चाहियो, कांग्रेस-एमालेको मोर्चा

कुरुक्षेत्रको युद्धमा दुर्योधन बलवान् भीमको गदा प्रहारबाट अर्धमूच्छिर्त अवस्थामा मृत्यु पर्खिएर भुइँमा लडेका छन्। पाण्डव पक्षबाट युद्धमा विजयी भएको शंखनाद भइसकेको छ। पराजयको पीडाबाट मृत्युशय्यामा छटपटिएका दुर्योधनले श्रीकृष्णलाई आफूसम्मुख देखेपछि भन्छन्, "कौरव पक्षबाट धर्मयुद्ध लडियो, कुनै जादुटुना भएन। तर, पाण्डव पक्षबाट तपाईं स्वयंले जादुटुना र छल गर्दा हाम्रा महान् युद्ध कमान्डरहरू मारिए। अन्यथा, हामी हार्ने थिएनौँ। यस्तो किन ?"

जवाफमा श्रीकृष्ण भन्छन्, "सहमति र समझदारीका मेरा सम्पूर्ण प्रयास तिम्रा पक्षबाट मानिएन। युद्ध तिम्रो हठका कारण भयो।" युद्ध जित्नका लागि लडिन्छ र पाण्डवले जिते। श्रीकृष्ण फेरि विजयी पाण्डवतर्फ हेर्दै भन्छन्, "दुर्योधन ठीकै भन्दै छन्। तिमीहरूले हारसिकेको युद्ध मुस्किलले जितेका छौ। अब राजपाठ ठीक ढंगले गर्नू।"

पौराणिक कथा महाभारतको कुरुक्षेत्रको युद्धभूमिबाट भागेर पनि बाँच्न असफल दुर्योधन र पाण्डवका सारथि श्रीकृष्णको उपर्युक्त संवाद मुलुकको वर्तमान राजनीतिक परदिृश्यलाई विश्लेषण गर्न पर्याप्त छ। किनभने, अहिले मुलुकको राजनीतिक परिदृश्य कुरुक्षेत्रको युद्धभूमिझँै भएको छ। सहमति र समझदारीका प्रयासहरू असफल र असान्दर्भिक हुन पुगेका छन्। राजनीतिक दलदेखि राष्ट्रपतिसम्म थाकेका/गलेका छन्, सहमतिको प्रयासमा। अब युद्धबाट राजनीतिक मार्गको बाटो तय हुने परिदृश्य अगाडि छ। तर, महाभारतमा झैँ नेपालको आगामी कुरुक्षेत्र गदा र चक्रबाट नभई निर्वाचनको माध्यमबाट लडिनेछ।

गएको संविधानसभाको निर्वाचन परिणामले राजनीतिमा शक्तिको नयाँ धु्रवीकरण भयो। तर पनि सम्पूर्ण हार र जित कसैको भएन। आगामी निर्वाचनमा सबै राजनीतिक दलले सम्पूर्ण जितको प्रयास गर्नेछन्, खासगरी एमाओवादी-मधेसवादी गठबन्धनले। त्यस्तो अवस्थामा अहिले आमसभाहरूमार्फत उत्साहजनक सहभागिता जुटाउन सकेको नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनले के गर्नुपर्ला भन्ने सैद्धान्तिक बाटो यहाँ छलफलका लागि सान्दर्भिक होला।

तत्कालीन नेकपा माओवादी सबैथोक जित्न भनी कम्मर कसेर 'जनयुद्ध'मा होमिएको थियो। तर, जित्न सकेन। उसलाई आंशिक सफलता मात्र हात लाग्यो। कांग्रेस र एमाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर संसदीय व्यवस्था अन्तर्गत शासकीय अधिकार आफूमै सुरक्षित गर्न चाहन्थे र तत्कालीन राजा ज्ञानेन्द्रलाई झुकाउन पनि चाहन्थे। माओवादी र संसद्वादी मिल्दा राजतन्त्र पराजित भयो र सदाका लागि संग्रहालयमा पुग्यो। संविधानसभाको चुनाव परिणाम संसद्वादी दल कांग्रेस र एमालेका लागि अप्रत्याशित र लज्जाजनक भयो। श्रीकृष्णले कुरुक्षेत्रमा जादुटुना गरेझँै माओवादीको पक्षमा केही जादुटुना भए र परिणाम उसको पक्षमा गयो। त्यो जादुटुना के थियो भन्ने आगामी दिनमा खुल्दै पनि जाला। तर, पाँच वर्षअगाडि भएको संविधानसभाको निर्वाचनको जय-पराजयले नेपालका प्रमुख राजनीतिक दलहरूमा व्यापक धु्रवीकरण सुरु भएको छ।

