हरेक वर्ष तराईमा शीतलहर चल्छ र सयौँले ज्यान गुमाउँछन् । यसरी ज्यान गुमाउनेमा मधेसका अतिविपन्न दलितहरूकै हिस्सा धेरै हुन्छ । मध्यमधेसको बारादेखि सप्तरीसम्मका सयौँ दलित वस्तीको एउटै समानता हो, गरिबी। दलितभित्र पनि दलित भनेर चिनिएका डोम र मुसहरको जीवनको दुरावस्थालाई गरिब शब्दले मात्रै थेग्दैन ।
अधिकांश डोम र मुसहरको आफ्नो जग्गाजमिन छैन, अरूको माटोमा पसिना बगाउँछन् तर ज्यालाबापत थोरै अन्न पाउँछन् । बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित छन् । विद्यालय पुगेका भाग्यमानीहरू पनि कक्षाको माथिल्लो खुट्किलो चढ्न सक्दैनन् । सार्वजनिक धारा, कल र इनार छुनसमेत उनीहरूलाई कथित जातीय परम्पराले अझै पनि प्रतिबन्ध लगाएको छ ।
पछिल्लो जनगणना अनुसार देशभर डोमको संख्या १३ हजार २ सय ६८ र मुसहरको संख्या २ लाख ३४ हजार ४ सय ९० छ । हावाको सानो झोक्काले उडाउलाजस्तो फुसको घर, अपर्याप्त खानेकुरा र कष्टप्रद जीवनशैली झेलिरहेका डोम र मुसहरको जीवनमा कहिले खुसीको उज्यालो छाउला ?





तपाईंको प्रतिकृया