राणाकालमा शिक्षाको कुरा गर्नु क्रान्ति गर्नुभन्दा कम थिएन। त्यसमाथि खर्च बेहोरेर पढाउने प्रचलन त झन् छँदै थिएन। आर्थिक विपन्नताले मात्र होइन कि पढाउनुपर्छ भन्ने सोच नै विकास नभएको अवस्थामा आफ्नै घरआँगन (काठमाडौँ, बांगेमुढा, खिउल टोल)मा विद्यालय स्थापना गर्नु कम जोखिमपूर्ण काम होइन।
सन्तानको भविष्य सपार्ने एक मात्र माध्यम शिक्षा नै हो भन्ने मेरो बुबा चिनियाँलाल सिंहले आफ्ना साथीभाइ र इष्टमित्रका छोराछोरीलाई घरमा जम्मा गरेर विसं १९८८ देखि नै निःशुल्क शिक्षा दिँदै आउनुभएको थियो। '९० सालको महाभूकम्पले घरलाई क्षति पुर्याए पनि उहाँको सोचलाई क्षति पुर्याउन सकेन। मान्छेको इच्छाशक्तिले जुनसुकै विपत्तिसँग पनि मुकाबिला गर्न सक्छ भन्ने साहस उहाँले केटाकेटीलाई पढाउने कामलाई त्यसपछि पनि निरन्तरता दिनुले प्रस्ट पार्छ।
तत्कालीन सरकारले भूकम्पपीडितलाई राहतस्वरूप ऋण दिएको थियो। त्यस भूकम्प पीडितोद्धार संस्थामा कारन्िदाका रूपमा रहनुभएका युगकवि सिद्धिचरण श्रेष्ठको विशेष पहलमा बुबाले १ हजार ५ सय रुपियाँ ऋण पाउनुभएको थियो। र, यही ऋण लिने क्रममा बुबाको श्रेष्ठसँग पनि परचिय हुन पुगेको थियो।
शिक्षाप्रतिको बुबाको लगावले उहाँलाई राणाहरूले आँखाको कसिंगर मानेका थिए। राणा शासकले निःशुल्क शिक्षा दिने काम बन्द गर्न दबाब दिन थालेपछि विधिवत् रूपमा स्कुल नै स्थापना गरेर किन अघि नबढ्ने भन्ने विचार उहाँमा आउन थाल्यो। सिद्धिचरणसँगको कुराकानीमा त बुबाले 'मान्छेका निम्ति स्कुलजस्तो संस्था खोल्दा पनि सरकारले दबाब दिएर हुन्छ ? म त खोल्छु, खोल्छु, मलाई कसले के गर्न सक्छ ?' भन्ने दृढता व्यक्त गर्नुभएको थियो रे ! श्रेष्ठले यो कुरा शैक्षिक क्रान्तिका अग्रदूत चिनियाँ दाइ भन्ने आफ्नो सानो पुस्तिकामा पनि उल्लेख गर्नुभएको छ।
अन्ततः विसं १९९३ को शिवरात्रिका दिन बुबाले विधिवत् रूपमा नेपालमा पहिलोपटक निजी स्तरमा महावीर इन्स्टिच्युट स्थापना गर्नुभयो। र, पछि यसैलाई निजी स्कुलमा परिणत गर्नुभयो। त्यो इन्स्टिच्युट स्थापनामा सहिद गंगालाल श्रेष्ठको ठूलो हात रहेको छ। बुबासँग त मेरो संगत हुन पाएन किनभने म दुई वर्षकी हुँदा नै उहाँ जेल परसिक्नुभएको थियो र त्यसको चार वर्षपछि उहाँको जेलमै हत्या गरियो। मलाई आमाले पछिसम्मै ती घटना बरोबर सुनाउनुहुन्थ्यो। घरमै स्कुल स्थापना गर्ने सोच बनाएर बुबाले परिवारका निम्ति एउटा बुइगल बाँकी राखी अरू सबै ठाउँमा विद्यार्थी राखेर पढाउने अभियान नै चलाउनुभएको थियो। बुइगलमा पाहुनाको स्वागत-सत्कार गर्दा अप्ठ्यारो महसुस हुनु स्वाभाविकै हो । तैपनि, आमा दुःख-कष्ट खेपेरै खुम्चिएर बस्न राजी हुनुभयो । घरमै स्कुल खोलेर बुबाले सुरु गर्नुभएको त्यो महान् अभियानलाई साथ दिइरहनुभयो।
