हुस्सु छिचोल्दै साउदी बोर्डर
दोहाबाट दक्षिण पश्चिमको यो ठाउँ कतारको यस्तो स्थल भन्सार मार्ग हो, जहाँ साउदी हुँदै बहराई, युएई, ओमान, कुवेत लगायत देशमा जाने नाका पनि खुल्छ ।
दोहा (कतार), माघ २३ - कतारको सल्बा रोडमा गाडीको रफ्तार तिब्र थियो । एकतर्फी नै चार लेनको बाटोमा गाडी कुदाउन कुनै समस्या थिएन । दायाँ तर्फको छेऊमा ट्रक, ट्रेलर जस्ता ठूला गाडी खुबै देखिन्थे । आकाशे पुलमा अरु गाडीहरु ओहोर दोहोर गरेका थिए । आफ्नो देशमा कहिले हुने होला यस्तो बाटो र आकाशे पुल भन्ने लाग्थ्यो । सल्बा रोडमा गाडीहरुको स्पिड थामी नसक्नु थियो । सबैको गन्तब्य साउदी अरेवियाको बोर्डर तर्फ नै थियो । हो, हामी पनि साउदी अरेबिया छिर्ने कतारको बु सम्रा बोर्डर जाँदै थियौं । दोहाबाट दक्षिण पश्चिमको यो ठाउँ कतारको यस्तो स्थल भन्सार मार्ग हो, जहाँ साउदी हुँदै बहराई, युएई, ओमान, कुवेत लगायत देशमा जाने नाका पनि खुल्छ ।
गाडीको ओहोर दोहोरले बाटो रमाइलो लागेको थियो । बायाँ तर्फको अर्को चार लेनको बाटोमा गाडीहरु त्यसरी नै दोहातर्फ आईरहेका थिए । बाटोले नै गाडी चलाउँदाको आनन्द दिदों रहेछ । पातलो बस्ती भएको मरभूमिको बाटोमा थियौं । सनैया जाने र दुखान जाने बाटो क्रस गरेर अघी पुगेका थियौं । स्याङ्जाका साथी रामु बस्यालले एक सय २० को स्पिडमा चलाएको गाडी एकाएक घट्न थाल्यो । यसरी घट्यो की स्पीड त जम्मा २० अनि १५ र १० पो भयो । अगाडी बढ्नै सक्ने अबस्था भएन । बाटो देख्नै गाह्रो भयो । हेड लाईट बालेर पनि काम भएन । यती बाक्लो हुस्सुले बाटो रोक्यो की अगाडी बढ्न सकेन ।
ट्रकहरु पनि बत्ति बाल्दै सार्डडमा रोकिए । हामी पनि साईड लागेर पुच्चे गाडीबाट उत्रियौ । मौसम चियो, कुहिरोमा पानी मिसिएको छ की जस्तो लाग्थ्यो । दोहाको जैदा टावरबाट बाटोको नापो सुरु गरेका हामी यती बेला ६८ किमी पर गरेका थियौं । अझ गन्तब्यमा पुग्न ३१ किमी बाँकी थियो । जीवनमै पहिलो पटक थियो होला यस्तो बाक्लो कुहिरो देखेको । जहाजबाट तल हेर्दा देखेको बाक्लो कुहिरो बाहेक यस्तो अनुभव कमै मिलेको थियो । हुस्सु पनि ह्वात्तै आएको, एकाएक असिना पानी वर्षेसरी । पुरै अन्धकार जस्तै भयो । १०/१५ मीटर परको मान्छे पनि ठम्याउन सकिएन । हाम्रो यात्रा माघे सक्रान्तिको विहानी थियो, जुन दिन सूर्यग्रहण पनि थियो- लौ ग्रहणै लाग्यो की भनेर हाँसो पनि भयो । साईडमा बत्ती चम्काउँदै रोकिएका ट्रकका ड्राइभरहरुले यस्तोमा चलाए त जरीवाना हुन्छ भन्थे । एक महिना अघि नेपाली दूतावासमा भेटिएका ड्राईभरहरुले पनि सुनाएका थिए-'दबाव -हुस्सु)मा चलाए त फाइन मार्छ ।' बास्तवमा ठीक रै' छ । फाइनै नमारे पनि के गर्ने, चलाउनै गाह्रो हुँदो रै'छ ।
