'खाद्य संकटको प्रमुख कारक भातेबानी'

(9 Votes)
मैना धिताल

१२

काठमाडौ, फाल्गुन ११ -  बुद्ध नगरका अविनाश पोखरेललाई हरेक छाक भात नखाई हुँदैन । 'कहिलेकाहीँ रोटी खान मन लाग्छ,' अविनाशकी आमा भगवती भन्छिन्, 'उसैका कारण हरेक छाक भात पकाउनुपर्छ ।' राजधानीमा भगवतीको परिवार मात्र होइन, आम नेपाली (खासगरी पहाडी भेगमा) भातको विकल्पबारे खासै सोच्दैनन् ।

अझ कतिपय ठाउँमा चामलको भात प्रतिष्ठा बन्ने गरेको छ । 'धेरैले हेला गर्ने आलु, फापर, कोदोलगायतका परिकार चामलभन्दा धेरै पोषिला हुन्छन्,' हुम्लाका पूर्व जिविस सभापति जीवनबहादुर शाही भन्छन्, 'कर्णालीमा भात खान नपाउनुलाई भोकमरी भएको भनेर प्रचार हुन्छ ।' यही बुझाइ नै नेपालको खाद्य सुरक्षाको प्रमुख चुनौती भएको छ ।

बढदो जनसंख्या, जलवायु परिवर्तनको असरलगायत कारणले खाद्य असुरक्षा बढदै गएका बेला परम्परागत 'भाते बानी' प्रमुख समस्या हो । उच्च पोषण तत्त्व रहेका चिनो, कागुनु, फापार, आलु, तरुल, गिठा,  उवाजस्ता उत्पादन पनि अन्य खाद्यान्नसरह चल्तीमा आउन सकेका छैनन् ।

खाद्य सुरक्षाका लागि खाद्यान्नको विविधीकरण गर्नु जरुरी भएको खाद्य सुरक्षाविद् केशव खडका बताउँछन् ।देशभित्रै उपलब्ध खाद्यान्नको अभिवृद्धि गर्न पश्चिमाहरूको नक्कल गरी पोषणको परिभाषा गर्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । सरकारले धान, मकै, गहुँ, कोदो र जौलाई मुख्य खाद्यान्न बालीमा राखी सोहीअनुसार खाद्य सुरक्षाको गणनामा समावेश गर्ने गरेको छ ।

आलु, फापारजस्ता महत्त्वपूर्ण उत्पादनलाई अहिले पनि यसभित्र राखिएको छैन । खाद्य सुरक्षाको गणनामा आलु राख्ने हो भने प्रतिव्यक्ति उपलब्धता पनि बढी हुने कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए । अहिले खाद्यान्न उपलब्धता १ सय ९१ केजी प्रतिव्यक्ति प्रतिवर्ष छ । आलु समावेश गर्दा २ सय ४८ केजी पुग्छ । खाद्यान्न अभाव हुने कतिपय पहाडी क्षेत्रमा यसको उपलब्धता ३ सय १२ केजीसम्म पुग्छ । 'आलु र भात खाँदा पाइने कार्बोहाइड्रेट एउटै हुन्छ,' खडका भन्छन् ।  

प्रोटिन र कार्बोहाइड्रटको दरिलो स्रोत भएकाले गेडागुडीलाई पनि यसमा राख्न सम्बद्ध विज्ञले सुझाव दिएका छन् । पछिल्लो समय ढिँडोका रूपमा सहरी क्षेत्रमा समेत रुचाइएको फापर पनि प्रमुख खाद्यान्न बालीमा पर्दैन । सरकारले यसको उत्पादन अभिलेखसमेत राख्दैन । यसले खाद्य असुरक्षाको तथ्यांक नै बदलिन सक्ने विज्ञ बताउँछन् ।