स्कुल स्थापना गर्दाको घटना पनि बडो रोचक छ। त्यसका लागि एउटा खुला सभाको आयोजना गरेर साथीभाइ जम्मा गरिएको थियो। नेपालको इतिहासमै जनताले यसरी खुला रूपमा सार्वजनिक सभा गरी स्कुल स्थापना गरेको सायद यो पहिलोपटक नै थियो। उक्त सभाको सभापतित्व कलाकार चन्द्रमान मास्केले गर्नुभएको थियो भने पण्डित मुरलीधर, सुब्बा पूर्णनारायण प्रधान, साहू बालकृष्ण श्रेष्ठले मन्तव्य राख्नुभएको थियो रे ! त्यतिबेला नेपालका तराईवासी र भारतीयलाई शिवरात्रिका बेलामा मात्र काठमाडौँ आउन पाउने व्यवस्था थियो। शिवरात्रिको मेला भर्न आएका केही भारतीयका साथै टंकविलास, कृष्णप्रसाद मानन्धर, इन्द्रप्रसाद श्रेष्ठ आदिले पनि उक्त सभामा सहभागिता जनाउनुभएको रहेछ। सोही सभामा स्कुलको नाम राख्ने कुरामा छलफल हुँदा आफ्नै घरको चोकमा हनुमानको मूर्ति थियो र त्यसैका नामबाट महावीर राख्ने प्रस्ताव बुबाले गर्नुभएको रहेछ।
त्यतिबेला राजधानीमा सरकारी स्तरमा दरबार हाई स्कुल मात्र थियो। त्यो पनि एक किसिमले शासकहरूका निम्ति खोलिएको थियो। सानैदेखि समाज सुधार र शिक्षाबिना देश विकासको कल्पना पनि गर्न सकिँदैन भन्ने बुबाले सर्वसाधारण र आफ्नो आयस्रोतले पढाउन नपुग्ने मानिसहरूका निम्ति महावीर स्कुलको स्थापना गर्नुभएको थियो।
परीक्षा समयावधिको विषयमा अत्तो थापेर त्यस इन्स्टिच्युटलाई तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेर जबराले मान्यता दिएका थिएनन्। विद्यालयको स्वीकृति पाउनका लागि धेरै प्रयत्न गर्नुपरेको थियो। सिद्धिचरण श्रेष्ठसहितका धेरै व्यक्ति उनीकहाँ निरन्तर डेलिगेसन जानुपरेको थियो।
हाम्रो घरअगाडि शुक्रराज शास्त्री घर किनेर बस्न थालेपछि बुबाको उहाँसँगको निकटता बढ्न पुगेको थियो। चार अमर सहिदमध्ये शास्त्री, धर्मभक्त माथेमा र गंगालालले यस स्कुलमा शिक्षकका रूपमा काम गर्नुभएको थियो। कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले अक्षरारम्भ गरेको पनि यही स्कुलमा हो।
बुबाको मृत्युपछि हामीले बिताएका दिन सम्झना गरसिाध्य छैनन्। शिक्षा विकासका निम्ति आफ्नो घरसमेत दान दिने मेरो बुबाको निधनपछि त्यो घर पनि विवादमा पर्यो। अंशबन्डाका नाममा त्यो विवाद अद्यापि कायमै छ। सारमा नेपाली जनताका लागि शिक्षामार्फत नयाँ क्रान्तिको बीउ छर्ने एक वीर सहिद हुनुहुन्थ्यो, चिनियाँलाल सिंह।
तपाईंको प्रतिकृया