कांग्रेस र एमाले एउटै पार्टीझैँ देखिएका छन्। जुन मुलुकको दलीय राजनीतिक विकासक्रमका लागि राम्रो संकेत हो। त्यस्तै एमाओवादीको नेतृत्वमा पनि विभिन्न दलहरूको गठबन्धन भएको छ। यसरी चाँडै नै नेपालमा दुई गठबन्धनको अस्तित्व मात्र राष्ट्रिय राजनीतिमा प्रभावशाली रहने संकेत देखिएको छ। भारतमा चार दशकभन्दा बढी समय लाग्यो, युनाइटेड प्रोग्रेसिभ अलायन्स र नेसनल डेमोक्रेटिक एलायन्स निर्माण हुनलाई। तर, हाम्रा राजनीतिक दलहरूले छिटो समयमा त्यही मार्ग अवलम्बन गर्नुलाई राष्ट्रिय राजनीतिमा देखिएको शुभसंकेत मान्नुपर्छ।

संसदीय व्यवस्थाकाल र त्यसभन्दा अगाडिको राजनीतिक परविेशमा कांग्रेस र एमालेबीच राजनीतिक र सामाजिक द्वन्द्वको लामो शंृखला चल्यो। मुलुकको राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा त्यसको प्रभाव थियो। यो पंक्तिकार विद्यार्थी छँदा तत्कालीन मालेका विद्यार्थी कार्यकर्ता अखिल पाँचाँै भनी चिनिन्थे। उनीहरू सधैँ नेपाल विद्यार्थी संघ पक्षधरलाई देख्दा कांग्रेस र भारत गनायो भन्थे। संसदीय अभ्यासका क्रममा कांग्रेस र एमालेबीचको यस्तो द्वन्द्व क्रमशः मत्थर हुँदै गयो। माओवादीको राष्ट्रिय राजनीतिमा उद्भव भएपछि अझ खासगरी संविधानसभाको निर्वाचनपछि कांग्रेस र एमालेका केन्द्रीय, जिल्ला, नगर र गाउँका कार्यकर्ताबीचको समझदारी र सहकार्य उच्च विन्दुमा पुगेको छ। जिल्ला र गाउँमा यी दुई दलका नेता र कार्यकर्ताको आर्थिक-सामाजिक हैसियत एकाकार भएको अवस्था देखिन्छ। यी दुईबीचको सामाजिक विभेद र छुवाछूत राजनीति माओवादीको राष्ट्रिय राजनीतिमा प्रवेशसँगै शिथिल र क्रमशः समाप्त भएर गयो।

तसर्थ, यी दुई दल नेपाल र नेपाली जनताको समृद्धिको समान राजमार्ग निर्माण गर्न मोर्चामा आबद्ध हुनुपर्छ। घोषित रूपमा नै एउटा मोर्चा निर्माण गरी अगाडि बढ्न सके यिनको भावी राजनीति प्रभावशाली होला। सांगठनिक पहिचान जोगाएर मोर्चाको रूपमा गठबन्धनलाई विस्तार गर्दै अगाडि बढ्नु नै यिनको हितमा छ, जसको नाम लोकतान्त्रिक प्रगतिशील गठबन्धन राख्न सकिन्छ।

राजनीतिक मोर्चाबाट आफ्नो पृथक् पहिचान निर्माण गर्दै अस्तित्व रक्षा पनि गर्नुपर्ने चुनौती एमालेसामु छ। कांग्रेस-एमालेको भर्खरै सम्पन्न आमसभाहरूमा एमाले कार्यकर्ताहरू हँसिया हथौडा लिएर जुलुसमा जान हिचकिचाए, लाज माने। माओवादीभन्दा पृथक् देखिन उनीहरूले हतार-हतार जुलुसमा सूर्य छाप भएको नयाँ झन्डा बनाउनुपर्‍यो। यो एमालेमा आएको पहिचानको संकट हो। तर, कांग्रेसलाई भने पहिचानको संकट छैन। चारतारे झन्डा संयुक्त सभा र जुलुसहरूमा धेरै देखिनुपछाडि यिनका कार्यकर्ताको घरघरमा यही झन्डा छ। तर, एमाले कार्तकर्ताहरूले हँसिया हथौडा भएको झन्डा राख्न छाडेको दशकाँै भइसकेको छ। तर पनि किन हो, एमालेका नेताहरू अझै आफ्नो नाम, झन्डा र बोल्ने शैलीमा कम्युनिस्ट पाठशालालाई छोड्न चाहँदैनन्।

