ओझेलमा परिवर्तनको कार्यसूची

प्रदीप ज्ञवाली
युद्ध पाण्डवले जितुन् कि कौरबले

केही फरक पर्दैन जनतालाई

किनकि उनीहरू त द्रौपदी हुन्

पाण्डवले जिते उनीहरू जुवाको खालमा थापिन्छन्

र कौरबले जिते हरण हुन्छ उनको चीर

राजा राम बनुन् कि रावण

केही फरक पर्दैन जनतालाई

किनकि उनीहरू त सीता हुन्

राजा राम बनेमा उनको अग्नि दहन हुन्छ

र रावण राजा बनेमा हुन्छ उनको अपहरण

विजयी हिन्दु बनुन् कि मुसलमान

केही फरक पर्दैन जनतालाई

किनकि उनीहरू त शव मात्र हुन्

हिन्दु विजयी बनेमा उनीहरू चितामा जलाइन्छन्

र मुसलमानले जितेमा दफनाइन्छन् कबि्रस्तानमा ......

माथि उद्धृत कविताका अंश कुनै भारतीय कविका हुन्, मलाई यकिन याद छैन । तर आज यसको चर्चा मैले किन गरिरहेको छु भने नेपाली जनताको नियति निकै हदसम्म यी पंक्तिमा प्रतिविम्बित भएको छ  । ओझेलमा पर्दै गएका हाम्रा परिवर्तनका कार्यसूची र व्यवस्थाको नाम एवं शासनका पात्र फेरेर आत्मरति लिने हाम्रो मानसिकताप्रति पनि यिनमा तिखो व्यङ्ग्य छ । यद्यपि यो व्यङ्ग्यलाई बोध गर्ने हाम्रो चेत भने सन्देहको घेरामै छ ।

निकै ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो ऐतिहासिक जनआन्दोलनले । त्यसलाई निरन्तरता दिंदै शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचनपछि हामीले त्यो परिवर्तनलाई निकै तीव्र विस्तारित पनि गरेका छौं । राजतन्त्रको ठाउँमा शान्तिपूर्ण रूपमा गणतन्त्रको स्थापना, १६ हजारभन्दा बढीको ज्यान जाने गरी भएको दशक लामो हिंसात्मक द्वन्द्वलाई स्वदेशी पहल र स्वदेशी माटोमै गरिएको समाधान, ६० वर्षदेखि थाँती रहेको संविधानसभाको सफल निर्वाचन र नयाँ संविधान निर्माणका निम्तिको पहलकदमी- हामीले गएका चार वर्षका उपलब्धिका निम्ति साँच्चै नै गर्व गर्न सक्छौं । हामीले खडा गरेको जगमा उभिएर शान्त, समुन्नत नेपाल निर्माणका पर्याप्त आधार विद्यमान छन् ।

तर यी सबै परिवर्तनको सान्दर्भिकता र अर्थवत्ता त्यतिबेला मात्रै स्थापित हुन्छ, जतिबेला यी उपलब्धिहरू जनताको घरआँगनसम्म पुग्छन् र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछन् । 'व्यवस्था' परिवर्तन त्यतिबेला मात्रै सार्थक हुन्छ, जतिबेला त्यसले 'अवस्था' परिवर्तन गर्छ । पात्र बदलिनुको महत्त्व त्यतिबेला मात्रै हुन्छ, जतिबेला त्यसले परिस्थिति बदल्न सक्छ । नीति परिवर्तन त्यतिबेला मात्रै सान्दर्भिक हुन्छन्, जतिबेला तिनले 'नियति' फेर्न

सक्छन् । सबै राजनीतिक प्रणाली, संयन्त्र र प्रक्रियाहरू साधन मात्रै हुन् र साध्य हो- जनताको खुसहाली, उनीहरूको जीवनमा उज्यालो । अन्यथा ठूलाठूला राजनीतिक परिवर्तन पनि व्यक्ति या संस्था विशेषको निम्ति मात्रै सान्दर्भिक ठहरिन्छन्, राष्ट्र र जनताका लागि होइन । जनता र राष्ट्रका लागि बन्न सकेनन् भने ती परिवर्तनले आफ्ना टेक्ने जरा र आफू उभिने जग कमजोर गर्छन् । त्यसले प्रतिगमन र प्रतिक्रान्तिका निम्ति आधार तयार गरिदिन्छ ।