करीव १५ मीनेटपछि अलिअलि हुस्सु फाट्न थाल्यो । हामी बिस्तारै अघि बढ्यौं, ट्रकहरु भने रोकिई राखेका थिए । हुस्सु विस्तारै पर पर भाग्यो । साउदी अरेविया २० किमी बाँकी लेखेको ठाउँ, पुग्यौं, जहाँबाट त गाडीको स्पीड पनि बढ्दै गयो र साउदी छिर्ने बोर्डर पुग्यौं । त्यहाँ पुगेर अलमलियौं, सिधै भित्र जान मिल्ने हो की होइन । गेट बाहिरै सुरक्षाकर्मीको बीटमा सोध्यौं, उनले भित्र जान सकिन्छ तर आउने बेला पास बनाउनु पर्छ भने । अचम्मै लाग्यो, जाने बेलामा नपर्ने आउने बेलामा पास चाहिने । झंझटिलो रै'छ भित्र जाने की नजाने भन्ने दुविधा भयो । पास बनाउन के गर्नुपर्छ ? पतका -आईडी कार्ड) भए हुन्छ, सुरक्षाकर्मीले भनेपछि ढुक्क भयो र भित्र छिर्यौं ।
भित्र अलि चहल पहल थियो । गाडी पार्क गरेर अेर्लिदा बागलुङको तमानका ठिटो हेमप्रसाद छन्त्याल, २१ भेटिए । 'दुबई जान लागेको हो, माकिललाई पर्खेको हुँ' भने-'१०/१२ दिन मालिकको साथीको घरमा काम गरेर फर्किने हो ।' घरेलु कामदारको धेरै दुःख सुनिए पनि डेड वर्ष देखि कार्यरत उनलाई त्यस्तो रहेनछ । 'खान, लगाउन राम्रो छ, महिनाको आठ सय रियाल तलब पाएको छु 'काम गर्न खासै दुःख पनि छैन ' उनले भने । लौ जाती भयो, यस्ता घर मालिक पनि रै'छन् जसबाट कामदार सन्तुष्ट भएको सुन्न पाईयो ।
त्यती नै बेला फोर क्लीप गाडी चलाउँदै अर्का नेपाली युवक पनि आए- सर्लाही मुसैलीका सन्तोष ठाकुर । उनले त्यहाँको बारे बताईदिए । नजिकै सुपर मार्केट गयौं । नेपालको सन्दर्भमा ठिकै हो तर दोहामा सिटी सेन्टर, भिलाजिओ, लुलु हाईपर जस्ता देखेको यो चट्टै सानो लाग्यो । सुपरमार्केट नजिकै सौचालय छिर्दा एउटा बाक्य देखेर आश्चर्य लाग्यो । त्यहाँ यो सौचालय ट्रक ड्राईभरले प्रयोग नगर्नु भनेर लेखिएको थियो । सार्वजनिक सौचालयमा यस्तो लेखिनु कौतुहलाको विषय लाग्यो । उनीहरुलाई ट्वाईलेट ? कतै देखिएन ।
नजिकैको रेष्टुरेन्टमा पस्यौं । दुई नेपाली युवकसंग परिचय भयो । उनीहरु बागलुङका रहेछन्, एक जना हटिया लमहीका लिलबहादुर अधिकारी र अर्को हटियाकै बोहराफाँटका श्याम बोहरा । होइन? दुई जनै एकै ठाउँका ? अरु पनि छन् की ? श्यामले रेष्टुरेन्टमा काम गर्ने १४ नेपाली मध्ये तीन बागलुङ, अरु गुल्मी, पाल्पा, स्याङ्जा, लमजुङ, तनहुँ, नबलपरासीका छन् भने । मिश्री र भारती पनि गरी करीव ३० जना काम गर्दा रैछन् रेष्टुरेन्टमा ।
खुल्दुली लागेको सोधि हाल्यौं- सौचालयका लेखेको वाक्य । ट्रक ड्राईभरहरुलाई अर्को तिर बनाएको छ भने । किन एकै ठाउँमा नभएको ? ए, उनीहरु बढी धुलो मैलोमा खेल्नु पर्ने हुँदा यता फोहोर हुन्छ भनेर नुहाउन मिल्ने गरी अर्को बनाएको हो रे भनेर भने । ए, कुरो त्यो पो रै'छ ।
