८ महिनाकी गर्भवती दूतावासको शरणमा

(7 Votes)
होम कार्की

२१

काठमाडौ, फाल्गुन २१ -  घरेलु कामदारमा साउदी अरब पुगेकी एक महिला आठ महिनाको गर्भ बोकेर नेपाली दूतावासको शरणमा पुगेकी छन् । उनी दुई वर्षअघि साउदी पुगेकी थिइन् । गर्भ बढ्दै गएपछि घर मालिकले निकालेपछि रिना श्रेष्ठ (नाम परिवर्तन) सुरक्षा खोज्दै रियादस्थित दूतावासको शरणमा पुगेकी हुन् ।

'यो अहिलेसम्मकै निकै जटिल समस्या हो,' दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले कान्तिपुरसँग टेलिफोनमा भने, 'उनलाई समयमै स्वदेश पठाउन दूतावासले साउदी सरकारलाई आग्रह गरेको छ ।'

गैरकानुनी रूपमा रहेकी ती महिला स्वदेश फिर्नुअघि 'डिर्पोटेसन सेन्टर' मा बस्नुपर्छ । 'जेलको बसाइ अनिश्चित हुन्छ,' उनले भने, 'त्यसकारण शिशु जन्मिने समयभित्र स्वदेश फिराइसक्नुपर्छ ।' ती महिलले साउदीमै बच्चा जन्माए अनधिकृत रूपमा गर्भधारण गरेको अभियोगमा बच्चासहित जेल बस्नुपर्छ । आफू कार्यरत घरमालिक्नीको भाइको जबर्जस्तीकरणीबाट गर्भ बस्न गएको पीडित महिलाले बताइन् ।

'त्यस घर छाडेर प्रहरीमा पुगेकी रहिछिन्, प्रहरीले अर्को घरमा काम गर्न पठाइदिएछ,' दाहालले भने, 'दोस्रोपटक कार्यरत घर मालिकले गर्भ रहेको जानकारी पाएपछि निकालिदिएको हो ।'

त्यस्तै, संयुक्त अरब इमिरेटस् (यूएई) मा पुगेकी झापाकी ३१ वर्षीया रीता (नाम परिवर्तन) घरमा थुनेर राखेको ४० दिनपछि छतबाट हामफालेर बुधबार नेपाली दूतावासको शरणमा पुगेकी छन् । 'मसँगै १२ जना नेपाली महिलालाई थुनेर राखेको थियो । सात जनालाई ओमन पठाए, अरू त्यहीँ छन्,' उनले फोनमा कान्तिपुरलाई भनिन्, 'ज्यान जोखिममा पारी हाम फालेर उम्किएँ ।'

उनी वैदेशिक रोजगार विभागको श्रमस्वीकृति लिएर लुली सुपरमार्केटमा काम गर्न म्यानपावरमार्फत गएकी थिइन् । त्यहाँ पुगेपछि उनलाई घरको काममा लगाइएको थियो ।

यसैबीच, साउदी पुगेका २४ पुरुष कामदार कम्पनी नभेट्टाएर एक महिनादेखि अलपत्र परेका छन् । माघ २२ गते अन्हर हुसेन सुपरमाकेटमा गएका सप्तरी र धनुषाका कामदार अलपत्र परेका हुन् । 'हामीले अहिलेसम्म भनेको कम्पनी र काम पाएका छैनौं,' मोहमद मुमताज हुसेनले फोनमा भने, 'खानबस्न समस्या छ । म्यानपावर र मालिकलाई गुनासो कसैले वास्ता गर्दैनन् ।'

उनीहरूले एक लाख पाँच हजार रुपैयाँ तिरेर काठमाडौं नख्खुस्थित स्टार रे ओभरसिज्बाट गएको बताए । 'कम्पनीको प्रोजेक्ट सुरु नभएर काममा लगाइएको छैन । त्यस कम्पनीलाई ५० जना चाहिनेमा हामीले ३० जना मात्रै पठाएका थियौ । बाँकी बंगलादेशबाट गएपछि कम्पनीलाई आवश्यक कामदार पुग्छ,'  स्टार रेका प्रमुख रमेश बताउने भगिराथ राईले कान्तिपुरलाई भने, 'बुधबारदेखि काम सुरु हुन्छ । उनीहरूले काममा नलगाए पनि गएको समयदेखि नै तलब भने पाउँछन् ।'

राईले उनीहरूलाई ट्रली र क्लिनरको काम गर्न मासिक ६ सय रियाल (१२ हजार रुपैयाँ) पाउने गरी स्पष्ट भनेर पठाएको बताए ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २१ ०८:४६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।