मुख्य समाचार»
उइगरको डर
उसै त तिब्बती शरणार्थीहरूबाट आजित छ, छिमेकी मुलुक चीन । त्यसमाथि तिब्बती शरणार्थीजस्तै उइगरहरूले पनि आफ्नो आन्दोलनका लागि नेपाली भूमि प्रयोग गर्ने हुन् कि भन्ने पिरलोमा छ, चीन अहिले ।
तिब्बती शरणार्थीका नेता दलाई लामा जति टाउको दुखाइ बनेको छ चीनका लागि, त्यति नै टाउको दुखाइ बनेकी छन्, विश्व उइगर महासंघकी नेतृ रबिया कादिर । कादिरलाई उइगरकी 'दलाई लामा' पनि भनिन्छ । यसैले होला, सम्भवतः नेपालस्थित चिनियाँ दूताबास नेपालमा उइगर र तिब्बती शरणार्थीहरूको गठजोडले चीनविरुद्घ शरणार्थीहरूको स्वतन्त्र राष्ट्रको माग बढ्ने हो कि भन्ने चिन्तामा छ । यही कारण हुनसक्छ, पछिल्लो समय नेपालमा उइगरहरूको कुनै गतिविधि छ कि भन्ने कुरालाई निकै सूक्ष्म रूपमा नियाल्दै आइरहेको छ, चिनियाँ दूताबास । स्रोतका अनुसार, दूताबासले आफूनिकट स्रोत व्यक्तिहरूबाट नेपालमा उइगरहरूको गतिविधिको हरेक जानकारी संकलन गररिहेको छ ।
नेपालमा उइगरहरूको कुनै गतिविधि नहोस् भन्नाका लागि कुनै पनि उइगर नेताले शरणार्थीका रूपमा बस्न नपाऊन् भन्ने कुरामा चीन कतिसम्म सजग छ भन्ने कुरा तीन उइगर नेताको घटनाबाट प्रस्ट हुन्छ । २०५१ सालताका साहिर अली नाम गरेका उइगर नेता चीनमा थुनामा थिए, राजनीतिक गतिविधि गरेको आरोपमा । पछि थुनामुक्त गरएिपछि उनी भागेर नेपाल आए । ०५७ कात्तिकताका उनी नेपाल आएका थिए । उनले नेपालस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगमा शरणार्थीको मान्यताका लागि आवेदन दिए । आयोगले केही महिनामै उनलाई शरणार्थीको मान्यता पनि दियो । जब उनले नेपाली भूमि उइगरहरूको आन्दोलनका लागि प्रयोग गर्न थालेको नेपालस्थित चिनियाँ दूताबासले पत्तो पायोे, त्यतिबेला चिनियाँ पक्षको आग्रहमा अध्यागमन विभागले ०५८ पुसताका उनलाई पक्राउ गर्यो । करबि महिनादिन उनलाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा राखियो । पुसको अन्त्यतिर चीन सरकारको विशेष आग्रहमा उनलाई सुपुुर्दगी गरयिो । त्यसको दुई महिनापछि उनलाई चीनले मृत्युदण्डको सजाय दियो ।
यसैगरी, अर्का उइगर नेता खय्युम असिम अलीलाई पनि ०५९ असारताका नेपालबाट चीन फर्काइएको थियो । त्यसअघि उनले नेपालमा राष्ट्रसंघीय उच्चायोगबाट शरणार्थीको मान्यता पाएका थिए । त्यसको केही समयपछि उनलाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा राखियो । तर, अचानक उनलाई चीनसमक्ष सुपुर्दगी गरएिको त्यतिबेला पत्तो लाग्यो, जब उनी ०५९ फागुनमा चीनमा सिन्जियाङ्को उरुम्कीको मिचुवान जेलमा रहेको र पछि मृत्युदण्डको सजाय दिएको सार्वजनिक भयो । यसबाहेक नेपाल आएका अर्का उइगर नेता अब्दुल्लाह सत्तरलाई पनि चीन सरकारसमक्ष सपुर्दगी गरएिको भनिए पनि उनका बारेमा यथेष्ट जानकारी प्राप्त हुन सकेको छैन र उनको अवस्था अज्ञात छ ।
चीनले नेपाल सरकारको सहयोगमा नेपालमा बसेका उइगर नेताहरूमाथि कडा रवैया अपनाएपछि हच्केका विद्रोही उइगर नेताहरू लामो समय नेपालमा सक्रिय देखिएनन् । तर, पछिल्लो समय उइगर युथ कांग्रेसले नेपाललाई आफ्नो आन्दोलनका लागि उपयुक्त भूमि भएको ठहर गर्दै आफ्नो वेबसाइटमा तिब्बती र नेपालमा रहेका आफ्ना सम्प्रदायसँगको सहकार्यमा स्वतन्त्रताको आन्दोलन हाँक्न सकिन्छ भन्ने ठहर गरेको छ । यही कारण चीन पछिल्लो समय हच्किएको हुनसक्छ । विश्व उइगर कांग्रेसका महासचिव डोल्कुन इसाले कांग्रेसको वेबसाइटमा आफूहरूका लागि अन्तर्राष्ट्रिय जगत्लाई चीनमाथि दबाब सिर्जना गराउन सबैभन्दा उपयोगी नेपाली भूमि हुने ठहर गरेका छन् । नेपाल तिब्बतको नाकाबाट तिब्बतमा छिर्नासाथ 'रेशम मार्ग'मा पुगिने र त्यहाँबाट पश्चिम चीनको सिन्जियाङ्मा पुग्न सहज हुने हुनाले स्वतन्त्र राष्ट्रको पक्षमा रहेका उइगरका लागि पनि नेपाल उपयुक्त आधार क्षेत्र हुनसक्ने कुराबाट चीन झस्किएको देखिन्छ ।