रेष्टुरेन्टमा भेटिएका दुई युवकले एक वर्षदेखि काम गर्न थालेका रहेछन् । भने- बोर्डर क्षेत्रमा करीव डेड सय नेपाली काम गर्छन । रेष्टुरेन्ट, भन्सार, सफाई, गार्डेन लगायतमा । पाँच मिनेट पर साउदीतर्फको बोर्डर थियो, जहाँ पुग्न भीसा नै चाहिन्थ्यो । रेष्टुरेन्ट खाजा भन्यौ , स्याण्डबीच बनाए, भाईहरुले । कति स्वादिलो बनाएछन् । कस्तो लागेको छ त बोर्डर बसाई ? 'काम त रमाईलै छ, मानिसहरु आवत जावत गरिरहने हुँदा दिन बितेको थाह हुँदैन । तर रात भने कुनै गाउँको जंगलको गोठमा गएर बसे जस्तो, एकान्त लाग्छ' श्यामले भन्थे । समुद्रको किनार नेर रहेछ, उनीहरु बस्ने क्याम्प, जहाँ पातलो आवागमन, जसले गर्दा उनीहरुलाई एकान्त लाग्दो रहेछ ।
उनीहरु पैसा पठाउन भने दोहा जाँदा रै'छन् । त्यहाँको एउटा बैंकमा पैसा पठाउँदा सर्भिस चार्ज बढी लिन्छ भन्दै उनीहरु ३/४ महिनामा दोहा कुद्छौं भन्थे । आखिर ९९ किमी परेको दोहा कार्बा बसै चल्ने हुँदा उनीहरुलाई टाढा पनि थिएन । जाते-आते भाडा १८ रियाल रहेछ ।
आसपास हेर्दै हामी भन्सार लेखेको भवन छिरेर अध्यागमन तिर लाग्यौ । गाडी दर्ता हुने ठाउँमा पुग्यौं । एक जना अरबी युवकले 'इमिग्रेसन'मा जानु भने । इमिग्रेसन लेखेको द्वारहरु तर्फ पुग्यौं । अरबी युवतीले अर्कोमा जानु भनेर बाटो देखाई दिइन् । पछि ईमिग्रेसनमा परिचयपत्र -पतका) देखाएर बाहिर निस्कने पत्र बनाईदिए । उनीहरुले किन आएको हो? कहाँ जाने भनेर सामान्य जानकारी लिदँा रहेछन् । पत्र अरबीमा थियो, केही बुझिएन । भित्रै अर्का सुरक्षाकर्मी तगारो हालेर बसेका थिए, पतका र पत्र देखायौं । उनले फेरी भित्र लगेर चेक गरे । सबै कम्प्युटराईज्ड सिष्टम हुनाले काम फटाफट हुन्थ्यो ।
हामी त्यहाँबाट बाहिर निस्कने गेट तर्फ आयौं, फेरी अर्को ठाउँमा पत्र देखायौं । पतका र पत्र चेक गर्ने धेरै ठाउँमा अरबी युबतीहरु भेटिए । दोहा एयरपोर्टको इमिग्रेसन र बैंकहरुमा पनि अरबी युवती बाक्लै देखिन्थे, यहाँ पनि देखिदाँ उनीहरुको रोजगार प्रति राम्रो आकर्षण लाग्यो । हामी बाहिर निस्कने बेला फेरी गाडीको डिक्की खोलेर चेक गरे । अरबीसंग एक जना नेपाली पनि थिए, चेक गर्ने ठाउँमा । कुरा गर्ने अबस्था थिएन, निस्की हाल्नुपथ्र्यो । अरबीले गाडी चेक गर्नासाथ 'खलास' (काम सकियो) भनेपछि बाहिर निस्कियौं ।
अनि, रेष्टुरेन्टमा भाईहरुले राति बस्ने भनेको एकान्त ठाउँको क्याम्प हेर्न गयौं । हो, समुद्रको किनारमा क्याम्प एकान्त रै'छ । समुद्रको पारी पट्टी साउदीको एउटा बजार र बीचमा मस्जिदको मीनार प्रष्टै देखिन्थ्यो । समुद्र किनारमा जान मनाही गरिएका बोर्डहरु थिए- बोर्डर सुरक्षाको लागि होला । हामी गाडीबाट नओर्लीइ एक राउण्ड घुमेर मुल बाटोमा आयौं । र्फकने बेला एउटा ठूलो बोर्डमा ट्रकलाई क्रस गरेको चिन्ह देखियो, जहाँ अरबी अक्षर सहित अंग्रेजीमा लेखिएको थियो 'नो ट्रक्स ड्युरिङ फग'-हुस्सु लागेको बेला ट्रक नचलाउनु होला) । त्यसपछि बाटोमा हुस्सू देखिएन बरु सडकदेखि अली टाढा ऊटहरुको लाईन देखियो । हामी त्यही ऊटको लाईनलाई नियाल्दै सल्बा रोडबाट दोहा हानियौं ।
regmidinesh@gmail.com
प्रकाशित मिति: २०६६ माघ २४ ०९:५७

















तपाईंको प्रतिकृया