दुर्भाग्यबस, यत्ति ठूलो राजनीतिक परिवर्तन जनताको जीवनमा अनुवाद हुन सकेको छैन । 'सङ्क्रमणकाल' लाई सिरानी लगाएर उम्किने प्रयत्न गर्न त सकिएला, या एकअर्कामा दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न पनि सकिएला । तर जनताले खोजेको परिवर्तन संस्थागत हुन नसकेको यथार्थ हो  र जनतामा बढ्दो नैराश्य, हताशा र असन्तुष्टि नवोदित गणतन्त्र र नाजुक अवस्थामा रहेको शान्ति प्रक्रियाका निम्ति ज्यादै जोखिमपूर्ण छ ।

महँगी सुरसाको मुखजस्तै बढेको बढ्यै छ । ग्यास, तेल, चिनी, नुनजस्ता वस्तुहरूमा कृत्रिम अभाव र कालाबजारी गर्नेहरूको फुर्ती उस्तै छ । अपराध बढेको बढ्यै छ र प्रशासनको लाचारी उस्तै छ । जब मन्त्री नै कमिसन नपाएको झोंकमा देश भर्सेला परे परोस् भन्छन् भने मातहतका अड्डा अदालतको हालत के होला ? न्याय दुर्लभ बन्दै गएको छ । भएका उद्योगधन्दा टाट पल्टिँदै छन्, विदेशी ऋण र व्यापार घाटा बढ्दो छ र बेरोजगार युवाको पल्टन दिनको झन्डै ७ सयका दरले विमानस्थलमा लाइन लागिरहेको दृश्यले 'नयाँ नेपाल' लाई गिज्याइरहेको छ । आक्रमणका डरले 'सेल्फ सेन्सर्ड' भएका सञ्चारकर्मी र सञ्चारमाध्यम, लगानीको वातावरण नभएर बिदेसिँदै गरेको पुँँजी, नेपालमा भविष्य छैन भन्ने निष्कर्ष निकाल्दै गरेका युवा, स्खलन भइरहेको राजनीतिक मूल्य र आदर्श अनि जनताको विश्वास र आस्थाको डरलाग्दो विघटन- निकै गम्भीर चुनौती हुन् हाम्रासामु उभिएका ।