कांग्रेस र एमाले मोर्चाको रूपमा अगाडि बढ्दा राष्ट्रिय राजनीतिमा छिनोफानो गर्नुपर्ने विषयहरू टुंग्याउन सजिलो हुनेछ। कमसे कम आगामी संविधानसभा निर्वाचनसम्म पनि यी दुई दलले समान धारणा बनाए राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका यही मोर्चाले पाउन सक्ने सम्भावना छ। कांग्रेस-एमालेसामु एमाओवादी र मधेसी मोर्चाको गठबन्धनबाट शिक्षा लिने मौका पनि छ। माओवादी र मधेसवादी दुई विपरीत ध्रुवका भए पनि केही समान साझा मुद्दामा मोर्चा निर्माण गरी अगाडि बढ्न खोजेका देखिन्छन्। यिनको गठबन्धनको यात्रा लामै जाला भन्ने अनुमान राजनीतिक वृतमा गरँिदै पनि छ।

क्षेत्रीय मधेसी दल र पहिचानको खोजीमा लागेका मोर्चाहरूबीच कांग्रेस-एमालेको तालमेल विश्वसनीय ढंगले अगाडि बढेको छैन। यसमा कांग्रेस-एमालेलाई चिन्ता हुनुपर्छ। फगत सत्ताको नेतृत्व मात्र चाहिन्छ भन्दा 'सत्ता पाएर के गर्छौ' भन्ने प्रश्नको जवाफ दिने राजनीतिक तयारी कांग्रेस-एमाले गठबन्धनसँग कमजोर छ। उदाहरणका लागि 'हामी वर्तमान सरकार हटाएर यति दिनभित्र निर्वाचन गर्न सक्छौँ' भन्ने चुनौतीसमेत यी दुई दलले आमसभाबाट दिएको जनताले सुन्न पाएनन्। त्यस्तै आगामी संविधानसभाको निर्वाचनमा प्रदेश निर्माणका कुरा, शासकीय स्वरूप र त्यस्तै विवादित अन्य विषयमा समान धारणाका लागि गृहकार्यको कमी देखिन्छ। संविधानसभा र स्थानीय निर्वाचन नै नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायका लागि प्राथमिकताको विषय हो। दुःखका साथ भन्नुपर्छ, जनचाहनाको यस्तो प्रभावशाली आवाज कांग्रेस-एमाले गठबन्धनबाट मधुरो स्वरमा मात्र उठेको छ।

राजनीतिक विश्लेषकहरू भन्ने गर्छन्, एमाओवादी पार्टी फुटेको छ, यसका नेताहरू भ्रष्ट र विलासी जीवन बिताइरहेका छन्। तर पनि कांग्र्रेस-एमाले गठबन्धनले विपक्षीको प्रभावशाली भूमिका खेल्न सकेको छैन। विपक्षी नेतामा दमै छैन भन्ने टिप्पणी आम छ। विपक्षी नेतालाई लिएर भइरहेका टीकाटिप्पणीकै क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालभित्र रहेको मनमोहन स्मृति हृदयकेन्द्रमा नेपाल सरकारका एक पूर्वसचिवसँग यस पंक्तिकारको आकस्मिक भेट भयो। विचार र व्यवहारबाट उनी कांग्रेस समर्थकझैँ बुझिन्छन्। तर, कांग्रेस र एमालेका नेताहरूले यतिखेर विभिन्न आमसभामार्फत व्यक्त विचारबाट भने उनी खिन्न रहेछन्। अझ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबाट व्यक्त अराजनीतिक अभिव्यक्तिले राजनीतिलाई मुठभेडतिर लैजाने उनको चिन्ता थियो। मुठभेडको राजनीतिले युद्ध निम्त्याउँछ अनि युद्धमा जित्नका लागि जे पनि गरन्िछ भन्ने शिक्षा नेपाली समाजले महाभारतबाट सिकेको छ। उनी भन्दै गए, "सुशीलदालाई भद्र र शालीन नेता मान्थेँ तर आमसभाहरूमा उनका ओठे बोलीबाट म चकित भएँ। एमालेका केपी ओलीको सिको गरेको सुशीलदालाई सुहाउँदैन।" हुन पनि ओली राजनीतिमा जुन शैलीका लागि चर्चित छन्, त्यसको नक्कल अरूले गर्दा भद्दा लाग्छ।

