ब्वाइज युनियन उत्साहित

(1 Vote)

काठमाडौ, फाल्गुन २३ - फ्रेन्ड्स प्रशिक्षक मृगेन्द्र मिश्रले भनेजस्तै लिग फुटबलमा एउटै जित-हारले ठूलो फरक पार्ने गर्छ । सहिद स्मारक लिग 'ए' डिभिजनमा शनिबार यस्तै देखियो । सुरुका दुई खेल गुमाएयता दुई खेल जितेको फ्रेन्ड्स पाँचौं स्थानमा उक्लियो । तीन खेल हारेर पहिलोपल्ट तीन अंक बटुलेको ब्वाइज युनियनले शीर्ष पाँचको सपनासमेत बुनेको छ ।

लगातार रोमाञ्चक फुटबल खेलिरहेको मच्छिन्द्रको यो प्रवृत्ति ब्वाइज युनियनविरुद्ध पनि देखियो, तर हारको नतिजासँगै । अर्कोतर्फ फ्रेन्ड्सले जावलाखेललाई पन्छायो । तेस्रो हारले जावलाखेल भने अन्तिम स्थानमा खस्केको छ । मच्छिन्द्र भने पाँच अंकमा सीमित रह्यो । 'लिगमा यस्तै हुने गर्छ, दुई खेल जितेपछि अब हामी बलियो पनि देखियौं,' फ्रेन्ड्सका मृगेन्द्रले भने ।

फ्रेन्ड्सको जितमा बुद्ध चेम्जोङले छैटौं मिनेटमा निर्णायक गोल गरे । जावलाखेल गोलरक्षक रञ्जित गुरुङ अगाडि बढेको स्थितिमा बुद्धले चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । 'अब हाम्रो टिमको प्रदर्शनमा अझ सुधार आउनेछ,' मृगेन्द्रले दाबी गरे । ब्वाइज युनियनका लागि निणर्ायक गोल शुभम श्रेष्ठले गरे । उनले शेखर लिम्बूको कर्नरलाई हेडमार्फत गोल गरे ।

पूर्णतः रोमाञ्चक सावित खेलमा मच्छिन्द्र दस खेलाडीमा सीमित रह्यो । राजु राईलाई पेनाल्टी एरियाको ठीक बाहिर लडाएपछि मच्छिन्द्र गोलरक्षक विशाल मगरलाई रेफ्री सुदीश पाण्डेले रेड कार्ड देखाए । प्रतियोगिताका २२ खेलयता यो पहिलो रेड कार्ड रह्यो ।

दुवै टिमले पूरा खेल अवधिमा शृङ्खलाबद्ध आक्रमण बुनेका थिए र यसले खेल सनसनीपूर्ण रह्यो ।

ब्वाइज युनियनले नयाँ प्रशिक्षक कुमार कटुवालको नेतृत्वमा पहिलोपल्ट खेलिरहेको थियो । 'मेरो नेतृत्वमा दुई दिनको मात्र अभ्यास सम्भव भएको छ ।

यसबीच मैले टिममा रहेका साना-साना त्रुटिहरू सच्याउने प्रयास गरें,' प्रशिक्षक कुमारले भने, 'टिममा पास र तालमेललाई लिएर त्रुटि थिए । ब्वाइज युनियन राम्रो टिम हो, अब हाम्रो लक्ष्य शीर्ष पाँच स्थान हो । आजका खेलमा हाम्रा खेलाडीको प्रदर्शन राम्रो देखियो ।'

मच्छिन्द्र प्रशिक्षक धु्रव केसीले आफ्नो टिमले स्वाभाविक खेल नखेलेको बताए । 'सबैको प्रशंसा पाएकाले पनि हुनसक्छ, आज टिमले स्वाभाविक खेल खेल्न सकेन । एक गोल खाएयता मात्र राम्रो प्रदर्शन गर्‍यो । त्यस अगाडि पनि उत्तिकै खेल्न सकेको भए, नतिजा फरक हुने थियो,' उनले भने ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २३ ०९:४३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।