चीनको सुदूर उत्तरी क्षेत्रमा पर्ने सिन्जियाङ् उइगर स्वायत्त प्रदेशका मूल बासिन्दा उइगर सम्प्रदायले तिब्बतीहरूजस्तै स्वतन्त्र राष्ट्रको माग गर्दै आन्दोलन गररिहेको छ । उइगर तुर्की भाषा बोल्ने मुख्यतः सुन्नी इस्लामिक सम्प्रदाय हो । सन् १९४९ सम्म पूर्वी तुर्किस्तानको रूपमा स्वतन्त्र राष्ट्र थियो, चीनको उत्तर-पश्चिममा पर्ने सिन्जियाङ् । तर, सन् १९४९ पछि जनगणतन्त्र चीनले आफूमा गाभ्यो । त्यसको छ वर्षपछि सिन्जियाङ् उइगर स्वायत्त प्रदेशका रूपमा मान्यता दियो । तर, विस्तारै यहाँ चीनको मूलधारमा रहेका हान जातिहरू उइगरमाथि हाबी हँुदै गए । उनीहरूले आफूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पिछडिएको अनुभव गरेपछि उइगरहरू स्वतन्त्रताको आन्दोलनमा हिँड्न थालेका हुन्, तिब्बतीहरूजस्तै । त्यहाँ उइगर ४५ र हान ४१ प्रतिशत छन् ।
त्यसो त सिया मुस्लिमको तुलनामा सुन्नी मुस्लिम बढी उदार मानिन्छन् । तर, सुन्नीभित्रको 'वाहभिस्ट' समुदाय बढी कट्टर मानिन्छ । उइगरहरू यही समुदायबाट बढी प्रभावित भएको चिनियाँ ठम्याइ छ । सायद यसैले होला, रुविया कादिरले नेतृत्व गरेको विश्व उइगर महासंघदेखि लिएर इस्ट तुर्किस्तान इस्लामिक पार्टी, वल्र्ड उइगर युथ कांग्रेस, इस्टर्न तुर्किस्तान लिवरेसन अर्गनाइजेसन आदिलाई चिनियाँ सरकारले आतंककारी संगठन घोषणा गरेको छ । यी संगठनहरूले अलग राष्ट्रको माग गर्दै आएका छन् ।
यसरी तिब्बतीसँगसँगै उइगरहरूले पनि स्वतन्त्रताको माग गर्दै नेपाललाई आधार भूमि बनाउन सक्ने आकलन गरेपछि चीनले पछिल्लो समय नेपाल सरकारलाई सम्भावित सशस्त्र गतिविधि पूर्ण नियन्त्रण गर्न आफ्नो देशको नेपालसँग सिमाना जोडिएका क्षेत्रमा १० हजार सुरक्षा बल राख्न नेपाललाई आग्रह गर्दै आएको छ । कतिसम्म भने उसले त्यति संख्यामा सीमा सुरक्षा बल राख्न नेपाल सरकारलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएको छ । यसका लागि नेपाल आएका चिनियाँ सरकारका प्रतिनिधि र राजदूतले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री तथा र गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग पटकपटक भेट गरी मनाउने प्रयास गर्दै आइरहेका छन् ।
नेपाल र चीनबीचको सीमा १ हजार ८ सय ७६ किलोमिटर लामो छ, त्यसमध्ये आधाभन्दा केही कम भूभागमा मानिसको ओहोरदोहोर शून्यप्रायः नै छ । नेपालले ताप्लेजुङ, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ, डोल्पा, हुम्ला, दार्चुला जिल्लाका नाकामा सीमा सुरक्षा बल राख्न नेपाललाई आग्रह गर्दै आएको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालालाई चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री याङ् जेइचीले प्रधानमन्त्री वा गृहमन्त्रीको चीन भ्रमणका बेला सीमा सुरक्षासम्बन्धी महत्त्वपूर्ण समझदारी गर्ने बताएका थिए । सुजाताको भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाली भूमिमा तिब्बती तथा उइगर शरणार्थीको चलखेल नियन्त्रणका लागि दुई मुलुकबीच सुरक्षा समन्वय हुनुपर्ने विषयमा जोड दिएको थियो ।
























