्ने कुरामा जोड दिन्छौं ।' शान्ति प्रकृया र संविधान निर्माणलाई भाँड्न कांग्रेस र एमाले भित्रका दक्षिणपन्थीहरु अँध्यारो कोठमा बसेर षड्यन्त्र गरिरहेको उनको दावी थियो ।
दाहालले सरकारलाई 'कुहेको फर्सी' सँग तुलना गरे । 'यो सरकार कुहिएको फर्सी हो, डुङडुङ्ती गन्हाइ रहेको छ । तर, झरि हालेको छैन' उनले भने, 'यो जतिवेला पनि र्झन सक्छ ।'
साथै उनले माओवादी नेतृत्वको राष्ट्रिय सरकार बनेपछि मात्र शान्ति प्रकृया र संविधान निर्माण निष्कर्षमा पुग्ने दाबी गरे ।
प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०५:१८
















तपाईंको प्रतिकृया