कांग्रेस सभापति कोइरालाबाट धेरै ठूला अपेक्षा र भरोसा आमजनतालाई नहुनु स्वाभाविक हो। किनभने, कांग्रेसजन नै कोइरालाको नेतृत्व क्षमतामाथि सन्देह गर्छन्। तर पनि उनको शालीन व्यक्तित्व र सदाचारी व्यवहारले आममानिसको मन छोएको छ। कोइरालामा सत्ताप्रतिको आशक्ति नरहँदा उनले राजनीतिक दलहरूबीच अभिभावकीय क्षमता प्रदर्शन गर्लान् भन्ने आशा अझै समाप्त भएको छैन। उनको व्यक्तित्व र विरासत मुठभेडको राजनीतिका लागि निर्माण भएको होइन। त्यसैले अभिभावकीय क्षमताको प्रदर्श नगर्दै उनलेे कांग्रेस-एमाले गठबन्धनलाई सुनिश्चित पारेर मोर्चा निर्माणमा अग्रसर हुनुपर्छ।

त्यो मोर्चा यसकारण पनि जरुरी छ कि आगामी संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेबाट चुनावी 'क्याम्पेन' गर्ने कुनै प्रभावशाली नेता छैनन्। कांग्रेस सभापतिकै क्षमताको कुरा गर्दा उनले नेतृत्व क्षमता देखाउन सकिरहेका छैनन्। जस्तो : पार्टीको संरचना निर्माण गर्ने कार्य आफ्नो कार्यकालभर िगर्न नसक्ने अवस्थामा उनी छन्। केन्द्रीय विभागहरू गठन भएका छैनन्, पदाधिकारीहरू अझै चयन हुन सकेका छैनन्। भ्रातृसंस्थाहरू विघटन भएको वर्ष दिन बिते पनि अधिवेशन हुने लक्षण छैन। त्यस्तै निर्वाचन भएमा कुन मुद्दामा निर्वाचनमा जाने भन्ने सामान्य गृहकार्य पनि उनले गरेको देखिन्न। पार्टीभित्र र विपक्षबाट समर्थन पाउँदा पनि उनको प्रधानमन्त्री हुने अभियान बूढो गोरु थला परेर उठ्न नसकेजस्तै बेवारिसे भएको छ। सायद, कांग्रेस सभापतिको यस्तो अवस्था देखेर होला केपी ओलीले अब सरकारको नेतृत्व एमालेले गर्छ भनी पत्रकार सम्मेलनमै भनिदिए। बिस्तारै कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्नेहरू पनि पार लाग्दैन भनी पछाडि फर्केको अवस्था हो यतिखेर।

कांग्रेस-एमालेको दीर्घकालीन गठबन्धन बाध्यता पनि हो र आवश्यकता पनि। एमाओवादी-मधेसवादी गठबन्धनबाट कांग्रेस र एमालेका इमानदार कार्यकर्ता पीडित छन्। तसर्थ, निर्वाचनको समय स्थानीय स्तरका नेता र कार्यकर्ताको सम्बोधन एवं व्यवस्थापन खासै चुनौती हुन नपर्ने हो। कांग्रेस र एमालेका कार्यकर्ताहरूले सत्ताबाट टाढिँदै जाँदा एमाओवादी-मधेसवादी मोर्चालाई सहजै विस्थापित गर्न सकिँदैन भन्ने अन्दाज पक्कै गरेका होलान्। एमालेभन्दा कांग्रेसको सत्तासँग सम्बन्ध चुँडिएको लामो समय भयो। यो क्रमले आगामी निर्वाचनपछि पनि निरन्तरता पाउनु भनेको कांग्रेसका नेता मात्र अहिले थला परेजस्ता भएका छन्, त्यसपछि त सम्पूर्ण पार्टीपंक्ति नै बूढो गोरुझँै हुनेछ।

कांग्रेस-एमालेको मोर्चा निर्माणबाट एमालेमा मात्र होइन, कांग्रेसमा पनि तरंग आउनेछ। त्यस्तै एमालेमा रहेका केही नेता र कार्यकर्ताले असजिलो महसुस गरी एमाओवादीले निर्माण गरेको मोर्चामा जान पनि सक्नेछन्। तर, देशको वर्तमान राजनीतिक परिदृश्यमा यी दुई दलको मोर्चा निर्माण नभई नयाँ राजनीतिक धु्रवीकरण सम्भव छैन। नयाँ राजनीतिक धु्रवीकरण नभई संविधानसभाको निर्वाचनको माहोल पनि निर्माण नहोला।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar