मुख्य समाचार


गोइत-गुप्ताको गुपचुप वार्ता

  • आ-आफ्ना मुद्दामा एकअर्कालाई मनाउने प्रयत्न

हिंसात्मक गतिविधिका कारण प्रहरीको निगरानीबाट बच्न मधेसका एक नेता भारतमा भूमिगत जीवन बिताइरहेका छन्। मधेसकै अर्का नेताचाहिँ काठमाडौँमा जेलको चार किल्लाभित्र प्रहरी पहरामा छन्। भारतका भूमिगत नेता चाहन्छन्, जेलको चार दिवारभित्र रहेको त्यो नेतालाई आफ्नो हिंसात्मक राजनीतिको पक्षमा ल्याउन सकियोस्। र, मधेसलाई नेपालबाट अलग्याएर 'तराई' नामको छुट्टै राज्य स्थापना गर्न बल पुगोस्। डिल्लीबजार सदर खोरमा कैद भुक्तान गररिहेका अर्का मधेसी नेता त्यसको ठीक उल्टो चाहन्छन्, ती भूमिगत नेतालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन सकियोस्। ताकि, अखण्ड नेपालभित्रै मधेस नामको संघीय प्रदेश स्थापना अभियानमा सशस्त्र समूहहरूलाई पनि सामेल गर्न पाइयोस्।

भारतमा भूमिगत अखिल तराई जनतान्त्रिक मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारको मुद्दामा सजाय खेपिरहेका जयप्रकाश गुप्तालाई २० पृष्ठ लामो पत्र पठाएर फेरि आफ्नो मुद्दामा सहमत गराउने प्रयास गरेका छन्। ६ महिनायता पत्राचारमार्फत यी दुई नेताले एकअर्कालाई आफ्नो बाटोमा हिँडाउने प्रयास स्वरूप गोप्य पत्राचार जारी राखेका छन्। पूर्वसञ्चारमन्त्री गुप्ता र 'स्वतन्त्र तराई'का लागि सशस्त्र आन्दोलन चलाइरहेका गोइतबीच गोप्य पत्राचारमार्फत एकअर्कालाई 'कन्भिन्स' गर्ने प्रयास जारी छ। तर, एकअर्कालाई सहमत गराउन दुवै असफल भइरहेका छन्।



विचित्र सम्बन्ध

वास्तवमा डिल्लीबजार जेलमा रहेका गुप्ता र विहारको कुनै गाउँमा भूमिगत जीवन बिताइरहेका गोइत एउटै जिल्ला र निर्वाचन क्षेत्रका हुन्। गुप्ता सप्तरीको क्षेत्र नम्बर २ मा पर्ने कञ्चनपुर निवासी हुन् भने गोइत सप्तरीकै २ नम्बर क्षेत्रमा पर्ने त्रिकौल गाविसका स्थायी बासिन्दा हुन्।

यी दुवै 'जय'बीच केही समानता छन्। दुवैले 'मधेस -तराई)वाद'लाई आफ्नो राजनीतिक अभीष्ट बनाएका छन् र दुवैको राजनीतिक 'करिअर' मिल्दोजुल्दो छ। मधेस मुद्दा उठाएकै कारण दुवै लामो समय बिताएको पार्टीमा रहन सक्ने स्थिति बनेन। गुप्ता झन्डै ३० वर्ष लगानी गरेको नेपाली कांग्रेस त्यागेर २०६० ताका मधेसी जनअधिकार फोरममा प्रवेश गरे भने गोइतले पनि सुरुमा नेकपा एमाले त्यागेर नेकपा (माओवादी) प्रवेश गरे। तर, गुप्ता उपेन्द्र यादव नेतृत्वको फोरममा रहन सकेनन्। अध्यक्ष यादवको कार्यशैलीलाई दोष दिँदै गुप्ताले फोरम विभाजन गरी ९ जेठ ०६७ मा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) स्थापना गरे। उता, आफूले गठन गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चामा पटक-पटक विभाजन र मोर्चाको नाममा अपहरण र चन्दा असुली तीव्र भएपछि पाँच वर्षअघि गोइतले तराई जनतान्त्रिक मुक्ति मोर्चा नै विघटन गरे। बदलामा उनले आफ्नो नेतृत्वमा अखिल तराई मुक्ति मोर्चा नामको अर्काे संगठन स्थापना गरेका छन्।

गुप्ता र गोइतले अँगालेको राजनीतिक दर्शन र राजनीतिक पार्टी पञ्चायतकालदेखि नै अलग-अलग रहे पनि उनीहरूबीचको व्यक्तिगत सम्बन्धचाहिँ जहिल्यै सौहार्दपूर्ण रह्यो। यही मित्रताको परिणाम हो, बहुदलीय कालमा भएका निर्वाचनहरूमा पनि गुप्ता र गोइतले कहिल्यै एकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेनन्। गुप्ता ०४८ र ०५१ को निर्वाचनमा आफ्नो घर रहेको सप्तरीको तत्कालीन क्षेत्र नम्बर १ बाट उम्मेदवार बने। यसमध्ये ०४८ मा पराजित भए भने ०५१ मा विजयी भए, ०५६ र ०६४ को निर्वाचनमा पनि उनले विजय प्राप्त गरे। गोइतचाहिँ ०४८ र ०५१ मा एमालेबाट सप्तरी क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए। तर, चुनाव जितेनन्।

स्वतन्त्र तराईको माग गर्दै आएको गोइत नेतृत्वको मोर्चाले ०६४ को संविधानसभा निर्वाचन बहिष्कार गरेको थियो। गुप्ता मधेसी जनअधिकार फोरमको सहअध्यक्षको हैसियतमा संविधानसभा निर्वाचनमा आफ्नो घर रहेको सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर विजयी भए। आफ्नै गाउँ त्रिकौलमा चाहिँ चुनाव पूर्ण बहिष्कार गराउन गोइत सफल भए। गुप्ताका निकटतम प्रतिद्वन्द्वी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का विजय यादव थिए। कतिपयको भनाइ के छ भने यादव समुदायकै गोइतको बहिष्कार अभियानले अन्ततः गुप्तालाई सहयोग पुर्‍यायो। किनभने, यदि मोर्चाले बहिष्कार नगरेको भए त्यो गाउँको बहुसंख्यक यादव मत तमलोपा उम्मेदवार विजयको पक्षमा खस्न सक्थ्यो। यद्यपि, त्यो गाउँको मत नै गुप्ताको जित-हारका लागि निणर्ायक हुने अवस्था भने थिएन।

संविधानसभा निर्वाचनपछि गुप्ता दुईपटक मन्त्री भइसकेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा गुप्ता कृषिमन्त्री थिए। गुप्तासमेत सामेल प्रचण्ड नेतृत्वको सरकारले तराईका सशस्त्र संगठनहरूसँग वार्ताको प्रयास गर्‍यो। त्यहाँका अधिकांश सशस्त्र संगठन वार्तामा आए। तर, गोइतले वार्तामा रुचि देखाएनन्। गुप्ता मन्त्री र गोइत त्यही सरकारविरुद्ध सशस्त्र संघर्षमा भए पनि यी दुईबीचको सम्बन्धमा दरारचाहिँ कहिल्यै उत्पन्न भएन। बरू, राजनीतिक मतभिन्नताका बाबजुद गोइतको गुप्ताप्रति सद्भाव नै रह्यो र गुप्ताले पनि गोइतप्रति त्यस्तै व्यवहार गररिहे। सम्पर्क सूत्रहरूमार्फत यी दुईबीच कुराकानी भइरह्यो। भ्रष्टाचारको अभियोग लागेर गुप्ता जेल परे। उता, संगठनमा भएको पटक-पटकको विभाजन र कारबाही आदिका कारण गोइत झन् कमजोर बने। टुटफुट र तराईका सशस्त्र संगठनहरूमाथि सरकारको कडा रवैयाका कारण गोइत अचेल झनै कडा भूमिगत जीवन बिताउन बाध्य छन्। यतिबेला तराईका सबैजसो सशस्त्र संगठन सरकारसँग वार्तामा छन्। वार्तामा रहेका अधिकांशले प्रशासनलाई हतियार बुझाइसकेका छन्। गोइत भने वार्ता गर्ने पक्षमा छैनन्। 'स्वतन्त्र तराई'को आफ्नो माग सरकारले पूरा गर्न नसक्ने भन्दै गोइतले वार्तालाई अस्वीकार गर्दै आएका छन्।



समान नियति

पटक-पटकका विभाजन र कारबाही आदिका कारण गोइत यतिबेला एक्लो अवस्थामा छन्। जो उनको समूहमा जान्छन्, ती अधिकांशको उद्देश्य संगठनको नाममा चन्दा उठाउनु हुन्छ। ती आफ्नो उद्देश्य पूरा गर्छन् र कि त अर्कै समूह खोल्छन्, कि त गोइतको कारबाहीमा परिहाल्छन्। उनले स्थापना गरेको 'जनतान्त्रिक तराई मुक्तिमोर्चा' नामधारी संगठन नै अहिले झन्डै एक दर्जनको हाराहारीमा छन्। कारबाही र टुटफुटका कारण सशस्त्र गतिविधि अघि बढाउन गोइतसँग पर्याप्त कार्यकर्ता छैनन्। गुप्ता भन्छन्, "गोइतजीसँग थोरै मात्र पनि वैचारकि खालका कार्यकर्ता भइदिएका भए उहाँको यो स्थिति हुने थिएन। तर, अधिकांश आर्थिक स्वार्थ राखेर उहाँको समूहमा जाने गरेका छन्। यसैले उहाँलाई अप्ठ्यारोमा पार्ने गरेको छ।" यही कारण हुन सक्छ, सहारा टाइम्स नामक पाक्षिक पत्रिकासँगको कुराकानीमा गोइतले भनेका छन्, "तत्कालका लागि सशस्त्र आन्दोलन स्थगित गरी तराई मुक्तिका लागि बौद्धिक बहस प्रारम्भ गरेका छौँ।"

जेल परेपछि संगठनका दृष्टिले, गुप्ताको स्थिति पनि उस्तै रह्यो। जब उनी जेल परे, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)मा राजकिशोर यादव र नन्दन दत्तबीच पार्टीका तर्फबाट मन्त्री को हुने र पार्टीको नेतृत्व कसले लिने भन्ने विवाद सिर्जना भयो। चलाख राजकिशोर नन्दन दत्तलाई हटाएर आफू मन्त्री बन्न सफल मात्रै भएनन्, पार्टीको वैधानिकता पनि आफ्नै पक्षमा पारे। पुसमा निर्वाचन आयोगले राजकिशोर पक्षलाई मान्यता दिएलगत्तै गुप्ताले आफू फोरम (गणतान्त्रिक)बाट अलग भएको सार्वजनिक गरसिकेका छन्। जेलबाट मुक्त हुने समय नजिकिँदै जाँदा गुप्ता यस्तो योजनाको प्रारूप कोर्दै छन्, जसबाट मधेसमा युवा कार्यकर्ताहरूलाई आफ्नो साथमा ल्याउन र आन्दोलनमार्फत आफ्नो नयाँ संगठन स्थापित गर्न सकिनेछ।

यस्तो स्थितिमा गोइतका लागि पहिलो प्राथमिकतामा परेका छन् गुप्ता। त्यसैले उनी गुप्ताको रहिाइको प्रतीक्षामा छन्। गत मंसिरमा लेखेको चिट्ठीमा गोइतले भनेका छन्, 'सदनदेखि सञ्चारसम्मको अभिव्यक्ति र कलमले तपाईंको विशेष पहिचान रहेको छ भन्ने मलाई लाग्छ, भावी दिनमा पनि तपाईंको उच्च बौद्धिक क्षमताको राजनीतिक मञ्चमा महान् सम्भावना छ।' तराईलाई नेपालको मानचित्रबाटै अलग गर्ने गोइतको विचारलाई अस्वीकार गरे पनि गुप्ता गोइतबाट प्रभावित छन्। 'बाटो बिराएका' गोइतलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउन सकिए शान्तिपूर्ण तर क्रान्तिकारी प्रकृतिको आन्दोलनमार्फत मधेसमा फेरि एउटा उभार सिर्जना गर्न सकिने विश्वासमा छन्। भन्छन्, "गोइतजीलगायत सशस्त्र आन्दोलनका केही युवा साँच्चिकै राजनीतिक प्रवृतिका र बलिदानी भावका छन्, उनीहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सक्ने हो भने मधेसमा क्रान्तिकारी आन्दोलन सिर्जना गरेर मधेसका मागलाईर् निष्कर्षमा पुर्‍याउन सकिने स्थिति छ।"

त्यही भएर फोरम (गणतान्त्रिक) गठन हुनासाथ गुप्ताले सशस्त्र आन्दोलन गररिहेका केही समूहसँग कुरा थालेका थिए। यसमध्ये राजीव झाले नेतृत्व गरेको 'तराई जनतान्त्रिक मुक्ति मोर्चा' सशस्त्र आन्दोलन त्यागेर फोरम (गणतान्त्रिक)मा सामेल भयो। राजीव अहिले पनि गुप्ताकै साथमा छन्। जेलमा कैद भएपछि गुप्ताले गोइतसँगको सम्पर्कलाई निरन्तरता दिने प्रयास गरे। कारण, उनलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर वर्तमान मधेसवादी दलहरूको विकल्पमा नयाँ शक्ति स्थापना गर्न सकियोस्। सम्पर्क सूत्रहरूमार्फत सञ्चार आदान-प्रदान भएपछि गुप्ताले असोज अन्तिम साता गोइतलाई एक लामो पत्र लेखे। पत्रमा उनले मधेसी सशस्त्र संगठनहरूको कमजोर वैचारकि आधार, मधेसको संवेदनशील भूराजनीतिक स्थिति र भारतबाट सहयोग पाउने स्थिति शून्यप्रायः रहेको बताउँदै सशस्त्र संघर्षबाट मधेसका माग पूरा हुन नसक्ने उल्लेख गरेका थिए। गुप्ता भन्छन्, "मधेसको भूराजनीतिक अवस्थाका कारण मधेसमा सशस्त्र आन्दोलनले सफलता पाउन सक्दैनन्। यही कुरा मैले उहाँलाई बताउन खोजेको हुँ।" तर, गोइतले पुरानै जवाफ फर्काए रे, "छुट्टै तराई देशबाहेक अर्को विकल्प छैन र यसका लागि सशस्त्र संघर्षको पनि विकल्प छैन।"

पटक-पटक भएका पत्राचारबाट न सशस्त्र आन्दोलनबाट छुट्टै तराई देश स्थापना गराउने विषयमा गोइतले गुप्तालाई सहमत गराउन सकेका छन्, न त शान्तिपूर्ण आन्दोलनका लागि गोइतलाई सहमत गराउने गुप्ताको प्रयास नै सफल भएको छ। "गोइतजी बरू स्वतन्त्र तराईको मुद्दा बोकेरै मर्न तयार हुनुहुन्छ, सशस्त्र संघर्ष त्याग्ने पक्षमा उहाँ देखिनुहुन्न," गुप्ता भन्छन्, "मचाहिँ तराईलाई नेपालबाट अलग्याउने उहाँको विचारसँग सहमत हुन सक्दिनँ। झन्डै १० वर्षको अनुभवले सशस्त्र संघर्षबाट मधेसले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन भन्ने देखिएको छ। यस्तो स्थितिमा उहाँले आफ्नो आन्दोलनको समीक्षा गरेर शान्तिपूर्ण बाटोमा आउने हो भनेचाहिँ मधेसमा साँच्चिकै परविर्तन ल्याउन सकिन्छ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

सीताराम बरालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar