बदलिएला ब्याडमिन्टन ?

  • गुमेको साख र्फकने आशा

पछिल्ला केही दिनमा नेपाली ब्याडमिन्टनले बाक्लै चर्चा पायो। एकातर्फ कृष्णमोहन स्मृति ब्याडमिन्टन चल्यो। यो राम्रो पक्ष थियो। यसै प्रतियोगिताका लागि सबै खेलाडी तयारीमा व्यस्त रहेका बेला पुराना नेपाल च्याम्पियन पशुपति पनेरुले खेल जीवनबाट संन्यास लिए।

संन्यासको घोषणा गर्न उनी अमेरिकाबाट नेपाल आएका थिए। त्यसक्रममा उनले आधा दर्जनभन्दा बढी आरोप लगाए, नेपाली ब्याडमिन्टन खेल र संघमाथि। त्यसै पनि पशुपतिलाई नेपाली ब्याडमिन्टनमा छुच्चो मुख भएको खेलाडीका रूपमा लिइन्छ। उनको र्‍याकेट जति चल्छ, मुख पनि उत्तिकै चल्छ। उनी अगाडि हेर्दैनन्, पछाडि पनि हेर्दैनन् र बोलिहाल्छन्।

मुख मात्र चल्ने र र्‍याकेट नचल्ने भएको भए, उनी धेरै अगाडि संन्यास लिन बाध्य भइसक्थे। तर, उनको र्‍याकेट पनि कति राम्रोसँग चल्छ भने नेपाली ब्याडमिन्टनका उस्तै प्रभावशाली व्यक्तित्व पनि त्यसका अगाडि चुप बस्न बाध्य हुन्छ। उनी नेपाली ब्याडमिन्टनले पाएका असाध्यै राम्रा खेलाडीमध्ये एक थिए।

उनका ठूला आरोप थिए, "नेपाली ब्याडमिन्टनमा अझै पनि राम्रो विदेशी सहयोग छ। सबै सहयोग खेलाडीलाई नभएर पदाधिकारीको हातमा गइरहेको छ। ब्याडमिन्टन संघमा अझै पनि ज्यूहजुरीको चलन छ। कसैले केही बोल्न खोज्यो भने त्यसलाई कुल्चिने प्रयास हुन्छ, नेपाली ब्याडमिन्टनमा अझै प्रजातन्त्र आएको छैन।"

बिर्सन नहुने अर्को कुरा के हो भने जतिबेला उनीसँगै सुमिना श्रेष्ठ र बलराम थापा अमेरकिातर्फ हान्निए, नेपाली ब्याडमिन्टनमा ठूलो पहिरो आएको थियो। त्यो पहिरो यति धेरै चर्को थियो कि त्यसले बनाएको खाल्डो नेपाली ब्याडमिन्टनले अहिलेसम्म पुर्न सकेको छैन। सायद त्यसलाई पुर्न अझै समय लाग्नेछ।

सन् २००८ ताका नेपाली ब्याडमिन्टन चकाचौधपूर्ण थियो। काठमाडौँमै एकपछि अर्काे अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भइरहेका थिए। विदेशमा हुने प्रतियोगितामा सहभागिता पनि उस्तै राम्रो थियो। सफलता पनि राम्रै निस्किरहेको थियो, जितेका पदकका आधारमा।

एक किसिमले त्यस्तो रंगीन मिजास नेपाली ब्याडमिन्टनले पहिलोपटक अनुभव गररिहेको थियो। "पशुपति, सुमिना र बलराम, यी तीन खेलाडीमाथि जस्तो ठूलो लगानी नेपाली ब्याडमिन्टनमा कहिल्यै भएको थिएन, न अगाडि न पछाडि। उनीहरू कहाँ मात्र गएनन्, कता मात्र खेलेनन्?" ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ सम्झन्छन्। उनको वास्तविक परचिय त्यसभन्दा ठूलो छ। उनी अहिले ४९ वर्षका भए तर उत्तिकै ऊर्जाशील देखिन्छन्। उनी ०४४, ०४८ र ०५१ का नेपाली राष्ट्रिय च्याम्पियन पनि हुन्। त्यतिबेला लगातार राष्ट्रिय प्रतियोगिता हुँदो हो त अझ धेरैपटक च्याम्पियन हुन्थे।

उनी ०६३ सालदेखि महासचिव पदमा छन्। संघको नेतृत्व भने अध्यक्ष रमेशकुमार श्रेष्ठको हातमा छ। अहिलेको कार्यसमितिको समयावधि तीन वर्ष बाँकी छ। संघमा जति पनि पदाधिकारी छन्, ती सबैको मनमा तीन प्रमुख खेलाडी बाहिर गएकामा एक प्रकारको तुष बाँकी छ। "उनीहरूको समयमा नेपालले वल्र्ड ब्याडमिन्टन च्याम्पियनसिपमा पनि भाग लियो। त्यसबेला नेपाली ब्याडमिन्टन वास्तवमै अब्बल दर्जाको थियो, नेपालले दक्षिण एसियामा भारतलाई छाडेर अरू सबैलाई हराउन थालेको थियो। लगानी अनुसार राम्रो नतिजा त्यही बेला निस्केको थियो," श्रेष्ठ भन्छन्।

