यू-१९ ब्याडमिन्टन नेपालगन्जमा
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २४ - दोस्रो यू-१९ राष्ट्रिय खुला ब्याडमिन्टन जेठको पहिलो साता नेपालगन्जमा हुने भएको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता जेठको ५ देखि ८ सम्म हुनेछ । पहिलो संस्करणको एक दशकपछि आयोजना हुने प्रतियोगितामा यू-१९ महिला र पुरुष स्पर्धा समावेश गरिएको छ । पुरुषतर्फ सिंगल्स र डबल्सका खेल हुनेछन् भने महिलातर्फ सिंगल्स मात्र राखिएको छ ।
प्रतियोगितालाई अझै आकर्षक बनाउन ४५ वर्षमाथिको भेट्रान स्पर्धा पनि समावेश गरिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ छ । 'प्रतियोगिताको अवधिसम्म यो रकम बढ्न सक्छ,' बाँके जिल्ला ब्याडमिन्टन संघका सचिव तथा संयोजक अनिल लाखेले भने । उनले प्रतियोगिताका लागि थप प्रायोजकको खोजी भइरहेको बताए ।
लाखेले प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, नेपाल ब्याडमिन्टन संघ, विभिन्न संघसंस्थाको सहयोग अपेक्षा गरिएको बताए । प्रतियोगिताको कुल लागत ६ लाख ७० हजार रहेको र यसलाई अब प्रत्येक वर्ष आयोजना गरिने जानकारी दिए ।
नेपाल ब्याडमिन्टन संघले पनि प्रतियोगिता सफल पार्न सहयोग गर्ने महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए । 'हामीले प्राविधिक सहयोग गर्नेछौं,' श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने । उनले थप प्रायोजक खोज्न संघले सहयोग गर्ने बताए । यसमा करिब सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले सहभागी खेलाडीलाई खाना र बस्ने सुविधा उपलब्ध गराउनेछ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०८:५५
















तपाईंको प्रतिकृया