सबैभन्दा निराशाजनक के छ भने यी विषय कहिल्यै गम्भीर एजेन्डा बन्दैनन् पार्टीका आन्तरिक जीवनमा या अन्तरपार्टी बैठकहरूमा । सरकारकोे कुर्ची वरिपरि घुमिरहेको नेपाली राजनीतिले जनताका एजेन्डा बिर्संदै गएको छ । क्रान्तिको सपना बाँडिरहेको माओवादीसँग फेरि आफ्नो नेतृत्वमा सरकार बनेमा सबै समस्याको समाधान जादूमयी ढंगले हुन्छ भन्ने पट्याटलाग्दो जिद्दी मात्रै छ । हिजो मौका पाउँदा यो अवसर किन चुकाइयो र नातावाद, अपारदर्शिता, सर्वसत्तावाद र सङ्कीर्ण दल/गुट स्वार्थको प्रवृत्तिमा किन 'क्रमभंग' हुन सकेन भन्ने कुनै जवाफ नदिईकन र भोलि ती कुरा नदोहोरिने विश्वासिलो आधार तयार नगरीकन गरिने सत्ताको हठ जनताको निम्ति अर्थहीन हुन्छ । त्यसरी नै माओवादी असफलतापछि सत्तामा पुगेको नयाँ गठबन्धनसँग पनि उग्रवामपन्थलाई आलोचना गरेर मात्रै क्रान्तिकारी होइँदैन, त्यसको लागि आफूसँग पनि परिवर्तनका जनमुखी एजेन्डा चाहिन्छ भन्ने चेत गुम्दै गएको देखिन्छ । कतिपय पात्रहरूको व्यवहार हेर्दा यस्तो लाग्छ- मानौं उनीहरू इतिहासका सर्वाधिक सरल र समस्यारहित कालखण्डमा छन् र यो हिजो आफूले राजनीतिमा गरेको 'लगानी' साँवा-ब्याजसहित असुल्ने बेला हो ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, समाजवाद, सामाजिक जनवाद आफैंमा निश्चित अर्थ राख्ने शब्दावली हुन् । तर तिनको अर्थवत्ता तिनको कार्यान्वयनमा मात्रै हुन्छ । विगतमा हाम्रो समस्याको कारण त्यो शासन प्रणालीको नाम 'प्रजातन्त्र' भएर भएको होइन, न त्यसको ठाउँमा 'लोकतन्त्र' नाम राख्दैमा समस्याको जादूगरी समाधान सम्भव हुन्छ । गणतन्त्र लोकतान्त्रिक आन्दोलनको उच्च प्राप्ति हो, तर यदि त्यो 'गण' हरूको तन्त्र हुन सकेन भने राजाविहीनताको मात्रै ठूलो अर्थ हुँदैन । हामीले खोजेको गणतन्त्र म्यान्मारको गणतन्त्र होइन, हामीले खोजेको समाजवाद उत्तरकोरियाको होइन र हामीले खोजेको सङ्घीयता नाइजेरिया या सोमालियाको होइन । हामीले व्यवस्थाको नाम मात्र परिवर्तन  गर्न खोजेको

होइन । नामले नै सबैथोकको निर्णय गथ्र्यो भने 'समाजवादी गणतन्त्र' भनिने म्यान्मारमा आङ सान सुकी र प्रजातन्त्रका योद्धाहरूले सैनिक जुन्टाको सामना गर्नु पर्दैनथ्यो । दुर्भाग्यबस, हाम्रो ध्यान अन्तर्वस्तु परिवर्तनतिर होइन नाम र प्रतीक परिवर्तनतिर केन्दि्रत भएको छ- नयाँ संविधान र नयाँ प्रणालीको नाम 'लोकतान्त्रिक गणतन्त्र' राख्ने कि 'जनताको गणतन्त्र' राख्ने, नेपालको झन्डा यथावत् राख्ने कि फेर्ने आदि ।

हृदयेश त्रिपाठी प्रायः एउटा कथा सुनाउँछन् 'छेदीलाल'  नामको युवकको । जताततै ठक्कर खाएको उसलाई कसैले सुनायो- जब तेरो नाममै 'प्वाल' -छेद) छ  त भाग्य खोटो हुने नै भयो, त्यसैले अब नामै फेर । ऊ मौलानाकहाँ पुगेर धर्म परिवर्तन गर्‍यो । मौलानाले उसको नाम राखिदियो 'सुराख अली' ।  तर मुसलमान बनेर नाम फेर्दा पनि 'प्वाल -सुराख) ले नछाडेपछि ऊ भाग्य बदल्न पादरीकहाँ पुग्यो । उसलाई इसाई बनाएर पादरीले नाम राखिदियो- 'होल सन' । धत्तेरी ! इसाई बनेर नाम फेर्दा पनि प्वाल -होल) ले त पिछा छाडेन । हार मानेर ऊ सिख धर्म गुरुकहाँ पुग्यो । त्यहाँ उसको नाम रह्यो- 'गड्डा सिंह' । तर त्यहाँ पनि उसलाई त्यो 'प्वाल' -गड्डा) ले छाडेन । आजित भएर ऊ फेरि छेदीलाल नै बन्यो ।

नेपाली जनताको नियति भारतीय कविका तिनै पात्र द्रौपदी, सीता या शवको नहोस् र हाम्रो परिवर्तनको यात्रा 'छेदीलाल' को नाम परिवर्तनको यात्राजस्तो मात्रै नहोस् भन्ने कुरामा हामी सबैको ध्यान पुग्ला कि ?

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]