बिन्दास क्रुज लाइफ

(1 Vote)
निर्मल श्रेष्ठ

१८

हङकङ, माघ ११ - सानामा आफ्नै गाउँठाउँका खोलामा डुबुल्की मार्न पाउँदा रमाउने उनलाई अचेल खास रमाइलो संसार पानीमा रहेछ जस्तो लाग्न थालेको छ । जमिनका कुनै अत्याधुनिक महलभन्दा कम छैन भरत चुहान कार्यरत विशाल पानीजहाज । पाँच वर्षअघि समुद्री जहाज स्टार क्रुजमा नोकरी थालेका उनी अन्य सहकर्मीसँगै सिंगापुर, भियतनाम, मलेसिया, चीन हुँदै हङकङ आइपुगेका छन् । चौबीसै घन्टा समुद्रमा तैरिरहने जहाजसँगै उनको अधिकांश समय पानीमाथि नै बित्छ ।

'कहिले त साता दिनसम्म पनि बाहिर निस्कँदैनौं,' बार टेन्डरका रूपमा कार्यरत इटहरीका युवाले भने, 'संसारै यहीँ छ जस्तो लाग्न थालिसक्यो ।'

स्टार क्रुजरूपी पानीमाथिको 'संसार' मा भरतसँगै ५६ नेपाली कार्यरत छन् । बार, फ्रन्ट अफिस, सेफ, हाउस किपिङ, क्यासिनो, सेक्युरिटीलगायतका पेसामा ।

भरतको जस्तै मीठो अनुभव गर्दै स्टार क्रुजमा भैरहवाका नितिन उपाध्यायले सात वर्ष बिताइसकेका छन् । 'हिजो जस्तै लाग्छ,' फ्रन्ट अफिसमा कार्यरत उनको अनुहार चम्कियो, 'नाचगान, घुमफिर, खानपिन, खेलकुद मात्र होइन, युवती सहकर्मीसँगको डेटिङ पनि जहाजमै हुन्छ ।'

क्रुजका हाकिमहरू कडा मिजासका हुन्थे भने यी नेपाली अल्लारेले त्यस्तो मौका सायदै पाउँथे । तर, भरतका अनुसार रोमान्सका मामिलामा हाकिमहरू उदार छन् । 'इमानदारीसाथ आफ्नो ड्युटी सकेपछि मन मिल्नेसँग रोमान्सका लागि रोकटोक छैन,' उनी मस्किए, 'क्रुजका अधिकांश नेपालीका   गर्लफ्रेन्ड छन् ...'

नितिनले भरतलाई कुरो सक्न दिएनन् । 'सँगै काम गर्ने, खाने, बस्ने, डुल्ने, हँसीमजाक चल्ने भएपछि नजानिँदो पाराले माया बस्दो रैछ,' उनले भरततर्फ आँखा नचाए । तत्कालै उनको अनुहारमा निराशा देखियो । भने, 'तर हामी दुवैका   गर्लफ्रेन्डले अर्को जहाजमा काम थालेपछि हामी खाली छौं ।'

क्रुजमा कार्यरत आधा दर्जन नेपाली युवाले अन्य मुलुकका युवतीलाई पत्नी बनाएको रहस्य पनि खोले नितिनले । यी 'खाली' हरूको पनि त त्यस्तै सोच हुँदो हो ?

'बिहे गर्ने योजनै त छैन,' भरत र नितिन एक मुख भए, 'लास्टै मन पर्‍यो भने के भन्न सकिन्छ र ?' अनि एक छिन अट्टहास सुनियो ।

स्टार क्रुजमा बाईस मुलुकका करिब एक हजार कर्मचारी छन्, युवकयुवती सराबरी । पहिले नेपाली युवतीहरू समेत थिए ।

'बिन्दास छ क्रुज लाइफ, काम हुँदा गर्‍यो नत्र आफ्नै मर्जी,' नितिन बोले, 'बाहिर काम गर्नेले यहाँका सबथोक पाउन पचास ठाउँ चहार्नुपर्छ, हामीलाई एकै ठाउँ ।' हुन पनि सुरा र सुन्दरी एकै थलोमा भेटिने भएपछि यी लक्काजवानको मन यो पानीजहाजबाट किन भरिन्थ्यो ? सयौं थरीका पकवान्न तयार हुने रेस्टुराँ, बार, डिस्को, पब, कारोके, क्यासिनो । मनोरञ्जन जहाजमै ।

तीन वर्षदेखि कार्यरत बुटवलका मोहन कार्की र काठमाडौंका पिटर क्षेत्री अनि पाँच वर्षदेखिका जागिरे अनिल श्रेष्ठको अनुभव पनि भरत र नितिनको भन्दा फरक रहेनछ ।

स्टार क्रुजको नोकरीले मनोरञ्जन मात्रै होइन, कमाइ पनि यी युवालाई सन्तोष लाग्ने दिइरहेको छ । 'महिनामा पचास हजारसम्म बचाउँछु,' भरतले भने, 'खानेबस्नेदेखि लुगा धोइदिनेसम्मको खर्च कम्पनीले नै बेहोर्ने भएकाले फुर्मास नगर्नेले राम्रै बचाउँछन् ।' सुरुवाती तलब करिब चार सय अमेरिकी डलर मात्र हुने भए पनि ग्राहक रिझाउनेले राम्रै कमाउने उनले बताए ।

एक पटकमा सत्ताईस सयजतिलाई समुद्री सयर गराउने स्टार क्रुजको सुरक्षा जिम्मेवारी गोर्खालीकै काँधमा रहेछ । नेपाली, बेलायती र भारतीय गोर्खाली सेना र पुलिसबाट अवकाशप्राप्त सत्र जना अहिले कार्यरत छन् । धरानका निमारिता शेर्पा क्रुजका ज्येष्ठ सुरक्षाकर्मी रहेछन् ।

'दिनहुँ दर्जनौं मुलुकमा सयौं नयाँ मान्छे भेटिन्छन्, उत्तिकै छुट्टिन्छन् पनि,' पन्ध्र वर्षयता क्रुजमा नोकरी थालेका पूर्व बेलायती गोर्खा निमारिताले सुनाए, 'रमाइलो छ जलयात्रा ।' सुरक्षाकर्मीको तलब भने अझ लोभलाग्दो छ । निमारिताका अनुसार तह हेरी अमेरिकी डलर नौ सयदेखि चौध सयसम्म पाइन्छ ।

तर विश्व आर्थिक मन्दीले समुद्रलाई पनि अछूतो राखेको छैन । 'हाम्रो तलब बर्सेनिजसो बढ्थ्यो,' सात वर्षदेखि क्रुजका सुरक्षाकर्मी रहेका पुष्पराज उप्रेतीले भने, 'तीन वर्षयता बढेको छैन ।' नेपाली सेनाका यी पूर्वजागिरेका अनुसार त्यसको भर्पाइ घरबिदामा क्रुज व्यवस्थापनको उदारताले गरिदिएको बताए । स्टार क्रुजका कर्मचारीले वर्षमा दुई महिना घरबिदा पाउँदा रहेछन् । साथमा आतेजाते हवाई टिकट पनि । 'उति बेला समुद्री जहाजमा काम गर्ने निधो भएपछि डराएको थिएँ,' बीबीएससम्म पढेका भरतले सुनाए, 'अहिले निकै रमाइलो लागिरहेको छ ।'

 

प्रकाशित मिति: २०६६ माघ ११ ११:५४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।