'जनताको खाने बानीमा परिवर्तन ल्याउन जरुरी भइसकेकेा छ,' शाही भन्छन् । खानपान मात्र होइन, उत्पादन प्राथमिकता पनि समीक्षा गर्नुपर्ने दाहालको भनाइ छ । खाद्यान्न बाली हुन नसक्ने र न्यून उत्पादन हुने ठाउँमा नयाँ बाली र खेती गर्ने तरिका सुरु गर्नुपर्ने उनले बताए । 'खासगरी उच्च पहाडमा धान फल्ने क्षेत्रफल कम र पानी नलाग्ने हुँदा ती क्षेत्रमा उवा, तरुल, पिँडालुजस्ता वैकल्पिक उत्पादनमा जानु आवश्यक छ,' उनले भने । यस्ता कन्दमूलमा पोषणतत्त्व उच्च पाइन्छ । 'जलवायु परिवर्तनबाट बढी असर नपर्ने, पानी र मल खासै नचाहिने त्यस्ता उत्पादनलाई अनुसन्धान र प्रसार गरी अघि बढाउनु आवश्यक छ,' उनले भने ।

मन्त्रालयका अनुसार अहिले मुलुकमा उत्पादित चामलले ४५ प्रतिशत जनसंख्यालाई मात्रै खान पुग्छ । खानेबानीमा सुधार नल्याए बढदो जनसंख्यालाई थेग्न कठिन हुने दाहाल बताउँछन् । नेपालको जनसंख्या वृद्धिदर दक्षिण एसियामै उच्च छ । खाद्यान्न उत्पादनको वृद्धिदर २ देखि ३ प्रतिशतको बीचमा हुने गरेको छ भने जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत छ ।

'नेपाल भ्रमण वर्षको अवसरमा स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको परिकार प्रवर्द्धनका लागि मेला, प्रदर्शनी, प्रतियोगिताका माध्यमबाट अभियान चलाउन सकिन्छ,' खडकाको सुझाव छ । 'ठूला मान्छे' हरूको लवाइखवाइ 'रोलमोडल' हुन सक्ने भएकाले खानेबानीमा परिवर्तन ल्याउन पनि त्यसलाई उपयोग गर्न सकिने विज्ञको सुझाव छ । 'जिल्लामा सिडिओ, जिविस सभापतिलगायतले त्यस्ता खानेकुरा खाइदिएर अरूलाई प्रोत्साहन गर्न सक्छन्,' उनी भन्छन्, 'प्रधानमन्त्री र दलका नेताले पनि बाटो देखाउन सक्छन् ।'

'सहरमा यी वस्तुको बजारीकरण गरी बेच्न सकिन्छ,' खडकाको भनाइ छ, 'यस्ता उत्पादनलाई ठूला स्टार होटलहरूले डेजर्ट बनाइदिने हो भने मौलिकता र रूपान्तरण दुवै हुन्छ ।' यसले चामलको माग र मूल्य दुवै घट्न सक्छ ।

हालै राष्ट्रिय योजना आयोगले तयार पारेको सहश्राब्दी विकास लक्ष्य (एमडिजी) समीक्षा प्रतिवेदनले पनि जनताको बदलिँदो सामाजिक अभ्यासका कारण पोषणयुक्त खानामा पहुँच पुर्‍याउन जटिल बन्दै गएको औंल्याएको छ । त्यसका लागि शिक्षा र जनचेतना अभियान आवश्यक रहेको त्यसमा छ ।

'खाद्यान्न उपलब्ध भएर पनि समुदायको मानिसको पहुँच राम्रो नहुनु अहिलेको महत्त्वपूर्ण सवाल हो,' त्यसमा छ । सन् १९९० को दशकदेखि मुलुकमा खाद्यान्न अभाव सुरु हुन थालेको हो । वाषिर्क खाद्यान्न निर्यात ६० हजार टन हुने गरेको अनुमान छ । तर खुला सिमानाका कारण आयातको ठूलो हिस्साको गणना हुन सकेको छैन ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन ११ ०९:२०

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।