पशुपति र बलराम, बलराम र सुमिना, सुमिना र पूजा श्रेष्ठको जोडी गजब थियो। पशुपति, सुमिना र बलराम जसरी अमेरिका छिरे, त्यो पलायन थियो अथवा राम्रो भविष्यको स्वाभाविक खोजी? त्यसबारेको बहस कहिल्यै सकिने छैन। तर, उनीहरूको पलायनपछि नेपाली ब्याडमिन्टनले आफूलाई सम्हाल्न सकेन। "त्यसपछि ब्याडमिन्टन संघ पहिलेजस्तो सक्रिय नभएको र हामीले गर्नुपर्ने धेरै काम गर्न नसकेको सत्य हो," महासचिव श्रेष्ठ पनि मान्छन्। पशुपतिले संन्यास लिँदा अहिलेका राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठतर्फ इंगित गर्दै भनेका थिए, "आपmनो भविष्यलाई लिएर होस गर्नू है।"

तीनपटकका राष्ट्रिय च्याम्पियन विकास यसपटकको कृष्णमोहन स्मृति ब्याडमिन्टनमा दिपेश धामीसँग पराजित भए, उपाधिको भिडन्तसम्म पनि पुग्न सकेनन्। भनिन्छ, विकासलाई अहिले केही अप्ठ्यारो परेको छ। उनले नेपाल प्रहरीको खेलाडी जागिर पनि छाडे र आपmनो खेलमा पनि पूर्ण रूपमा केन्दि्रत हुन सकिरहेका छैनन्।

"म ब्याडमिन्टनको पदाधिकारीभन्दा पनि पहिले यसको खेलाडी हुँ, त्यसैले यस्ता तथ्यले भने मन दुख्छ," महासचिव श्रेष्ठ भन्छन्, "खेल विकासका लागि संघले केही गर्नैपर्छ, सबै खेलाडीको भविष्यका लागि संघले पहल गर्नुपर्छ। हामीले यसअघि केही गर्न सकेका थिएनौँ होला, अब काम गर्छौं।"

पशुपतिका गम्भीर आरोपबारे उनी धेरै बोल्न चाहन्नन्। त्यसबारे आफूभन्दा अरू खेलाडी र प्रशिक्षकलाई सोध्नुपर्ने बताउँछन्। तर, यति मान्छन्, "अब काम गर्ने बेला आएको छ। कृष्णमोहन स्मृति ब्याडमिन्टनको पुरुष एकल जितेका रत्नजित तामाङबाट हामीले धेरै आशा गर्न सक्छौँ। हामी फेर ि५/६ वर्षअघिको समयमा र्फकन सक्छौँ।"

प्रतियोगितामा रत्नजितले पुरुष एकलको फाइनलमा धामीलाई हराएका थिए। कृष्णमोहन स्मृति ब्याडमिन्टनमा गत वर्षदेखि दिदीभाइको वर्चस्व रहेको थियो। यसपटक पनि यही क्रम देखियो र महिलातर्फको उपाधि रत्नजितकी दिदी सरादेवी तामाङले जितिन्। फाइनलमा सरादेवीले सविना पन्थीलाई हराइन्।

कृष्णमोहन स्मृति ब्याडमिन्टनमा जुनियर खेलाडीहरूको सहभागिताले पनि संघ अहिले उत्साहित भएको छ। चेल्सी इन्टरनेसलनको प्रायोजनमा काठमाडौँमा जुनियर ब्याडमिन्टन भएयता कञ्चनपुरमा पनि यस्तै उमेर समूहको प्रतियोगिता भएको छ। "अब हामी जुनियर प्रतियोगितामा बढी जोड दिनेछौँ," महासचिव श्रेष्ठ थप्छन्।

चैतमा काठमाडौँमै राष्ट्रिय प्रतियोगिता पनि हुनेछ। नेपालले केही अरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। "पुरुषतर्फ चिन्तित हुने स्थिति छैन। हामी पशुपति र बलरामजस्ता खेलाडी अथवा उनको हाराहारीमा खेलाडी निकाल्न सक्छौँ। महिलातर्फ भने समस्या छ। महिलातर्फ राम्रा खेलाडी उत्पादन गर्न हामीले अझै धेरै मिहिनेत गर्नुपर्नेछ। विश्वास छ, हामीलाई राष्ट्रिय खेलकुद परिषदले पनि सहयोग गर्नेछ," श्रेष्ठ भन्छन्, "कुनै न कुनै रूपमा ब्याडमिन्टनले गुमाएको साख फेरि प्राप्त गर्नेछ ।"

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

हिमेशरत्न बज्राचार्यद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar