बालिकामाथि दुर्व्यवहार गरेको निहुँमा बस्तीमै आगजनी/चार दर्जन झुप्रा खरानी
सर्लाही, फाल्गुन २१ - बालिकामाथि सुकुम्बासी बस्तीका एकजनाले दुर्व्यवहार गरेको भन्दै आक्रोसित गाउँलेले सर्लाहीको घुर्कौली गाविस-६ स्थित चार दर्जन झुप्रा घरमा आगजनी गरेका छन् ।
दुईसाता अघि सागरनाथ वन विकास परियोजनाको जमिन अतिक्रमण गरि ती घर बनाइएको थियो । परियोजनाको जमिन कब्जा गरी बसोबास गरेका रामआश्रय पासवानले चार्लिक बस्तीकी एक मुस्लिम बालिकाकालाई बिहीबार दाउरा लिन जाँदा दुर्व्यवहार गरेको र शुक्रबार अर्का एकजनालाई कुटपिट गरेको रिसमा गाउँलेले बस्तीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले अघिल्लो दिनको घटना र शुक्रबार पनि स्थानीय बले मोक्तानलाई दाउरा लिन जाँदा कुटपिट गरेपछि गाउँले एकत्रित भई सुकुम्बासी बस्तीमा आगजनी गरेको जानकारी दिए । सूचना पाएपछि केहिबेरमै प्रहरी पुगी सुकुम्बासी बस्तीका अन्य घरभने जलाउन दिएन् ।
बस्ती जलाएपछि उत्पन्न तनावका क्रममा दुबै पक्षका एक दर्जन बढी घाइते भएका छन् । दुई गाउँबीच तनाब भएपछि सुकुम्बासीहरु दक्षिणतर्फ गएको र चार्लिक बस्तीकालाई गाउँतर्फ फर्काइएपछि स्थिति सामान्य बनेको प्रहरीले जनायो । सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती थप तनाव हुन नदिन उक्त स्थानमा परिचालित छन् । बालिका दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २१ ०७:१६

















तपाईंको प्रतिकृया