किनभने उनी दीपक हुन्

(13 Votes)
हिमेशरत्न वज्राचार्य

५५

काठमाडौ, फाल्गुन २ -

दीपक विष्टको अनुहारको एकाध खाल्डो परिचितका लागि सामान्य हुन सक्छ । तर यसै अनुहारलाई जीवनमै पहिलोपटक देख्नेबित्तिकै एक सिक्किमेली धार्मिक गुरुले केही समयअघि भनेका थिए, 'यो मान्छेले जीवनमा ठूलो सफलता हात पार्छ । यो खुबै भाग्यमानी छ ।'

दीपकलाई त्यो भनाइमा खुबै घत् लागेको थियो । उनीसँगै सिक्किम पुगेका नजिकका केही साथीलाई भने आश्चर्य लागेको थिएन । किनभने दीपक वास्तवमै त्यस्ता नेपालका सर्वाधिक सफल खेलाडी हुन्, जसले आफ्नो विशिष्ट खेल कौशलतालाई चतुर्‍याईपूर्वक प्रयोग गर्न सक्छन् । समय र परिस्थितिअनुसार आफूलाई अनुकूल रूपमा ढाल्छन् ।

दीपक जति राम्रा खेलाडी हुन्, उत्तिकै उनको व्यक्तित्व चलाखीपूर्ण रूपमा प्रस्तुत हुने गर्छ भन्ने उदाहरण ११ औं दक्षिण एसियाली खेलकुदका क्रममा बंगलादेशी राजधानी ढाकामा पनि रामै्रसँग देखियो । ढाका जानुअघि काठमाडौंमा उनको स्थिति राम्रो थिएन । उनले सफलता हात पार्नेमा शंका गर्ने धेरै थिए, उनका आलोचक निस्किसकेका थिए ।

उनलाई घुँडाको चोटले पनि पिरोलिरहेको थियो । यी सबै स्थितिलाई उनले बंगलादेशमा खुबै चतुर्‍याईपूर्वक निस्तेज पारे । पुरुष ८७ केजीमुनिको तौल समूहमा स्वर्ण जित्दा दीपकले सबै खाले प्रतिकूलतालाई उत्तर दिन भ्याइसकेका थिए । यो उत्तर कत्तिको गतिलो रह्यो भने, दीपक नेपाली खेलकुद इतिहासमै सर्वकालीन महान् खेलाडी सावित भए ।

बंगबन्धु रंगशाला परिसरमा रहेको जिम्न्याजियममा उनले सामना गरेका पहिलो खेलाडी थिए, बंगलादेशका मोहम्मद मिजानुर । फेरि मिजानुर बंगलादेशी तेक्वान्दोका अर्का दीपक थिए । मिजानुर ८७ केजीमुनिको तौल समूहमा सागकै स्वर्ण विजेता थिए । उनी सन् २००९ को कोरियन ओपनको स्वर्णपदक विजेता पनि हुन् । दीपकले भने तौल समूह फेरेका थिए । यिनै मिजानुर दीपकसामु सुस्त, नयाँ र कमजोर देखिए । यो नतिजाले बंगलादेशी समर्थकमाझ रुवाबासी चलेको थियो भने दीपकले स्वर्ण जित्ने तय देखिएको थियो । नभन्दै दीपकले सेमिफाइनलमा भारतका नकुल मलहोत्रालाई सजिलै हराए । फाइनलमा भुटानी प्रतिद्वन्द्वी तासीको दीपकसामु खासै केही चलेन । भलै खेल प्रतिस्पर्धात्मक रह्यो ।

दीपकले एक खुट्टा र एक हातले त भिडे, तर त्यसमा दिमागको समिश्रण खुबै थियो । दीपकले सन् १९९९ मा काठमाडौंमा, सन् २००४ मा इस्लामाबाद र पछिल्लो पटक कोलम्बोमा स्वर्ण जितेका थिए । सम्भवतः यी सबैको तुलनामा ढाकामा उनको जित चाहे जस्तो रह्यो । यो एक अर्थमा साँचो पनि थियो किनभने ढाकाको स्वर्णले दीपकलाई ऐतिहासिक व्यक्तित्व बनाइसकेको थियो ।

ढाकाको धावा सफल भएपछि एकथरी विश्लेषण के निस्केको थियो, उनी त्यहाँ स्वर्ण जित्नेमा ढुक्क थिए । प्रत्येक पाइला अगाडि दीपक खुबै राम्रोसँग गणितीय विश्लेषण गर्न सक्छन् । आफू सफल नहुने बाजी उनी विरलै थाप्छन् । अन्यथा उनी ढाका जाने थिएनन् । दीपक स्वयं पनि मान्छन्, 'म जोखिम उठाउन चाहन्छु, यो क्यालकुलेटेड हुने गर्छ ।'

चार स्वर्णको उपलब्धिले आउने दिन नेपाली खेलकुदमा उनको उपस्थिति अझ गाढा हुनेछ । अहिले नै उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् । नेपाल तेक्वान्दो संघको सदस्य पनि छन् । उनलाई फाइदा पुग्ने पक्ष पढाइ पनि हो । उनी स्नातकोत्तर सकाउँदै छन् । उनले एकपल्ट हवाईयात्रमा पढेर काठमाडौं आएयता जाँच दिए र पास पनि भए ।

उनी बरोबर भन्ने गर्छन्, 'म पढाइलाई खुब महत्त्व दिन्छु । पढेलेखेका प्रति मेरो ठूलो सम्मान छ ।' यस्तोमा दीपकलाई धेरैले भविष्यका खेलकुद नेताका रूपमा हेर्न थालेका छन् । उनी बरोबर नेपाली खेलकुद चलाउने वैज्ञानिक विधिको खाँचो भएको गुनासो गर्छन् । उनको नेपाली खेलकुद हाँक्ने चाहना सम्भवतः मनको कुनै कुनामा छ । सम्भवतः उनी यसमा सफल पनि हुन सक्छन्, जस्तो सिक्किमेली गुरुले भविष्यवाणी गरेका थिए । किनभने उनी दीपक हुन्, लामो रेसका घोडा ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २ १०:२९

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।