सरकारलाई असहयोग गर्ने अनमिनको म्याद थपिंदैनः गच्छदार
इटहरी, फाल्गुन २३ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारलाई असहयोग गर्ने अनमिनको कुनै पनि हालतमा म्याद नथप्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।
माओवादीको पृष्ठपोषण गर्ने र माओवादी लडाकुका विषयमा सूचना माग्दा नचाहिंदो बखेडा खडा गरेर सरकारको आर्थिक भार कटौती गर्ने योजनामा अवरोध सिर्जना गर्न खोज्ने अनमिन अब नेपालमा रहने अवस्था समाप्त भएर गएको पनि उपप्रधानमन्त्री गच्छदारले स्पष्ट पारे ।
सुनसरीको भलुवामा आइतबार त्रिशूल महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा १०० औं नारी दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले माओवादीका केही नेताले भारतको इसारामा सरकारले अनमिनको विरोध गरेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे ।
माओवादीले पैसाको प्रलोभन देखाएर आफ्नो जनसेनामा भर्ना गराएकाहरुलाई अनमिनले माओवादी लडाकु भएको पुष्टि गरेर नेपाली जनताले बुझाएको राजस्व माओवादी पार्टीको कोषमा जम्मा गराउन मद्दत पुर्याएको उनले आरोप लगाए ।
अर्को प्रसङ्गमा उपप्रधानमन्त्री गच्छदारले तोकिएको समयमा संविधान निर्माण हुन नसक्नु र विस्तृत शान्ति सम्झौता कार्यान्वयनमा आउन नसक्नाको प्रमुख जिम्मेवार माओवादी भएको आरोप लगाए । संविधानसभामा ठूलो दलका रुपमा रहेको माओवादी विस्तृत शान्ति सम्झौता विपरितका हर्कत गर्दै संविधान निर्माणलाई महत्व नदिएर सत्ता प्राप्तिको रटानमा रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २३ ०९:०८

















तपाईंको प्रतिकृया